चौँसट्ठी हजार किलो जडीबुटी निकासी
 
                  इलाम, ३० भदौ । जिल्लाबाट आव २०७२/७३ मा ६४ हजार एक सय किलो जडीबुटी निर्यात भएको छ ।
कचुर, चिराइतो, मजिटो, जमानी मान्द्रो, अर्गेली, सतुवा, लौठसल्ला, बिखमालगायतका जडीबुटी काँकडभिट्टा हुँदै भारतलगायत तेस्रो मुलुक निर्यात भएको छ ।
जिल्ला वन कार्यालयका नासु गणेश अधिकारीका अनुसार चिराइतो १४ हजार ३८० किलो, कचुर नौ हजार, अर्गेली ११ हजार ९००, मझिटो तीन हजार ५५५, लौठ सल्ला चार हजार ६००, जमानी मान्द्रोका डाँठ १९ हजार ९९०, सतुवा ३५ किलो र बिख ६४० किलो निकासी भएको छ ।
जिल्लाका उत्तरी तथा पश्चिमी सामुदायिक वनमा पाइने जडीबुटी निर्यात गरी करिब रु ३० करोडभन्दा बढी आम्दानी भएको कार्यालयले जनाएको छ । भाउ खस्किएसँगै अन्नबाली मासेर चिराइतो खेतीमा लागेका किसान निराश बनेका छन् । भाउ घटेपछि किसानले खेती घटाएकाले यहाँबाट चिरातोको निकासी घटेको छ । केही वर्षअघि रु २५ हजार प्रतिमनका दरले बिक्री भएको चिराइतो गत आवमा रु १५ हजारसम्म मात्रै किनबेच भएको थियो ।
गत वर्ष जिल्लाबाट नागबेलीको धुलो निकासी भएन । जिल्लाबाट सतुवा प्रतिकिलो रु आठ हजारका दरले किनबेच भएको बताइएको छ । रासस

 
                                             
                                             
                                             
                                             
                                             
                                             
                                            