आधारभूत विश्लेषणः सेयर लगानीको आधार

Post Date : September 28, 2016 | 1:09 pm

सेयरमा लगानी गर्नुपूर्व हामीले अवश्य कुनै न कुनै आधार तय गरेका हुन्छौँ । धेरैजसो अवस्थामा हामीले साथीभाइ, सेयरमा कारोबार गर्ने पुराना लगानीकर्ताहरू, सेयरसँग सम्बन्धित अन्य व्यक्तिहरूको सल्लाहबमोजिम लगानी गरेका हुन्छौँ । यसरी लगानी गर्दा हामीले लगानी गरेको कम्पनीको बारेमा प्रायः बेवास्ता गर्ने गर्दछाँै, फलानाले त्यस्को भाउ बढ्छ भनेको छ, त्यसैले लगानी गरेको भनेर ढुक्क भएर लगानी गर्दछौँ, तर त्यसरी लगानी सधैं सुरक्षित र लाभदायक भने हुँदैन । सेयरबाट कमाउन र लगानी गरेपछि ढुक्क भएर निदाउन छ भने अब उप्रान्त हामीले अरूले भनेको भरमा लगानी गर्ने बानी हटाउनु पर्छ । लगानी गर्नुपूर्व आफूले रोजेको कम्पनी र त्यस कम्पनीको सेयरको बारेमा अनुसन्धान गरेर मात्र लगानी गर्ने बानी निर्माण गर्न अत्यन्त जरुरी छ अन्यथा हाम्रो एक निर्णय नै हामीलाई एकै दिनमा कंगाल बनाउन पर्याप्त छ ।

कुनै बेला नेप्सेमा उच्च सेन्सिटिभिटी कायम गर्न सफल चर्चित हाइड्रोपावर कम्पनी आजको दिनमा लगानीकर्ताको रोजाइमा पर्दैन, २७–२८ सयमा कारोबार गर्ने उक्त हाइड्रो कम्पनीको मूल्य आज १२ सयमा कारोबार गर्दैछ । त्यो बेला २८ सयमा किन्नेले अहिलेसम्म आफ्नो साँवासमेत उठाउन सकेका छैनन् । यसरी आफ्नो पूँजी लामो समय फस्दा कम्पनीको मूल्य बढ्ला र बेच्छु भनेर पर्खेर बस्नुबाहेक कुनै उपाय छैन । हामीले लगानी गर्दा पहिलो प्राथमिकता भनेको आफ्नो पूँजी सुरक्षित छ कि छैन भनेर जाँच्ने त्यसपछि मात्र नाफाको हिसाब गर्नुपर्ने हुन्छ । लगानी सुरक्षित गर्ने उपाय भनेको आधारभूत विश्लेषण एउटा रणनीतिका रूपमा हामीले ग्रहण गर्न सक्छौँ । हामी सट्टेबाज नभएर लगानीकर्ताको रूपमा प्रस्तुत हुनका लागि आधारभूत विश्लेषण आवश्यक छ । सेयर दुई किसिमले विश्लेषण गर्न सकिन्छ, एउटा प्राविधिक तरिकाले दोस्रो आधारभूत ढंगले । यहाँ हामी आधारभूत विश्लेषणको चर्चा गर्नेछौँ ।

के हो आधारभूत विश्लेषण ?

