२०७३/७४ को बजेट कार्ययोजना मस्यौदा तयार गर्न सबै मन्त्रालयलाई आग्रह

Post Date : June 14, 2016 | 11:39 am

काठमाडाैं, ३१ जेठ । आगामी आर्थिक वर्ष २०७३/७४ को बजेटका कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनका लागि कार्ययोजनाको मस्यौदा तयार गरेर पठाउन अर्थ मन्त्रालयले सबै मन्त्रालयलाई आग्रह गरेको छ ।

अर्थ मन्त्रालयले सोमबार काठमाडौंमा सबै मन्त्रालयका सचिव र योजना महाशाखाका प्रमुखहरुसँग छलफल कार्यक्रम आयोजना गरी बजेटका कार्यक्रमहरुको कार्यान्वयनलाई तीब्रता दिन कार्ययोजनाको मस्यौदा गरेर असार ५ गतेभित्र अर्थ मन्त्रालयमा पठाउन सबै मन्त्रालयलाई आग्रह गरेको अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता मुकुन्द पौडेलले जानकारी दिनुभयो ।

त्यस अवसरमा अर्थ मन्त्रालयका सचिव लोकदर्शन रेग्मीले सबै मन्त्रालयबाट प्राप्त हुने कार्ययोजनाको मस्यौदालाई असार ६ र ७ गते अर्थ मन्त्रालयमा हुने मन्त्रीस्तरीय बैठकबाट अन्तिम रुप दिइने बताउनुभएको प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।
छलफलका क्रममा विभिन्न मन्त्रालयका सचिवहरुले आगामी आर्थिक वर्षको बजेटका कार्यक्रमहरु वस्तुगत रुपमै कार्यान्वयन गर्न सकिने बताउनुभएको पनि प्रवक्ता पौडेलले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *