एक वर्षमा रु. ३७ लाख नाफा

भक्तपुर, २६ भदौ । राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष सरोजकुमार शर्माले वर्तमान अवस्थामा राष्ट्रिय स्वाधीनताका लागि सहकारी अभियान आवश्यक भएको बताउनुभएको छ ।
मध्यपुर थिमिस्थित शङ्खधर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवाँै वार्षिक साधारणसभामा बोल्दै उहाँले विदेसिने युवा भन्दा स्वदेशमै लगानी गरेर उत्पादन वृद्धि गर्ने युवामा राज्यले लगानी वृद्धि गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय सहकारी विकास बोर्डका विशेषज्ञ सदस्य कैलाशभक्त प्रधानाङ्गले सरकारले संशोधन गर्न लागेको सहकारी ऐन पास भए सहकारीको विकासमा बाधा पुग्ने टिप्पणी गर्दै राष्ट्र बैंकबाट स्वीकृत गरेका सहकारीले मात्रै आद्यविक बचत गर्न पाउने व्यवस्था गर्न लागेकाले यसतर्फ सचेत हुन सम्बन्धीत सबैमा आग्रह गर्नुभयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष लक्ष्मीभक्त (राजु) श्रेष्ठले संस्थाको वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै संस्थाले यस वर्ष एक करोड ९५ लाख ५२ हजार ४०० सेयर पँुजी सङ्कलन गरेको बताउनुभयो । उहाँले संस्थाले यस आर्थिक वर्षमा २२ करोड ८७ लाख १२ हजार ३७२ रुपैयाँ निक्षेप सङ्कलन गरेको, १९ करोड ६४ लाख ६९ हजार २३२ रुपैयाँ ऋण लगानी गरेको र ३७ लाख तीन हजार २८ रुपैयाँ खुद नाफा गरेको जानकारी पनि गराउनुभयो ।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष चन्द्रमान श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका भूकम्पपीडित सदस्यलाई घर बनाउनका लागि जम्मा १० प्रतिशत ब्याजमा ऋण दिने व्यवस्था गरेर सहुलियत प्रदान गरेको बताउनुभयो ।
कार्यक्रममा संस्थाका ज्येष्ठ नागरिक ८७ वर्षीय हीरालाल श्रेष्ठ र ८६ वर्षीया लहरमाया श्रेष्ठलाई सम्मान प्रदान गरिएको संस्थाका सदस्य रत्नकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।
त्यस अवसरमा २०७२ सालको एसएलसी परीक्षामा उत्कृष्ट हुने सेयर सदस्यका छोराछोरी मध्येबाट अभिषेक श्रेष्ठ, दीपेश जोशी, स्वस्ती श्रेष्ठलाई शिक्षा सम्मान प्रदान गरिएको र उत्कृष्ट बचतकर्ताका रुपमा राजमान श्रेष्ठ, सन्दीप श्रेष्ठ, राजाराम श्रेष्ठ, सीताराम प्रजापतिलाई पनि सम्मान गरिएको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा डिभिजन सहकारी कार्यालय भक्तपुरका प्रतिनिधि कृष्णबहादुर खड्का, संस्थाका लेखा सुपरीवेक्षण समितिका संयोजक सत्यसुन्दर श्रेष्ठ लगायतले सहकारीले पुर्याएको योगदानको चर्चा गर्नुभएको थियो ।
त्यसैगरी साधारणसभाले संस्थाको अध्यक्षमा रामसुन्दर श्रेष्ठलाई सर्वसम्मत चयन गरेको छ भने संस्थाको उपाध्यक्षमा सत्यसुन्दर श्रेष्ठ, सचिवमा केशवमान श्रेष्ठ र कोषाध्यक्षमा चन्द्रमान श्रेष्ठ चयन भएको जनाएको छ ।
रासस