आधारभूत विश्लेषण लगानी गर्नका लागि लगानीकर्ताका लागि ठोस आधार हो । आधारभूत विश्लेषणले हामीले लगानी गर्न लागेको कम्पनीको बारेमा जान्ने र उक्त कम्पनीको वित्तीय अवस्था थाहा पाउन र भविष्यमा के–कसरी अगाडि बढ्दै छ भनेर जाँच्ने आधारको रूपमा लिन सकिन्छ । यो विश्लेषणमा कम्पनीको वार्षिक प्रतिवेदन र वित्तीय विवरण अध्ययन विश्लेषण गरेर कम्पनीको प्रतिस्पर्धात्मक लाभ, रणनीति र बजारमा कस्तो किसिमको वातावरण निर्माण गरेको छ भनेर बुझ्न सकिन्छ । यी आधारभूत तत्वबाट लगानीकर्ताले सो कम्पनीको सेयरको मूल्य दोस्रो बजारमा बढी वा कममा कारोबार भएको छ÷छैन भनेर आफै विश्लेषण गर्न सक्नेछन् । हामीले आधारभूत विश्लेषणमा सुरुवातमा सेयरको विश्लेषणबाट सुरु गरेर त्यस कम्पनीले कत्तिको प्रतिस्पर्धा गर्न सक्ने हैसियत राख्छ, बजारमा भएका उस्तै कम्पनीको तुलनामा अगाडि बढ्दै छ वा अझै खुम्चिँदै छ ? भनेर जान्न सकिन्छ । आधारभूत विश्लेषण छोटोभन्दा पनि लामो समयका लागि लगानी गरेर लगानी सुरक्षित र नाफा आर्जन गर्न चाहनेहरूका लागि उपयोगी आधार हो । छोटो समयमा नाफा कमाउनेले प्राबिधिक विश्लेषण गर्ने गर्छन्, किनकी प्राविधिक विश्लेषकले कम्पनीभन्दा पनि सेयरको गति (मुभमेन्ट) हेरेर लगानी गर्छन् ।

आधारभूत विश्लेषण छोटोभन्दा पनि लामो समयका लागि लगानी गरेर लगानी सुरक्षित र नाफा आर्जन गर्न चाहनेहरूका लागि उपयोगी आधार हो ।

आधारभूत विश्लेषण गर्नुपर्ने कारण

आधारभूत विश्लेषण गर्नुको मुख्य कारण भनेको लगानीका लागि लगानीकर्तालाई सहज रूपमा निर्णय गर्न सजिलो होस् भनेर हो । तर लगानी गर्नु अघि लगानीकर्ताले निम्न कुरामा ध्यान दिनु जरुरी छ–

१) कम्पनीको नाफा–नोक्सानको अवस्था ।
२) कम्पनीले लगातार नाफा आर्जन गरेको छ कि छैन ।
३) लगानी गर्न लागेको कम्पनी प्रतिस्पर्धा गर्न सक्ने हैसियत राख्दछ कि राख्दैन ।
४) कम्पनी टाट पल्टियो भने आफ्नो सम्पत्ति बेचेर ऋण चुक्ता गर्न सक्ने अवस्थामा उसको सम्पत्ति छ कि छैन ।

माथिका कुरा विश्लेषण गरी सकेपछि हामीले सो कम्पनीको सेयरको मूल्य बजारमा मोलभन्दा तल छ वा मोलभन्दा माथि छ भनेर बुझ्न सजिलो हुन्छ । विश्लेषण गर्दा यदि कम्पनीको सेयरको मूल्य मोलभन्दा तल छ भने हामीलाई लगानी गर्ने अवसर जुरेको हुनेछ र भविष्यमा कम्पनीको आर्थिक उन्नतिसँंगै सेयरको मूल्य पनि बढ्न सक्ने आधार रहनेछ । यदि सेयरको मूल्य मोलभन्दा धेरै छ भने बेच्न पनि सकिन्छ वा केही समय पर्खेर सही मूल्यमा समायोजन भएपछि मात्र लगानी गर्ने निर्णय गर्न सकिनेछ ।

आधारभूत विश्लेषणका मुख्य तत्वहरू

आम्दानीः

सबै सेयर लगानीकर्ताले सुरुमा कम्पनीको आम्दानीको अवस्था कस्तो छ भनेर अध्ययन गर्ने गर्छन् । भविष्यमा हुने आम्दानीले कम्पनीको ब्यापारमा बढोतरी र सेयरको मूल्यमा वृद्धि हुने अवसर सिर्जना गर्दछ । वार्षिक प्रतिवेदनमा कम्पनीको केही वर्षदेखिको आम्दानीको अवस्था, वर्तमान आम्दानी र कम्पनीको भावी आम्दानी गर्ने योजना पढ्न सकिन्छ । यसरी सो कम्पनीको सेयरको मूल्यमा के कस्तो असर हुन सक्छ भनेर हामीले विश्लेषण गर्न सक्छौ । आम्दानीलाई असर गर्ने तत्वहरू बिक्री, खर्च, सम्पत्ति र दायित्व हुन् । आम्दानीको मापन प्रतिसेयर आम्दानी (इपिएस) बाट गर्छौ । इपिएसले हामीलाई प्रतिइकाई सेयर लगानी गरेर कम्पनीले कति आम्दानी गर्न सफल भयो भनेर बुझ्न सजिलो हुन्छ । इपिएस हिसाब गर्न खुद मुनाफालाई कम्पनीको जारी पूँजीले भाग लगाउँदा निकाल्न सकिन्छ । जति धेरै इपिएस त्यति नै राम्रो मानिन्छ ।

प्रोफिट मार्जिनः

आम्दानीले मात्रा कम्पनीको सम्पूर्ण कुरा बोलेको हुँदैन, यदि आम्दानीभन्दा खर्च धेरै हुँदैछ भने प्रोफिट मार्जिनमा सुधार भएको छैन भनेर बुझ्नु पर्ने हुन्छ । प्रोफिट मार्जिनले कम्पनीले प्रत्येक रुपैयाँको आम्दानीबाट कति नाफा कमाएको छ भनेर जानकारी दिन्छ । त्यसैले खर्च धेरै गर्ने कम्पनीको मुनाफामा सीधा असर देखिन्छ । प्रोफिट मार्जिनको उपयोगिता भनेको एउटै प्रकृतिका कम्पनीहरूबीच तुलना गरेर लगानी गर्ने वा नगर्ने निर्णय गर्न सकिनेछ । प्रोफिट मार्जिन हिसाब गर्न खुद मुनाफालाई कम्पनीको कुल आम्दानीले भाग गर्नुपर्छ, जति धेरै प्रतिशत आउँछ, त्यति नै त्यो कम्पनी उसको प्रतिद्वन्द्वीभन्दा राम्रो मान्न सकिन्छ । त्यसैले प्रोफिट मार्जिन जहिल्यै पनि दुई कम्पनीबीच तुलना गर्नुपर्छ ।

प्रोफिट मार्जिनको उपयोगिता भनेको एउटै प्रकृतिका कम्पनीहरूबीच तुलना गरेर लगानी गर्ने वा नगर्ने निर्णय गर्न सकिनेछ ।

मुनाफा कमाइ अनुपात ः

मुनाफा कमाइ अनुपातलाई प्राइस अर्निङ रेसियो पनि भन्ने गर्छौ, छोटकारीमा पिइ रेसियो भनिन्छ । हालको बजार मूल्य हेरेर लगानी गर्न हामी पिइ रेसियोलाई उपयुक्त औजारको रुपमा प्रयोग गर्न सक्छौ । किनकी पिइ रेसियो निकाल्न हामीले हालको बजार मूल्यलाई इपिएसले भाग लगाउन पर्ने हुन्छ र पिइ रेसियो दुई कम्पनी बिच तुलना गेरेर जसको पिइ रेसियो धेरै हुन्छ त्यसको मूल्य कमाइको हिसाबले भन्दा बजारमा महँगो ठहर गरेर अरु कम्पनीको सेयर खरिद गर्न सक्छौँ । पिइ रेसियोले कम्पनीको वृद्धि र बढोत्तरीलाई मापन गर्न सक्दैन, त्यसैले लगातर राम्रो मुनाफा आर्जन गरेको कम्पनी छ र पछि पनि त्यही लय कायम गर्न सक्छ भने आज त्यस कम्पनीको पिइ रेसियो धेरै देखियो भने पनि भविष्यमा सेयरको मूल्य बढ्न सक्ने हुनाले आज त्यो सेयर मूल्य सस्तो पर्नेछ ।

कम्पनीको सम्पत्ति र दायित्व ः

कम्पनीको सम्पत्ति विवरण वासलातको बायाँतर्फ देखाएको हुन्छ । कम्पनीको वार्षिक प्रतिवेदनमा वासलातको विवरण पेश गरिएको हुन्छ । कम्पनीको चालू सम्पत्ति जस्तै मौज्दात र प्राप्त गर्न बाँकी बिल, जुन तुरुन्त नगदमा परिवर्तन गर्न सकिन्छ । व्यापारको प्रकृतिअनुसार लामो अवधिसम्म कायम रहने सम्पत्तिहरू जस्तै– घर, मसिनरी, औजार, गाडी आदि पर्दछन्, जस्को ह्रास कट्टी हुने गर्दछ र यस्ता सम्पत्तिले कम्पनीको सम्पत्तिको अवस्था बलियो वा कमजोर भनेर संकेत गर्छन् । अन्य सम्पत्तिमा कम्पनीको नगद र लगानी पर्छन् । वासलातमा सम्पत्ति बलियो देखियो भने सो कम्पनीले ब्यापारमा वृद्धि गर्ने सम्भावना उच्च रहन्छ । आधारभूत विश्लेषणमा सम्पत्तिलाई पनि समावेश गराउन पर्ने हुन्छ ।

वासलातको दायाँतर्फ कम्पनीको दायित्वको विवरण देख्न सकिन्छ । दायित्व हेर्दा तिर्नपर्ने कर, तिर्न बाँकी बिल्स, तिर्न बाँकी, साहुलाई तिर्न बाँकी दायित्वलगायत कुराको अध्ययन गर्नुपर्ने हुन्छ । यी कुराहरू चालू दायित्व हुन् भने लामो समयका लागि लिएको बैंकको ऋण, डिबेन्चर, बोन्ड पनि दायित्वभित्र पर्दछन् । कम्पनीले छोटो र लामो अवधिमा यी सबै दायित्व पुरा गर्न सक्ने हैसियत कायमा गरेको छ वा छैन भनेर हामीले अनुसन्धान गर्नुपर्ने हुन्छ ।

हेर्दा झन्झटिलो र पट्यारलाग्दो भए पनि हामीले कुनै कम्पनीको वार्षिक प्रतिवेदन हेर्न पहिलाभन्दा धेरै सजिलो भएको छ र कतिपय अनुपात सोही प्रतिवेदनमा समावेश गरिएको हुनाले हामीलाई सजिलो भएको छ ।

अन्य तत्वहरू जस्तै नगद प्रवाहको अवस्था, पूँजी वृद्धि योजना, हालको चुक्ता पूँजीको अवस्था आदि आधारभूत विश्लेषणका आधारहरू हुन् । लगानीकर्ताले उल्लेखित तत्वलाई मध्यनजर राखेर लगानीको रणनीति तय गर्न सक्नेछन् । आधारभूत विश्लेषण गरेर लगानी गर्नेहरू प्रायः सेयर बजारमा डुबेको देखिँदैन । हेर्दा झन्झटिलो र पट्यारलाग्दो भए पनि हामीले कुनै कम्पनीको वार्षिक प्रतिवेदन हेर्न पहिलाभन्दा धेरै सजिलो भएको छ र कतिपय अनुपात सोही प्रतिवेदनमा समावेश गरिएको हुनाले हामीलाई सजिलो भएको छ । जसरी हामी सामान्य मोबाइल फोन खरिद गर्नुअघि खोजीनिती गर्छौ त्यसै गरी सेयर खरिद गर्नुअघि आफूले खरिद गर्न मन लगेको कम्पनीको बारेमा अनुसन्धान गर्न जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *