स्याउको व्यावसायिक खेतीतर्फ आकर्षण बढ्दै

Post Date : April 25, 2017 | 4:31 pm

पोखरा, १२ वैशाख । हिमालपारिको जिल्ला मुस्ताङमा व्यावसायिक स्याउखेतीतर्फ कृषकको आकर्षण बढ्दै गएको छ ।

उच्च हिमाली भूभाग भएको जिल्लामा अन्य खेती नहुने भएकाले लेकाली तथा हिउँदे फलफूलखेतीलाई प्राथमिकता दिन स्याउखेती विस्तार गर्न लागिएको छ । स्याउखेतीको अध्ययन तथा अनुसन्धान गर्दै आएको शीतोष्ण बागवानी विकास केन्द्र, मार्फाले जिल्लामा स्याउखेतीको विस्तारका लागि बिरुवा वितरण गर्न थालेको छ ।

शीतोष्ण बागवानी विकास केन्द्रका प्रमुख बालकृष्ण अधिकारीका अनुसार आव २०७२/७३ मा स्याउका ३५ हजार बिरुवा केन्द्रबाट वितरण गरिएको थियो । स्याउबाहेक अन्य लेकाली फलफूल ओखर, खुर्पानीलगायत बिरुवाका गरी सो आवमा ४६ हजार बिरुवा वितरण गरिएको थियो ।

पछिल्लो समयमा जिल्लामा सहकारी तथा कृषि समूहको व्यवस्थापनमा लगानी गरेर फार्म सञ्चालन गर्ने क्रम बढेको छ । स्थानीय कृषक विस्तारै स्याउको व्यावसायिकखेतीतर्फ आकर्षित हुन थालेका छन् । व्यावसायिक स्याउखेतीका लागि सहकारी तथा कृषि समूहको व्यवस्थापनमा करिब रु १० करोडसम्म लगानी गरेर फार्म सञ्चालन गरेका अधिकारीले बताउनुभयो ।

फार्म सञ्चालन गर्ने कृषकलाई कृषि विकास कार्यालयले प्राविधिक तालिम, अनुदान तथा स्याउका बिरुवा वितरण गर्ने गरेको छ । स्याउको व्यावसायिकखेती मार्फत १० वर्षभित्रमा देशलाई स्याउमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ कृषकलाई अनुदान, कृषि औजार आदिको वितरण गर्ने गरिएको छ ।

जिल्लामा अघिल्लो आवमा चार हजार ८०० मेट्रिक टन स्याउ उत्पादन भएको थियो । मौसमको प्रतिकूलताका कारण यस वर्ष चार हजार ५०० मेट्रिक टन मात्र उत्पादन भएको अधिकारीले जानकारी दिनुभयो । तथ्याङ्कअनुसार जिल्लामा एक हजार १०० हेक्टर जमिनमा स्याउखेती गरिएकामा करिब ३५० हेक्टरमा लगाएको बोटले हाल उत्पादन दिइरहेका छन् ।

मुस्ताङमा उत्पादित स्याउ म्याग्दी, बागलुङ, पर्वत, पोखरा, काठमाडौँलगायतका बजारमा बिक्री हुँदै आएको छ । यातायातको सहज पहुँच र राम्रो मूल्य पाउन थालेपछि अहिले जिल्लाका विभिन्न गाविसमा व्यावसायिक रुपमा फार्म थपिने क्रम जारी रहेको मार्फाका सुरज लालचनले बताउनुभयो ।

जलवायु परिवर्तनको असरसँगै मुस्ताङको तल्लो भेगमा पानी पर्न थालेपछि लेतेलगायतका स्थानमा भने स्याउखेती घट्दै गएको व्यवसायीको अनुभव छ । “करिब २०÷२५ वर्षअघि मुस्ताङको लेतेलगायतका तल्लो भेगमा स्याउको राम्रो उत्पादन हुन्थ्यो,” लालचनले भन्नुभयो – “पानी पर्ने क्रम बढेसँगै बर्सेनि उत्पादनमा कमी आउन थालेको छ ।”

पछिल्ला वर्षमा सहकारीमार्फत स्याउखेती गर्न थालिएसँगै स्थानीयवासी यसतर्फ आकर्षित बन्न थालेका छन् । विभिन्न सहकारीमार्फत जोमसोम, मार्फा, कागबेनी, छुसाङ, सुर्खाङ, टुकुचे, ताङ्वेलगायतका गाउँमा स्याउखेतीको विस्तार गरिएको छ । सहकारीले स्याउखेतीका साथै अर्गानिक तरकारी तथा अन्य फलफूलखेतीलाई विस्तार गरेका छन् ।

कृषिको व्यवसायीकरणको विस्तारका लागि विभिन्न स्थानमा भइरहेका अध्ययन तथा अनुसन्धानलाई प्रचारप्रसार गर्ने कार्यलाई प्राथमिकतामा राखिएको कृषि सूचना तथा सञ्चार केन्द्रका सूचना अधिकृत नारायण न्यौपानेले बताउनुभयो । (वासुदेव पौडेल) रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *