अवैध सिलिण्डरबारे निगमले जवाफ दिनुपर्छः सिडिओ

काठमाडौ जिल्ला प्रशासन कार्यालयले बजारमा चार लाख अवैध सिलिण्डर भित्रिएका कारण ग्याँसको अभाव भएको भन्दै अवैध सिलिण्डरको बारेमा नेपाल आयल निगमले जवाफ दिनुपर्ने बताएको छ ।
काठमाडौका प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीले गत वर्षको मार्च महिनाको तुलनामा यस वर्षको मार्च महिनामा २ हजार मेट्रिक टन बढी ग्याँस भित्रिएपनि ४ लाख अवैध सिलिण्डर भित्र्यिाएर कालोबजारी गरिएका कारण उपभोक्ताले सहज रुपमा ग्याँस पाउन नसकेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी सुवेदीले बुधबार रिपोर्टस क्लबले काठमाडौमा गरेको साक्षात्कारमा नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काका सामुन्ने चार लाख अवैध सिलिण्डरका बारेमा निगमले जवाफ दिनुपर्ने बताउनुभयो । उहाँले माग भन्दा बढी आयात भएको ग्याँस कहाँ गयो भन्ने बारेमा निगमले जवाफ दिनुपर्ने बताउनुभयो ।
काठमाडौका प्रमुख जिल्ला अधिकारी सुवेदीले निगम र आपूर्ति व्यवस्थापन विभागको मिलेमतोविना कालोबजारी सम्भव नरहेको समेत बताउनुभयो । उहाँले संचार केन्द्र र तरकारी पसलमा ग्याँसका सिलिण्डर कसरी पुगे ? निगम र विभागले जवाफ दिनुपर्ने बताउनुभयो ।
साक्षात्कारमा नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल बहादुर खड्काले भने बजारमा एउटा पनि अवैध सिलिण्डर नभित्रिएको दाबी गर्नुभयो । उहाँले अभावका बेला भित्रिएका नयाँ सिलिण्डरलाई अवैध भन्न नमिल्ने समेत बताउनुभयो । उहाँले नयाँ सिलिण्डर भित्र्याउनका लागि निगमको स्वीकृति चाहिने व्यवस्था नरहेका कारण निगमलाई सिलिण्डरको संख्या बारेमा जानकारी नहुने बताउनुभयो ।
निगमका कार्यकारी निर्देशक खड्काले मागभन्दा बढी मात्रामा आयात भइरहेका कारण अबको केही दिनभित्रै ग्याँसको आपूर्ति सहज हुने दाबी गर्नुभयो । साक्षात्कारमा नेपाल एलपीजी ग्याँस उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेले भने पछिल्लो सात महिनाको अवधिमा मागभन्दा ७९ हजार मेट्रिक टन कम आयात भएका कारण बजारमा ग्याँसको अभाव कायम रहेको भन्दै आयात नबढाए आउने एक वर्षसम्म पनि अभाव कायमै रहने बताउनुभयो । उहाँले आयात बढाउनुको साटो अनुगमन गरेर बजार सहज नहुने बताउनुभयो ।
ग्याँसमा कालोबजारी गरेको अभियोगमा काठमाडौमा एक महिनाको अवधिमा मात्र १८ जनाविरुद्ध मुद्दा दायर गरिएको छ । प्रहरी र प्रशासनको टोलीले काठमाडौका विभिन्न स्थानबाट पछिल्लो एक महिनामा कालोबजारीका लागि ठिक्क पारिएका ५ सय ६७ सिलिण्डर ग्याँस जफत गरेको छ ।