३७ वटा मिनी टिलर वितरण

Post Date : November 28, 2016 | 6:11 pm

बाबियाचौर (म्याग्दी), १३ मङ्सिर । कृषि विकास कार्यालयले यस वर्ष म्याग्दीका कृषकलाई ३७ वटा खेतबारी जोत्ने आधुनिक उपकरण (मिनी टिलर) वितरण गरेको छ ।

यान्त्रीकीकरणमार्फत कृषि पेशालाई सहज बनाउने, लागत घटाउने र उत्पादन वृद्धि गर्ने उद्देश्यले कृषि प्रसार कार्यक्रममार्फत मिनी टिलर वितरण गरिएको कार्यालयले जनाएको छ । रु ७५ हजार मूल्य पर्ने मिनी टिलर ५० प्रतिशत अनुदानमा वितरण गरिएको कार्यालयले जनाएको छ ।

कृषकलाई प्रतिमिनी टिलर खरिदमा रु ३७ हजार पाँचसय अनुदान दिइएको वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले जानकारी दिनुभयो ।

अनुदानको मिनी टिलर माग गर्दै एकसय कृषकले निवेदन दिएकामा यसअघि सो उपकरण खरिदका लागि अनुदान नपाएकालाई पहिलो प्राथमिकता दिइएको उहाँले बताउनुभयो ।

गोरु पाल्न नपर्ने, छिटो काम हुने र कम लागत पर्ने भएकाले पछिल्लो समय म्याग्दीका कृषकले खनजोतका लागि मिनी टिलरको प्रयोग गर्न थालेका हुन् । गोरुले तीन दिनमा जोत्ने खेतबारी मिनी टिलरले एकै दिनमा सकिने बेनपा–५ थाकनपोखरीका कमल पौडेलले बताउनुभयो ।

मिनी टिलरप्रति आकर्षण बढे पनि प्रयोग गर्ने विधि र प्राविधिक विषयमा जानकारी नहुँदा कृषकलाई समस्या भएको छ । प्राविधिक विषयमा पर्याप्त जानकारी नहुँदा मिनी टिलरमा सामान्य समस्या आउँदासमेत बोकेर बेनी ल्याउनुपर्ने बाध्यता रहेको उनीहरुको गुनासो छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *