स्याउला आम्दानीको स्रोत

Post Date : June 29, 2016 | 3:41 pm

बनेपा, १५ असार । काभ्रेपलाञ्चोकको ढुङ्खर्क गाविसका प्रेम तिमल्सिनालाई पहिला सोत्तरको रुपमा प्रयोग गरिने स्याउला आम्दानीको स्रोत बन्छ भन्ने थाहा थिएन । तर अहिले उहाँले त्यही स्याउलाबाट मनग्य आम्दानी लिइरहनुभएको छ ।

पाटेसल्लो भनेर गोठमा स्याउलाका लागि प्रयोग भएको लौठसल्ला अहिले ढुङ्खर्कका स्थानीयवासीले घर घरमा लगाएका छन् । तिमल्सिनाको आफ्नो नर्सरीमा करिब २५ हजार लौठसल्लाका बिरुवा छन् । यसबाट उहाँले प्रशस्त आम्दानी गर्नुभएको छ ।

गाउँघरमा लौठसल्ला जीविकोपार्जनको माध्यम बनेको छ । यसको सुकेको पात प्रतिकिलो रु २०० मा बिक्री गरिन्छ । गैर काष्ठ वन पैदावरको रुपमा रहेको लौठसल्लाको अन्तर्राष्ट्रिय बजार भए पनि मूल्य निर्धारण नहुँदा किसान मर्कामा परेका छन् । अहिले ढुङ्खर्कमा लौठसल्ला फस्टाउँदो अवस्थामा छ ।

नर्सरीमा रहेका प्रतिबिरुवा रु ३५ देखि रु ४० मा बिक्री हुने गरेका छन् । जनजागृति सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष केदारबहादुर क्षेत्री निजी र सामुदायिक वनमा लौठसल्लाको खेती गरिएको बताउनुहुन्छ ।

जिल्ला वन अधिकृत प्रेम खनालले जिल्लामा १२ प्रजातिका विभिन्न जडीबुटी प्रर्वद्धनका लागि रु २० लाख बजेट आएको र लौठसल्लाको प्रवद्र्धनका लागि बजेट विनियोजन गरिने बताउनुभयो । लौठसल्ला बाहेक जिल्लामा लप्सी प्रवद्र्धन, टिमुरखेती, बोधिचित्तलगायत जडीबुटीको लागि बजेटलाई ध्यानमा राखेर काम भएको उहाँको भनाइ छ ।

लौठसल्लाको पवद्र्धनका लागि ढुङ्खर्क गाविस– ७ स्थित सामुदायिक वन उपभोक्ता समितिमार्फत यसको खेती विस्तार हुन थालेको छ । सो सामुदायिक वनलाई चार हजार तथा निजी वनलाई एक हजार बिरुवा निःशुल्क वितरण गर्ने जिल्ला वन कार्यालयले जनाएको छ । बुढाखानी, च्यासिङखर्क, चलालगणेस्थान, उग्रचण्डीनालालगायत गाविसमा समेत लौठसल्लाको विस्तार गरिएको बताइएको छ ।

लौठसल्लाको पात, डाँठ र सिन्काको मुख्य बजार भारत र तेस्रो मुलुक मानिन्छ । नेपालमा लौठसल्लाको पात, डाँठ, सिन्काको सङ्कलन राजस्व प्रतिकिलो रु २५ तोकिएको छ । जिल्लामा गत वर्ष निजी वनबाट आठ हजार २३० किलो तथा सामुदायिक वनबाट १५ हजार किलो पात सङ्कलन हुने अनुमान गरिएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *