इलामका गाउँगाउँमा सुविधासम्पन्न होटल खुल्दै
 
                  इलाम, १ साउन । यहाँका ग्रामीण क्षेत्रका पर्यटकीय क्षेत्रमा ठूलो लगानीमा होटल तथा कटेज खुल्न थालेका छन् । नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्यमा पर्ने अन्तुमा पर्यटकलाई लक्षित गरेर स्थानीय युवाले कटेज बनाएका छन् । स्थानीय स्रोतसाधनबाटै बनाइएको कटेजले त्यहाँ पुग्ने पर्यटकलाई सुविधा भएको छ । होमस्टे (घरबास) मात्रै रहेको अन्तुमा इलामकै केही युवा मिलेर कटेज बनाएपछि पर्यटकको आकर्षण बढेको हो ।
पाँच युवाको साझेदारीमा रु ३५ लाख लगानी गरेर कटेज निर्माण गरेको लगानीकर्तामध्येका कुमार श्रेष्ठले जानकारी दिनुभयो । “यसअघि अन्तुमा एउटा पनि कटेज थिएन”– उहाँले भन्नुभयो, “यस्तो ठाउँमा कटेज बनाउँदा राम्रो हुन्छ भनेर लगानी गरेका हौँ ।” आठ रोपनी जग्गा १५ वर्षका लागि भाडामा लिएर श्रेष्ठसहित, राजन ताम्राकार, हेमप्रसाद पौडेल, कमलप्रसाद घिमिरे र धरणीधर घिमिरेले ३५ लाखको संयुक्त लगानीमा कटेज बनाएका हुन् । कटेजमा दिनमा १० जना पर्यटक पुग्ने गरेको उहाँले बताउनुभयो ।
अहिले कटेजले रेस्टुराँ र आवास दुवै सुविधा दिँदैछ । आवासकै व्यवस्थाका लागि उहाँहरूले चियाबारीको बीचबीचमा स–साना कटेज बनाउनुभएको हो । अन्तु कटेजले ६० जनालाई त्यही अटाउने जनाएको छ । अहिले दुई रोपनीमा कटेज बनाइएको छ । बाँकी रहेको छ रोपनी क्षेत्रमा ‘फार्म हाउस’ बनाउने उहाँहरूको लक्ष्य छ ।
जिल्लामा नै सबैभन्दा धेरै पर्यटकको चहलपहल हुने कन्याम नजिकै पनि सुविधा सम्पन्न होटल बनाउन थालिएको छ । झापा दूधेका नगेन्द्र रिजालले रु चार करोडको लगानीमा होटल बनाउँदै हुनुहुन्छ । सूर्योदय नगरपालिका–११ को पाल्टाँगीमा निर्माण सुरू भएको होटल ‘स्टर्न ब्ल्यु’ यही वर्ष पूरा हुने बताइएको छ । कन्याम पर्यटकीय क्षेत्र भए पनि सुविधा सम्पन्न होटल नभएकाले आफूले होटल बनाउन थालेको रिजालको भनाइ छ । “इलामलाई पर्यटकीय क्षेत्र भनिन्छ , घुम्न पनि आउँछन्”– उहाँले भन्नुभयो, “होटल राम्रो भएन भनेर फर्किन्छन्, त्यसैले एउटा सुविधा सम्पन्न होटल बनाउन थालेको हुँ ।”
कन्याम नजिकै अर्को होटल बनाउनका लागि लगानीकर्ताले जग्गा लिएका छन् तर त्यसको निर्माण शुरू भएको छैन । पर्यटकको भीडभाड लाग्ने ठाउँमा मात्रै होइन गाउँको एकान्त ठाउँमा पनि पर्यटन लक्षित लगानी सुरू भएको छ । सन्दकपुर गाउँपालिकाको माइमझुवाका पुरन गुरूङले रु ५५ लाखको लगानीमा माइमझुवामा होमस्टे बनाउनुभएको छ ।
महिनामा आउने सरदर १०० पर्यटकमध्ये अधिकांश भारतको बंगालबाट आउने गर्छन् ।सल्लाको काठ राखेर आकर्षक कोठा तयार गरेको गुरूङको होमस्टेमा छ वटा कोठा छन् । ती कोठामा ३५ जना अटाउँछ । शैक्षिक भ्रमण, कृषि भ्रमणका लागि पर्यटक आउने गरेको उहाँले बताउनुभयो ।
इलाम सदरमुकामदेखि उत्तरमा रहेको माइपाताल गाउँमा राम्रो लगानीमा अर्को होमस्टे निर्माण भएको छ । सदरमुकाममा अग्र्यानिक क्याफे चलाउँदै आउनुभएका देउकुमार राईले माइपातालमा होमस्टे बनाउनुभएको हो । स्थानीयस्तरमा उपलब्ध बाँस–काठबाटै होमस्टे बनाउने योजना राईले सुनाउनुभयो ।
इको र एग्रो टुरिजमका लागि आफूले होमस्टे बनाउन लागेको उहाँको भनाइ छ । गाउँगाउँमा होटलमा लगानी बढ्नेक्रमसँगै सदरमुकाममा होटलमा खुलेर लगानी हुन थालेको छ । आफू बस्ने घरमा होटल सञ्चालन गरिँदै आएको इलाम सदरमुकाममा केही समययता होटलकै लागि लगानी भइरहेको छ । करिब रु तीन करोडको लगानीमा निर्माण गरिएको होटल समिटले अहिले धेरै पर्यटकलाई सुविधा दिएको होटल सञ्चालक तुलबहादुर देवानले बताउनुभयो । त्यस्तै ग्रीनभ्युले पनि सुविधा सम्पन्न होटल बनाएर सेवा दिइरहेकोे छ । रासस

 
                                             
                                             
                                             
                                             
                                             
                                             
                                            