५ करोड रुपैयाँभन्दा बढी मूल्यको लागूऔषध कोकिनसहित दुई विदेशी पक्राउ

Post Date : March 28, 2016 | 11:20 am

काठमाडौं, १५ चैत । प्रहरीले पाँच करोड ४० लाख रुपैयाँभन्दा बढी मूल्य पर्ने अवैध लागूऔषध कोकिनसहित दुई विदेशी महिलालाई काठमाडौंमा पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले विशेष सूचनाका आधारमा दक्षिण अफ्रिकी नागरिक एमपाथोनी एमसाने र भारत नागाल्यान्डकी मर्सीलाई पक्राउ गरेको हो । उनीहरुलाई क्षेत्रपाटी ठमेलबाट पक्राउ गरिएका लागूऔषध नियन्त्रण ब्यूरोका प्रहरी नायव महानिरीक्षक जयबहादुर चन्दले जानकारी दिनुभयो । पक्राउ परेका महिलाहरुका साथबाट दुई लिटर सात सय २२ मिलिलिटर तरल कोकिन बरामद गरिएको छ । कोकिनलाई झोल बनाएर स्याम्पुको बोतलमा लुकाई राखेको अवस्थामा प्रहरीले बरामद गरेको हो । बरामद कोकिनको अन्तर्राष्ट्रिय बजार मूल्य ५ करोड ४० लाख रुपैयाँ पर्दछ । स्याम्पुको बोतलभित्र तरल अवस्थामा कोकिन बरामद भएको यो पहिलो पटक हो । एमपाथोनीले दक्षिण अफ्रिकाको जोहनसर्ग, दुवई विमानस्थल प्रयोग गरेर कोकिन नेपाल ल्याएको अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।
डिआईजी चन्दले पाँच वटा विमानस्थल प्रयोग गरेर एमपाथीनी काठमाडौंसम्म आइपुगेकी बताउनुभयो । यो कोकिन ब्राजिल पुरयाउने उद्देश्यले ल्याएको देखिएको उहाँले जानकारी दिनुभयो ।

पाथीनी र भारतीय नागरिक मर्सिको भेट क्षेत्रपाटीमै भएको र सँगै पक्राउ गरिएको प्रहरीले जनाएको छ । भारतीय नागरिकको पहिलेदेखि लागूऔषध ओसारपसारमा एमपाथीनीसँग मिलेमतो रहेको देखिएको डिआईजी चन्दले बताउनुभयो । उहाँले एमपाथिनी दक्षिण अफ्रिकाबाट भारत, फिलिपिन्स हुँदै विभिन्न युरोपियन मुलुकसम्म तस्करी गर्ने गिरोहसँग रहेको संलग्न रहेको बताउनुभयो ।

दक्षिण अफ्रिकनहरुले नेपाली भूमिलाई लागूऔषध कारोबारको ट्रान्जिट प्वाइन्ट बनाउने गरेको प्रहरीले जनाएको छ । कोकिन ओसारपसार दक्षिण अफ्रिका, नाइजेरिया, ब्राजिल, साओपालो, भारतको नयाँदिल्ली, मुम्बई, फिलिपिन्स, दुवई, इटाली, नेदरल्यान्डलगायतका विभिन्न अफ्रिकी मुलुका गिरोह सक्रिय रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *