अनुमति बिना कक्षा चलाउने १९ विद्यालयलाई कारबाही
रत्ननगर (चितवन), ९ फागुन । अनुमति बिना कक्षा सञ्चालन गर्ने जिल्लाका १९ निजी विद्यालयलाई जिल्ला शिक्षा कार्यालय चितवनले कारबाही गरेको छ ।
शिक्षा नियमावलीअनुसार कारबाही गरेर त्यहाँ अध्ययनरत् विद्यार्थीले कुन ठाउँमा परीक्षा दिने र कुन ठाउँबाट प्रमाणपत्र लिने सबै जानकारी दिन समेत निर्देशन दिइएको जिल्ला शिक्षा अधिकारी गोविन्द अर्यालले जानकारी दिनुभयो ।
अर्यालका अनुसार चितवनका ती विद्यालयले कम्तीमा एकदेखि पाँच वटा कक्षासम्म अनुमति बिना सञ्चालन गरेको पाइएको छ । यसरी कक्षा सञ्चालन गर्ने सबै आधारभूत तह पढाउने विद्यालय रहेका छन् ।
विद्यार्थी र अभिभावकमा पर्नसक्ने असरलाई मध्यनजर गर्दै अहिले विद्यालय र कक्षा सार्वजनिक नगरिएको र सबै व्यवस्थापन गरेपछिमात्र सार्वजनिक गरिने जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
नियमावलीले यसरी कक्षा सञ्चालन गर्ने विद्यालयलाई कम्तीमा रु पाँच हजारदेखि २५ हजारसम्म जरिवाना लगाउन सक्ने उल्लेख भएअनुसार प्रकृति हेरेर जरिवाना लगाइएको कार्यालयले जनाएको छ ।
उनीहरुले अर्काे वर्ष कक्षा चलाउन नपाउने गरी लिखितपत्र पेस गर्नसमेत भनिएको अर्यालले बताउनुभयो । “केहीले जरिवाना तिर्न थालेका छन्, लिखित प्रतिबद्धता समेत माग गरेका छौँ, उहाँले भन्नुभयो ।” चितवनमा कुल १७६ निजी र ३७७ वटा सामुदायिक विद्यालय छन् ।
यहाँ कुल एक लाख ४३ हजार विद्यार्थी अध्ययनरत छन् । विगत लामो समयदेखि यसरी विद्यालयले अनुमति बिना चलाएको पाइएको जनाईएको छ । रासस