स्थानीय निकायको निर्वाचन यही सरकारले गराउँछ– सञ्चारमन्त्री

Post Date : May 9, 2016 | 7:34 pm

काठमाडौँ, २७ वैशाख । सरकारका प्रवक्ता शेरधन राईले वर्तमान सरकारले नै स्थानीय निकायको निर्वाचन आगामी मङ्सिरमा गराउने बताउनुभएको छ ।

रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले निर्वाचन गराउने कुरा नयाँ र संविधान बाहिर नभएको स्पष्ट पार्दै अहिलेको सत्तारुढ गठबन्धनले संविधान बुझेको र त्यसलाई कार्यान्वयन गर्ने विषयलाई महत्व दिएको बताउनुभयो ।

सूचना तथा सञ्चारमन्त्री राईले प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले भनेकै भरमा सरकार नछाड्ने स्पष्ट पार्नुभयो । नेकपा(एमाले)का वैकल्पिक केन्द्रीय सदस्य राईले आफ्नो दल राष्ट्रिय सहमतिको सरकार बनाउनका लागि प्रयत्नशील रहेको बताउँदै सहमतिको सरकार बन्ने भए एमाले सहितको सरकार बन्ने धारणा राख्नुभयो ।

एकीकृत नेकपा (माओवादी)का सचिव वर्षमान पुनले सरकारले प्रमुख प्रतिपक्षी नेपाली काँग्रेससहित संसद्मा रहेका दलसँग न्यूनतम सहमति गरेर ल्याउनुपर्नेमा आफ्नो पार्टीसँग समेत छलफल नगरी हतारमा नीति तथा कार्यक्रम ल्याएकामा गुनासो गर्नुभयो । उहाँले नीति तथा कार्यक्रम राम्रो र केही आशा जगाउने खाले भए पनि यसको कार्यान्वयनमा चुनौती रहेको बताउनुभयो ।

नेपाली काँग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले नीति तथा कार्यक्रम महात्वाकाङ्क्षी तथा लोकप्रियता कायम राख्नका लागि मात्र भएको बताउँदै नीति तथा कार्यक्रममा आफूहरुले संशोधन हाल्ने स्पष्ट पार्नुभयो । सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले नीति तथा कार्यक्रम कार्यान्वयन हुनै नसक्ने विचार राख्दै संविधानअनुसारको संरचना खडा भइनसकेकाले स्थानीय निकायको निर्वाचनको सम्भावना नरहेको बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *