करोड क्लबमा जात्रा

काठमाडौँ, २ मङ्सिर । चलचित्र जात्रा करोड क्लबमा प्रवेश गरेको छ । प्रदर्शनमा आएको एक साता नपुग्दै जात्रा करोड क्लबमा प्रवेश गरेको हो । चर्चा र लोकप्रियता कमाइरहेको जात्राले बुधबार बेलुकासम्म १ करोड ५ सय रुपैँया ग्रस कलेक्सन गरेको फिल्म वितरक माधव वाग्लेले जानकारी दिएका छन् । मल्टिप्लेक्स हलहरुमा जात्राको शो थपिएको पनि उनले बताएका छन् । थपिएका शोहरुमा पनि दर्शकको गतिलो उपस्थिति रहेको निर्माता एवं कलाकार रविन्द्र सिंह बानीयाँको भनाई छ । दोश्रो सातामा प्रवेश गर्न लागेको बेलामा शोहरु थपीनुका साथै दर्शकको उपस्थिति बाक्लीँदै गरेकाले फिल्म निर्माण टोली उत्साहित रहेको उनले बताएका छन् ।
समिक्षकहरुबाट समेत गतिलो प्रशंसा बटुलेको जात्रालाई मह सञ्चारमा लामो समय काम गरेका निर्देशक प्रदिप भट्टराईले निर्देशन गरेका हुन् । विपिन कार्की, वर्षा राउत, रविन्द्र सिंह बानीयाँ, रविन्द्र झा, प्रेक्षा बज्राचार्यलगायतको अभिनय रहेको फिल्म भोलीदेखि दोश्रो सातामा प्रवेश गर्दैछ ।