स्वास्थ्य बिमा कार्यक्रम सुरु

Post Date : June 15, 2017 | 5:50 pm

चितवन, १ असार । सामाजिक स्वास्थ्य सुरक्षाअन्तर्गतको स्वास्थ्य बिमा कार्यक्रम आजबाट सुरु भएको छ ।

भरतपुर अस्पताल परिसरमा एक कार्यक्रमको आयोजना गरी सदस्यता दर्ता शुभारम्भ गरिएको हो । कार्यक्रमअन्तर्गत पाँचजनाको परिवारले वार्षिक रु दुई हजार ५०० बिमा शुल्क भुक्तानी गरेपछि रु ५० हजारसम्मको उपचार सेवा पाउने छन् ।

पाँचजनाभन्दा बढी सदस्य भएमा प्रतिव्यक्ति रु ४२५ थप भुक्तानी गरेपछि प्रतिव्यक्तिको रु १० हजार उपचार सेवा थपिने छ । पाँचजनासम्मका लागि रु ५० हजार अनिवार्य गरिएको छ । सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति चितवनकी प्रबन्धक सिर्जना पौडेलका अनुसार सो कार्यक्रमको अधिकतम सीमा रु एक लाख तोकिएको छ । सरकारले निःशुल्क तोकेका औषधि र उपचार सेवा भने यसमा समावेश नहुने उहाँले बताउनुभयो ।

जिल्लामा भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, खैरहनी, जुटपानी, शिवनगर प्राथमिक स्वास्थ्य केन्द्र, रत्ननगर बकुलहर अस्पताल र बघौडा अस्पतालबाट उक्त सेवा लिन सकिने उहाँको भनाइ छ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र भरतपुर आँखा अस्पतालसहित देशका अन्य तोकिएका ठूला अस्पतालमा पनि रिफरल सेवा पाइने पौडेलले बताउनुभयो ।

कार्यक्रममा सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका डा भुवन पौडेलले थपिँदै गएका नयाँ नयाँ रोगको जोखिमबाट सर्वसुलभ रुपमा उपचार पाउनका लागि सो कार्यक्रम प्रभावकारी हुने बताउनुभयो । आउँदो असार मसान्तसम्ममा देशका १५ जिल्लामा उक्त कार्यक्रम लागू गरिने उहाँले बताउनुभयो ।

आर्थिक वर्ष २०७२÷७३ मा कैलाली, बागलुङ र इलामबाट सुरु भएको स्वास्थ्य बिमा कार्यक्रम आजबाट चितवनमा पनि सञ्चालनमा आएको हो । आजैबाट भक्तपुर, जुम्ला र तनहुँमा पनि सो कार्यक्रम सुरु भएको उहाँले बताउनुभयो । असारमा जाजरकोट, मकवानपुर र गोरखामा कार्यक्रम सुरु हुँदैछ । हालसम्म ८४ हजारभन्दा बढीले बिमा गरेका छन् भने करिब २५ प्रतिशतले सेवा लिइसकेका पौडेलले जानकारी दिनुभयो ।

कार्यक्रममा सांसद रामकृष्ण घिमिरे, कृष्णभक्त पोखरेल, विष्णुमाया परियार, स्थानीय विकास अधिकारी कृष्णप्रसाद सुवेदीलगायतले बिमा कार्यक्रमले गरिब नागरिकलाई प्रत्यक्ष फाइदा पुग्ने बताउनुभयो । सक्नेले थोरै रकम तिर्ने र नसक्नेले निःशुल्क रुपमा उपचार पाउने सरकारी योजनाअनुरुप उक्त कार्यक्रम आएको उहाँहरुको भनाइ थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *