हानको स्वर्ण महोत्सव

Post Date : September 15, 2016 | 7:56 pm

काठमाडौँ, ३० भदौ । होटल सङ्घ नेपालले स्थापनाको ५०औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा आगामी असोज १४ देखि १६ गते सम्म स्वर्ण महोत्सव मनाउने भएको छ ।

महोत्सवमा यस उद्योगसँग सम्बन्धित स्वदेशी तथा विदेशी पर्यटन तथा होटल व्यवसायी, विदेशी मुलुकका राजदूत र उद्योगपति गरी करिब ५०० जनाको सहभागिता रहने सङ्घले यहाँ आज पत्रकार सम्मेलन गरी जनाएको छ ।

उक्त कार्यक्रममा विगत ५० वर्षमा होटल उद्योगको विकासलाई प्रस्तुत गर्न एक राष्ट्रिय होटल एक्स्पोको आयोजना गर्नेलगायत हिमाल, पहाड, तराई, उपत्यकका साथै अन्तर्राष्ट्रिय प्रचलित विभिन्न प्रकारका खाना समावेश गरी खाना महोत्सव पनि आयोजना गर्न लागिएको महासचिव विनायक शाहले जानकारी दिनुभयो ।

त्यस्तै सदस्य होटलमा कार्यरत सेफबीच प्रतियोगिता र स्कुल तथा कलेजमा अध्ययनरत विद्यार्थीबाट निबन्ध प्रतियोगिताको आयोजना गरिने छ ।

आगामी १० वर्षमा होटल उद्योगलाई सक्षम र मजबुत बनाई देशको समग्र पर्यटन उद्योग र राष्ट्रिय अर्थतन्त्रलाई सबल योगदान पुरयाउन हानले राष्ट्रिय गोष्ठीको पनि आयोजना गर्ने भएको छ ।

आगामी केही वर्षभित्रमा र्राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ठूला व्यावसायिक घरानाले नेपालमा झन्डै चार हजार तारे कोठा निर्माण गर्नेतर्फ काम अगाडि बढेको परिप्रेक्ष्यमा सन् २०२० पछि नेपाली होटल उद्योगले २० लाख पर्यटकलाई आतिथ्यता प्रदान गर्न सक्षम हुने अवस्था देखिएको हानका अध्यक्ष विके श्रेष्ठले बताउनुभयो ।

हालको पर्यटक आगमनको आँकडा हेर्दा हाल सञ्चालित होटललाई नै सञ्चालनमा समस्या देखिएको परिप्रेक्ष्यमा प्रस्तावित सञ्चालनमा आउन लागेका तारे होटलको खर्बौंको लगानीलाई सुरक्षित गर्न नेपालको पर्यटन भिजन २०२० ले लक्ष्य गरेअनुसार २० लाख पर्यटक भित्र्याउन सरकार, नेपाल पर्यटन बोर्ड र सम्बद्ध पर्यटन व्यवसायी एक्तावद्ध भएर अगाडी बढ्नुपर्नेमा हानका प्रथम उपाध्यक्ष अमरमान शाक्यले जोड दिनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *