क्युबामा करको दरमा वृद्धि
 
                  हवाना, १८ भदौ । क्युबामा करको दरमा केही वृद्धि गरिएको र राष्ट्रिय सुरक्षाको ढाँचामा सुधार गरिएको स्थानीय सञ्चार माध्यमहरुले जानकारी दिएका छन् ।
यसबाट सार्वजनिक सेवामा कार्यरत करिब १५ लाख कर्मचारीले थप कर भार बहन गर्नु पर्दा प्रत्यक्ष प्रभावित हुनेछन् ।
तत्कालै लागू भएको करको नयाँ दर अनुसार सार्वजनिक सेवामा कार्यरत कर्मचारीहरुले आफ्नो आम्दानीको केही थप अंश राज्यलाई करको रुपमा बुझाउनुपर्नेछ ।
एक क्युबाली दैनिक पत्रिका “ग्रान्मा”का अनुसार करको परिवर्तित दरमा मासिक ५०० देखि दुई हजार ५०० क्युबाली मुद्रा पेसो (लगभग २० देखि १०० अमेरिकी डलर) सम्म आर्जन गर्ने कर्मचारीले पाँच प्रतिशत सामाजिक सुरक्षा कर तिरेपुग्छ भने मासिक दुई हजार ५०० भन्दा माथिको रकम आर्जन गर्नेले उक्त पाँच प्रतिशत सामाजिक सुरक्षा करका अतिरिक्त तीन देखि पाँच प्रतिशतसम्म थप आयकरसमेत तिर्नुपर्ने छ ।
सरकारी परिभाषामा सामाजिक सुरक्षा करलाई राष्ट्रिय सामाजिक सुरक्षामा कर्मचारीको विशेष योगदान मानिएको बताइएको छ ।
सार्वजनिक सेवाका कर्मचारीहरुको सेप्टेम्बर महिनाको तलब, भत्ता आर्जनदेखि नै पे रोलबाटै सामाजिक सुरक्षा कर र आयकर प्रत्यक्ष कट्टागरी राजश्वमा जम्मा गरिने सहायक अर्थमन्त्री मेइसि बोलानोजले बताएका छन् ।
त्यस्तै, श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत रहेको श्रम तथा पारिश्रमिक व्यपस्थापन बिभागका निर्देशक गुलेर्मो सार्मिएन्टोका अनुसार वृद्धि भएको सामाजिक सुरक्षा करको दरले क्युबाको सामाजिक सुरक्षा सञ्जाल बलियो पार्न र पेन्सनबाट जीविका धान्ने लगभग १७ लाख भूतपूर्व कर्मचारीको आर्थिक स्थितिमा केही सुधार गर्न मद्धत पुग्नेछ । रासस/सिन्ह्वा

 
                                             
                                             
                                             
                                             
                                             
                                             
                                            