एक सय तीन मेगावाट विद्युत् प्रणाली बाहिर

काठमाडौँ, १५ साउन । महत्वपूर्ण तीन जलविद्युत् आयोजना बन्द हुँदा मुलुकभर विद्युत्भार कटौतीको समय घट्न सकेको छैन ।
नेपाल विद्युत् प्राधिकरणले हाल दैनिक सात घन्टा विद्युत्भार कटौती गर्दै आएको छ । गत सालको ‘गोरखा भूकम्प’का कारण क्षतिग्रस्त भएको भोटेकोसी जलविद्युत् आयोजना पछिल्लो पटक आएको बाढीका कारण थप समस्यामा परेको छ । कुल ४५ मेगावाट क्षमताको सो आयोजना डेढ वर्षदेखि बन्द रहँदै आएको छ । यस्तै नेपाल विद्युत् प्राधिकरणको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना पनि पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन । कुल १४४ मेगावाट क्षमताको सो आयोजनाबाट हाल ९६ मेगावाट मात्रै विद्युत् उत्पादन भइरहेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेका अनुसार सो आयोजनाको एउटा युनिट बन्द गर्नुपरेको छ । मर्मतसम्भार जारी रहेका कारण अझै केही दिन पूर्ण क्षमतामा विद्युत् उत्पादन हुन नसक्ने उहाँले जानकारी दिनुभयो । काफ्लेले भन्नुभयो, “कालीगण्डकीबाट ४८ मेगावाट कम उत्पादन भएको छ भने माथिल्लो भोटेकोसीको ४५ मेगावाट प्रसारण लाइनबाट बाहिर छ, यस्तै प्राधिकरणकै सुनकोसी १० मेगावाट पनि प्रणालीभन्दा बाहिर रहेको छ, यसले विद्युत्भार कटौती कम हुन सकेको छैन ।”
कालीगण्डकीमा बालुवा छान्ने ‘डिसेन्डर’ र ‘इलेक्ट्रोमेकानिकल टर्वाइन’मा समस्या आएपछि ४८ मेगावाट बिजुली उत्पादन घटेको हो । त्यस्तै ‘गोरखा भूकम्प’बाट क्षतिग्रस्त माथिल्लो भोटेकोसी बाढीले बाँधमा क्षति पु¥याएपछि ४५ मेगावाट र भोटेकोसी बाढीले सुनकोसी आयोजनामा क्षति पु¥याएपछि १० मेगावाट विद्युत् उत्पादन बन्द भएको उहाँको भनाइ छ ।
निजी प्रवद्र्धक र प्राधिकरणको सबै आयोजना पूर्ण रुपमा सञ्चालनमा ल्याउन सकिए विद्युत्भार कटौती केही कम गर्न सकिन्थ्यो तर केन्द्रीय प्रणालीमा १०३ मेगावाट विद्युत् कम छ ।
प्राधिकरणको केन्द्रीय भारप्रेषण केन्द्रका अनुसार हाल एक हजार ३२५ मेगावाट विद्युत् माग छ तर प्रणालीमा मात्रै ६९० मेगावाट विद्युत् आपूर्ति भइरहेको छ । भारतबाट आयात गरिएको र निजी क्षेत्र तथा प्राधिकरणको सबै विद्युत् जोड्दा समेत माग अनुसार विद्युत् आपूर्ति गराउन नसकिएको कार्यकारी निर्देशक काफ्लेको भनाइ छ ।
कालीगण्डकीको मर्मत साउन अन्तिमसम्म सकिने बताइए पनि भोटेकोसी र सुनकोसीमा बाढीले थप क्षति पु¥याएपछि अनिश्चित हुन पुगेको छ । कालीगण्डकीमा डिसेन्डर, इलेक्ट्रोमेकानिकलका अतिरिक्त सिभिलतर्फको डिजाइनमा समस्या देखिएकाले जापानको तोसिबा कम्पनीका प्राविधिकले मर्मत गरिरहेको प्राधिकरणले जनाएको छ ।
त्यस्तै माथिल्लो भोटेकोसीमा पुनःनिर्माण काम हुँदाहुँदै बाढीले बाँध पुरेको छ । त्यस्तै महत्वपूर्ण संरचनामा क्षति पुगेकाले काबु बाहिरको अवस्था उत्पन्न भएको भोटेकासी पावर कम्पनीले जनाएको छ । मर्मतका लागि रु दुई अर्ब ५० करोड लगानी गरेर आगामी मङ्सिरसम्म आयोजना सञ्चालनमा ल्याउने तयारी गरिए पनि बाढीले बाँध तथा अन्य संरचनामा समेत क्षति गरेपछि लगानी बढ्ने देखिएको छ ।
प्राधिकरणको स्वामित्वमा रहेको सुनकोसी जलविद्युत् आयोजना पनि बाढीले क्षति पुरयाउँदा उत्पादन बन्द गरिएको छ । आयोजनाको सामान्य मर्मत सुरु गरिएको भए पनि कहिलेदेखि सञ्चालनमा आउँछ भन्न सकिने अवस्था छैन । सुनकोसी जलविद्युत् केन्द्रका प्रमुख सुरज दाहालले मर्मतको सामान्य काम सुरु भएको बताउनुभयो । भारतबाट मात्रै थप ३०० मेगावाट विद्युत् आयात भए पनि १०३ मेगावाट विद्युत् प्रणालीबाट बाहिर रहेको र अन्य आयोजना पनि बाढीपहिराका कारण पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन नसकिएका कारण विद्युत्भार कटौतीको समय घटाउन असम्भव रहेको प्राधिकरणको भनाइ छ । रासस