स्टिल उद्योगमा आगलागी हुँदा करोडौँको धनमाल नष्ट

Post Date : April 12, 2017 | 8:54 am

पर्सा, ३० चैत । वीरगन्जको आदर्शनगरस्थित स्टिल उद्योगमा आगलागी हुँदा करोडौँको क्षति पुगेको छ ।

वीरगन्ज उपमहानगरपालिकाको वडा नं १० आदर्शनगरस्थित शिवम् स्टिल उद्योग प्रालिमा हिजो अपराह्न आगलागी हुँदा करोडौँको धनमाल जलेर नष्ट भएको हो ।

हिजो  अपराह्न ३ः३० बजेबाट सुरु भएको आगलागी बेलुका ६ः३० बजेसम्म नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

आगलागीलाई वीरगन्ज उपमहानगरपालिको बारुणयन्त्रबाट नियन्त्रण हुन नसकेपछि बाराको सिमरा, कलैया, चन्द्रनिगाहपुर, मकवानपुर समेतबाट बारुणयन्त्र वीरगन्ज बोलाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिनुभयो ।

आगलागीमा परी भएको क्षतिको यकीन विवरण आउन नसके पनि करोडौँको नोक्सान भएको प्रहरीले अनुमान गरेको छ । आगलागीमा परी कम्तीमा सात÷आठ करोडको नोक्सान भएको उद्योगका सञ्चालक राजकुमार गुप्ताले दाबी गर्नुभयो । उहाँले एक÷दुई दिन अगाडि भारतबाट उद्योगका लागि रु चार करोडको कच्चापदार्थ र तयारी भाडा आयात गरिएको जानकारी दिनुभयो ।

उद्योगमा लागेको आगोलाई नियन्त्रणमा लिन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दा लागेको प्रहरीले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *