अध्यक्ष ओलीद्वारा एनएमसी डेरीको उदघाटन
सुरुङ्गा (झापा), २८ कात्तिक । झापाको मेचीनगर–१३ स्थित जोरसिमल नजिकै झन्डै १३ करोड रुपैयाँको लागतमा एनएमसी डेरी उद्योग सञ्चालनमा आएको छ ।
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) झापाको पूर्ण स्वामित्वमा सञ्चालित डेरी उद्योगको उद्घाटन आज पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभयो । सहकारी संस्थाको एकल स्वामित्वमा १२ करोड ७५ लाख रुपैयाँको लागतमा स्थापना भएको डेरीले गत वैशाख १ गतेदेखि परीक्षण उत्पादन सुरु गरेको थियो ।
कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका नेकपा (एमाले)का अध्यक्ष ओलीले एनएमसीलाई अझ उचाइमा पुरयाउँदै सेवाग्राहीको मन जित्न शुभकामना दिनुभयो । उहाँले एनएमसी डेरीलाई भारतको अमुल डेरीसँग तुलना गर्दै थोरै घाटाको पर्वाह नगरी आफ्नो लक्ष्य प्राप्तिमा अघि बढ्न सुझाव दिनुभयो ।
उद्घाटन समारोहमा बोल्दै उद्योगका प्रबन्ध निर्देशक डेरीविद् तथा पोषणविद् श्यामकुमार मिश्रले दैनिक १० हजार लिटर दूध प्रशोधन तथा वितरण गर्दै आएको उद्योगको प्रतिघन्टा तीन हजार लिटर दूध प्रशोधन तथा उत्पादन गर्नसक्ने क्षमता रहेको बताउनुभयो ।
कार्यक्रममा सहकारीका अध्यक्ष रामचन्द्र उप्रेतीले एनएमसी डेरीको मुख्य ध्यान नै गुणस्तरमा रहेको बताउँदै आम उपभोक्ताको अपेक्षालाई अझ उचाइसम्म पुरयाउने बताउनुभयो । उहाँले सामाजिक रुपमा असल चरित्रको निर्माण अभियानमा जुटेको एनएमसी आफ्नो लक्ष्यअनुरुप अघि बढेको धारणा राख्नुभयो । रासस