हिमालबाट उनन्तीस करोड राजस्व

Post Date : May 9, 2016 | 7:14 pm

काठमाडौँ, २७ वैशाख । पर्यटनको दरिलो आधार मानिने मुलुकको पर्वतीय पर्यटनले आशातित नतिजा दिन थालेको छ ।

भूकम्प र नाकाबन्दीले थलिएको पर्यटन क्षेत्र सामान्य अवस्थामा फर्कदैँ गरेको सन्दर्भमा हिमाल आरोहणको उत्साहजनक नतिजाले पर्यटन क्षेत्रमा आसाका किरण देखिएका हुन् । यो मौसम पर्वतारोहण र पदयात्रा पर्यटनका लागि उत्तम मानिन्छ । प्राकृतिक विपत्तिको सामना बेहोरेको साहसिक पर्वतीय पर्यटन अहिले निकै उत्साहजनक देखिएको छ ।

पर्यटन विभाग, पर्वतारोहण शाखाको तथ्याङ्कअनुसार वसन्त ऋतुको यो मौसममा सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि विभिन्न देशका ९७ समूह (टीम)का एकहजार ४३२ आरोही गएका छन् । तीमध्ये सगरमाथा आरोहणका लागि मात्र ३४ टिम गएका छन् ।

त्यस्तै अन्नपूर्णमा तीन, मनास्लुमा ११, मकालुमा पाँच वाटा टिम आरोहणका लागि गएका छन् । सन् २०१५ मा १०३ टिमका एक हजार ४९६ आरोहीले आरोहण अनुमति लिएका थिए । हिमाल आरोहणबाट रु २९ करोड राजस्व सङ्कलन भएको छ । गत वर्ष यही मौसममा रु २९ करोड १६ लाख राजस्व सङ्कलन भएको थियो ।

पर्यटन विभागका महानिर्देशक सुदर्शनप्रसाद ढकालले तुलनात्मक रुपमा यस वर्षको आरोहण नतिजाले उत्साहजनक प्रगति भएको बताउनुभयो । “गत वर्ष आरोहण रद्द गरेका टोलीलाई सरकारले दुई वर्षका लागि छुट दिएकाले राजस्वमा केही कमी आएको हो । यस वर्ष गत वर्ष भन्दा ६४ जना आरोही घटेका छन्,”–उहाँले भन्नुभयो ।

सन् २०१४ मा सगरमाथा आधार शिविर क्षेत्रमा आएको हिमपहिरोका कारण आरोहण रद्द भएको थियो । सरकारले सगरमाथासहितका ४७६ वटा हिमाल आरोहणका लागि खुल्ला गरेको छ । सरकारले सन् २०१८ लाई पर्यटन भ्रमण वर्ष घोषणा गरी १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यका साथ आव २०७३÷७४ को नीति तथा कार्यक्रम घोषणा गरेको छ ।
आइतबार व्यवस्थापिका संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रमले पर्वतीय पर्यटनलाई सुरक्षित तुल्याउने, पदयात्रा पर्यटन प्रवद्र्धन तथा मुलुकको हवाई क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउने योजना अघि सारेको छ । आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सरकारले २०७३ लाई घुमफिर वर्षका रुपमा मनाउने निर्णय गरेसँगै पर्यटन क्षेत्रमा सकारात्मक उत्साह छाएको छ । प्राकृतिक र मानवसिर्जित विपत्तिमा परेको समग्र पर्यटन क्षेत्रले गतिलिने अनुमान गरिएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *