हवाई यात्रुको चाप बढ्यो

Post Date : October 5, 2016 | 3:21 pm

चितवन, १९ असोज । नारायणगढ–मुग्लिन सडक खण्डमा यसवर्षको वर्षातमा धेरै पहिरो खसेर स्थाल मार्गबत्राट यात्रा गर्न डराएका यात्रु हवाई मार्गतर्फ आकर्षित भएका छन् ।

हावाई मार्गका यात्रु बढेकाले काठमाडौँबाट भरतपुर दैनिक एक दुई उडान भर्दै आएका बुद्ध र यती एयरलायन्सले एकै दिन १२ वटासम्म उडान भरेका छन् ।

पहिरोका कारण १४ घन्टासम्म वर्षामा सडक अवरुद्ध बनेपछि छिमेकी जिल्लाका यात्रु समेत भरतपुर काठमाडौँ हवाईमार्गबाटै यात्रा गर्न थालेका हुन् । बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म हवाई सुविधा भएकाले छोटो कामका लागि आउने यात्रुले एकै दिनमा भरतपुर काठमाडौँ आवातजावत समेत गरेका छन् ।

बुद्ध एयरलायन्स प्रबन्धक भक्तबहादुर बस्नेतले अहिले आफ्नो एयरलाइन्सबाट काठमाडौँ भरतपुर नियमित पाँचवटा उडान भएकामा चाप बढेको बेला एकैदिन आठ वटासम्म उडान भरेको बताउनुभयो ।

त्यस्तै दैनिक तीनवटा उडान भर्दै आएको यती एयरलायन्सले अहिले दैनिक चार वटासम्म उडान भरेको एयरलायन्सका सहायक स्टेसन म्यानेजर अनुप ढकालले जानकारी दिनुभयो । दैनिक आठवटा नियमित उडान र दैनिकजसो थप गरिने एक दुईवटा उडानले समेत यात्रुको चाप थेग्न सकेको छैन ।

बुद्ध एयरलायन्सका प्रबन्धक बस्नेत दसँैंको टीकाको भोलिपल्टसम्म काठमाडौँबाट भरतपुर आउनका लागि टिकट बुकिङ भइसकेको बताउनुहुन्छ । त्यसको भोलिपल्टबाट एक सातासम्म काठमाडौँ जानका लागि टिकट बुकिङ भइसकेको छ ।

कुनै समय खाली देखिने भरतपुर विमानस्थल टर्मिनलका कुर्सी अहिले भरिभराउ नै छन् । विमानस्थलमा काम गर्ने कर्मचारी र प्रहरी पनि बिहानैदेखि बेलुकासम्म व्यस्त नै हुन्छन् । सडक यात्राबाट गन्तव्यसम्म पुग्ने ठेगान नभएपछि गाडीको भन्दा १० गुणा बढी भाडा तिरेर यात्रु जहाज चढ्न बाध्य भएका हुन् । चाडवाडको समयमा अन्य स्थानमा पनि उत्तिकै सङ्ख्यामा जहाज उड्ने भएकाले भरतपुरमा जहाज थप्न असहज भएको सम्बन्धित एयरलाइन्सका कर्मचारी बताउँछन् ।

बुद्धले ४७ सिट क्षमताको एटिआर र यतीले ३० जना क्षमताको जेडस्टेन्ड जहाज सञ्चालन गर्दै आएका छन् । ‘सडक मार्गबाट जाँदा पहिरोको कारण यात्रा असहज हुने भएकाले जहाज चढ्नेको सङ्ख्या ह्वात्तै बढेको हो’ भरतपुर विमानस्थलका प्रमुख शिवप्रसाद उपाध्यायको भनाइ छ ।
“पछिल्लो समय हवाई यात्रुको सङ्ख्या बढेपछि उडान सङ्ख्या र ठूला जहाज थपिएको उहाँले बताउनुभयो ।” ‘उडान सङ्ख्या बढ्नाका साथै ठूला जहाज पनि आउन थालेपछि विमानस्थलमा जहाज पार्किङको समस्या भएको छ’ विमानस्थल प्रमुख उपाध्यायले थप्नुभयो ।

नारायणगढबाट गाडीमा यात्रा गर्दा ३५० पर्दछ भने हवाई यात्रा गर्दा रु तीन हजार २५ एकतर्फी भाडा लाग्ने गर्दछ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *