हाते कागज उद्योग पुनः सञ्चालनमा

Post Date : June 6, 2016 | 3:14 pm

बाबियाचौर (म्याग्दी), २४ जेठ । म्याग्दीको लुलाङमा रहेको नेपाली हाते कागज उद्योग सात वर्षपछि पुनः सञ्चालनमा आएको छ ।

विसं २०६५ मा सोले हब्स प्रालिद्वारा स्थापित उद्योग कर्मचारीले बदमासी गरेपछि एक वर्षमै बन्द भएको थियो । सामूहिक रुपमा सञ्चालित उद्योगलाई स्थानीय केशरबहादुर पुर्जाले व्यक्तिगत स्वामित्वमा लिएर यसै वर्षदेखि पुनः सञ्चालन गर्नुभएको हो ।

दोलखाबाट काम गर्न आएका कर्मचारी पाल्देन शेर्पाले उद्योगको रकम हिनामिना गरेर फरार भएपछि जनशक्ति अभाव र आन्तरिक समस्याका कारण उद्योग बन्द भएको थियो । उद्योग बन्द हुँदा स्थानीय जङ्गलमा प्रशस्त मात्रामा पाइने अल्लोको पुवा कुहिएर खेर गएको थियो ।

अल्लो पुवाको सदुपयोग, स्थानीय जनतालाई रोजगारी र आम्दानीको अवसर प्रदान गर्न उद्योग पुनः सञ्चालनमा ल्याएको सञ्चालक पुर्जाले बताउनुभयो । रु तीन लाखभन्दा बढी लगानीमा स्थापना गरेको उद्योगमा हाल तीन जनाले रोजगारी पाएका छन् ।

कागज उद्योग पुनः सञ्चालनमा आएपछि स्थानीय जङ्गलमा पाइने अल्लो पुवाको सदुपयोग भएको छ । खेर गइरहेको अल्लोको पुवा सङ्कलन गरेर स्थानीय बासिन्दाले आयआर्जन गर्न पाएका छन् । उद्योगले प्रतिकेजी रु एक सयका दरले पुवा खरिद गर्ने गरेको छ ।

सामुदायिक वनलाई पुवा सङ्कलन गरेबापत प्रतिकिलो रु पाँच कर तिर्नुपर्छ । उद्योगले हालसम्म ६० कोरी नेपाली कागज उत्पादन गरिसकेको छ । एक कोरी नेपाली कागजलाई रु तीन हजार मूल्य पर्छ ।

उद्योगलाई व्यवस्थित गरेर उत्पादन क्षमता बढाउने सञ्चालक पुर्जाको योजना छ । पानी पर्दा र घाम नलाग्दा कागज सुकाउन समस्या हुने गर्छ । कागज सुकाउन छुट्टै प्लास्टिकको टनेल घर बनाउने तयारी भइरहेको छ । उद्योग सञ्चालनका लागि बहुसरोकारवाला वन कार्यक्रमले सङ्गम म्याग्दी मार्फत रु एक लाख २० हजार सहयोग गरेको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *