कृषि व्यवसायबाट वार्षिक पन्ध्र लाख कमाइ

Post Date : June 13, 2016 | 12:53 pm

रामपुर (पाल्पा), ३१ जेठ । उमेरले ७० वर्ष पुग्दा पनि खिमानन्द पोखरेलको कृषि व्यवसायप्रतिको मोह झन झन बढ्दैछ । फुर्तिला पोखरेलले तरकारी, फलफूल र पशुपालन व्यवसायबाट वार्षिक रु १५ लाख बढी आम्दानी गर्नुहुन्छ ।

जिल्लाको पश्चिमी भेगमा अवस्थित देउराली–७ का कृषक पोखरेलले विसं २०५१ मा पाँच रोपनी जग्गाबाट सुरु गरेको तरकारी व्यवसाय अहिले १३ रोपनीमा विस्तार गर्नुभएको छ । उहाँले तरकारी बिक्री गरी गत वर्ष रु सात लाख आम्दानी गर्नुभयो । पोखरेलले चार सय बोट केरा, सुन्तला, मौसम, कागती लगाएर खाली जग्गालाई हराभरा पार्नुभएको छ ।

“फलफूलबाट वार्षिक रु दुई लाख बढी आम्दानी हुन्छ,” उहाँले भन्नुभयो । उहाँले पशु फार्म समेत सञ्चालन गर्नुभएको छ । उक्त फार्ममा हाल १२ वटा उन्नत जातका गाई, तीन वटा लैनो भैँसी छन् । दैनिकजसो ४० देखि ५० लिटरसम्म दूध उत्पादन गरी उहाँले मासिक रु ६० हजारदेखि रु ७० हजार आम्दानी गर्दै आउनुभएको छ ।

“गाउँको खेतीयोग्य जग्गा छोडेर सहर पस्ने लहर चलेको छ, गाउँ छोड्ने र विदेशिनेलाई गाउँमै लाखौँ रुपैयाँ कमाउन सकिने बाटो देखाउन यो व्यवसाय गरेको हुँ,” उहाँले भन्नुभयो । पोखरेलले तरकारी, फलफूल र पशुपालनसँगै अहिले धान र तोरी खरिद गरी गाउँमै बिक्री गर्दै आउनुभएको छ । उहाँको कृषि व्यवसायबाट चार जनाले रोजगारी पाएका छन् ।

“सहरमा एक आना जग्गा किन्न लाखौँ रुपैयाँ तिर्नु पर्छ, गाउँमा न्यून मूल्यमा सयौँ रोपनी जग्गा पाइन्छ, त्यही जग्गामा व्यवसाय गरेर लाखौँ कमाउन सकिने प्रशस्त सम्भावना छ,” उहाँले भन्नुभयो । गाउँकै जग्गालाई सदुपयोग गर्दै कृषि उत्पादनमा जोड दिन सके खेर गएका पाखा पखेराबाट लाखौँ आम्दानी गर्न सकिने पोखरेल बताउनुहुन्छ । दिनहुँ बढ्दो सङ्ख्यामा खाडी मुलुक विदेशिने युवालाई कृषिमा आकर्षित गराउन आफूले व्यवसाय गर्दैआएको उहाँको भनाइ छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *