कोटेश्वर–कलङ्की सडक निर्माण नसकिँदा स्थानीय हैरान
ललितपुर, ३० कात्तिक । बिरामी छोरीलाई जचाउन पाटन अस्पताल लैजान लाग्नुभएकी जडीबुटीकी सीता न्यौपाने झन्डै डेढ घन्टासम्म बालकुमारीमा ट्राफिक जाममा पर्नुभयो ।
कोटेश्वरस्थित कार्यालय जानका लागि दैनिक माइतीघर घुम्ने गरेको सातदोबाटोका प्रकाश रानाले भन्नुभयो, ‘एकातिर जाममापर्ने चिन्ता र अर्कातिर चक्रपथमा उड्ने धुलोका कारण म दोब्बर लामो बाटो हुँदै दैनिक कार्यलय पुग्छु’ ।
झन्डै चारवर्ष पहिले सुरु भएको चक्रपथ अन्तर्गतको कोटेश्वर–कलङ्की सडक निर्माण नसकिँदा सीता र प्रकाश जस्तै धेरै स्थानीयवासी हैरान भएका छन् । काठमाडौँ र ललितपुर जिल्लालाई समेटेको चक्रपथको बढी भाग ललितपुर जिल्लामा पर्छ ।
ललितपुर जिल्लामा चक्रपथ अन्तर्गतपर्ने पूरै सडक अहिले अस्तव्यवस्त छ । बिहानदेखि बेलुका जुनसुकै समयमा आवतजावत गर्न गाह्रो भए पनि कार्यलय समयमा सडक अस्तव्यस्त हुने राना बताउनुहुन्छ । मोटरसाइकल चालकलाई धुलोका कारण ओहोरदोहोर गर्न समेत कठीन छ । उहाँ भन्नुहुन्छ, ‘सवारी चाप अति भएको सडक भए पनि सडक चिन्ह नहुँदा दुर्घटनाको समेत उतिकै डर छ ।’ सातदोबाटोबाट कोटेश्वर जान वैकल्पिक सडकका रुपमा जावलाखेल–माइतीघर सडक छ । यो सडक लामोहुनुका साथै थापाथलीमा पनि दैनिक जाम हुने समस्या छ ।
निर्माणाधीन यही सडक अन्तर्गत बल्खु क्षेत्रमा समेत दैनिक जाम हुने गरेको छ । ठीक समयमा निस्कदा कलेज नै ढिला पुगेको अनुभव पाटन क्याम्पसमा अध्ययनरत कलङ्कीकी विद्या महतले सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘कलङ्कीबाट लगनखेल पुग्न पनि डेढदुुई घन्टा पहिले निस्कनुपर्ने अवस्था छ ।’ पूर्व जाने ठूला बस यही सडक हुँदै जाने भएकाले साँझको समयमा दैनिक जाम हुने गरेको छ ।
‘सडकका कारणले नागरिक मात्रै नभएर ट्राफिक प्रहरी समेत पीडित छन्।’ महानगरीय ट्राफिक प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी निरीक्षक सीताराम हाछेथु भन्नुहुन्छ, ‘यो सडकखण्डमा धुवाँ र धुलोले गर्दा काममा खटिएका टाफिक प्रहरी समेत हैरान भएका छन् ।’
काममा निस्कँदा सुकिलो लुगा लगाएर चिटिक्क परेको प्रहरी जवान बेलुका फर्कदासम्म चिन्नै नसक्ने अवस्थामा पुग्छ । धुलोले गर्दा ट्राफिक प्रहरीमा धेरै खालका स्वास्थ्य समस्या समेत देखिन थालेको छ । उहाँ भन्नुहुन्छ, ‘दैनिक झन्डै दुईजना ट्राफिक प्रहरी प्रदुषणका कारणले बिरामी परिरहेका छन् ।’
काठमाडौँ चक्रपथ सुधार आयोजनाले कलङ्की– कोटेश्वर सडक निर्माणको झन्डै ४८ प्रतिशत काम सकिएको बताएको छ । आयोजनाका इञ्जिनियर रमेश दृष्टिले सन् २०१७ को जुलाइसम्ममा सडक सम्पन्न लक्ष्य रहेको जानकारी दिनुभयो । चिनियाँ सहयोगमा निर्माण भइरहेको यो सडक पहिले सन् २०१६ को जनवरीसम्म सक्ने गरी सम्झौता भएको थियो । भूकम्प, नाकाबन्दी र इन्धन अभावले गर्दा केही समय ढिलाइ भएको उहाँले बताउनुभयो ।
आगामी वर्षको वर्षा पहिले पाँच किलोमिटर सडक कालोपत्रे हुने गरेर काम भइरहेको छ । अझै पनि कतिपय कार्यलयसँग समन्वय हुननसक्दा काममा ढिलाइ भएको छ । उहाँले भन्नुभयो, ‘बिजुलीको खम्बा हटाउन हामीले पटक÷पटक पत्राचार गरेका छौं, तर काम भएको छैन ।’ (सञ्चिता घिमिरे) रासस