अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा यती बैंकको सम्मान कार्यक्रम

काठमाडौँ, २४ फागुन । यती डेभलपमेण्ट बैंकले १०७ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा २०७३ फागुन २४ गते विभिन्न क्षेत्रमा अतुलनीय योगदान पुरयाउनु हुने नारीहरुको सम्मान कार्यक्रम आयोजना गरेको छ ।
विगत लामो समयदेखि कला क्षेत्रमा तथा रेडियो प्रस्तोताको रुपमा समाजमा गहिरो छाप छोड्न सफल लक्ष्मी भुषाल, लामो समयदेखि संचार क्षेत्रमा योगदान पुरयाउनु हुने कृष्णा ताम्राकार र आठौं डब्लुबीपीएफ विश्व शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् प्रतियोगिताको एथलेटिक फिजिक विधामा कास्य पदक हासिल गरी आन्तर्राष्ट्रिय क्षेत्रमा नेपाललाई चिनाउन योगदान गर्नु हुने ननिता महर्जनलाई नगद तथा सम्मान–पत्र सहित बैंकका प्रमुख कार्यकारी अधिकृत सागर शर्माले सम्मान गर्नु भयो । संचारकर्मी कृष्णा ताम्राकार अस्वस्थ्य रहनुभएकोले उहाँको सम्मान उहाँकी छोरी गृष्मा राजभण्डारीलाई प्रदान गरिएको बैंकद्वारा जारी प्रेस विज्ञप्तीमा जनाइएको छ ।