खेर जाने सिस्नोबाट आम्दानी
बागलुङ, १९ जेठ । घरगाउँमा त्यसै खेर जाने सिस्नो आम्दानीको स्रोत बनेको छ ।
सिस्नोको धुलो बेचेर महिलाले मनग्य कमाइ गरेका छन् । जिल्लाको निसी–४ मा सिस्नोकोे धुलो बनाउने उद्योग खोलिएको छ । डेढ वर्षको अवधिमा ३०० किलोभन्दा बढी सिस्नोको धुलो बिक्री भएको छ ।
उक्त धुलो बेचेर रु दुई लाख जति आम्दानी भएको निशी लघुउद्यम सिस्नो ‘पाउडर’ उद्योगका अध्यक्ष महेन्द्रकुमारी घर्तीमगरले बताउनुभयो । “धेरै ठाउँबाट माग आएको छ, पुरयाउन सकेका छैनौँ,” उहाँले भन्नुभयो– “काठमाडौँमा यसको अत्यधिक माग छ ।” धुलो खाद्य विभागमा प्रयोगशाला परीक्षणपछि गुणस्तर मापन गरेर बजारमा पठाइएको उहाँले बताउनुभयो ।
उद्योगमा १५ जना महिलाको साझेदारी छ । विसं २०७१ वैशाखामा बहुसरोकारवाला वन कार्यक्रमबाट उद्योग सञ्चालनको लागि महिलाले यन्त्र पाएका थिए । एक महिने तालिमपछि महिलाले सिस्नोको धुलो बनाउन सिकेका हुन् । “गाउँघर र वनक्षेत्रमा त्यत्तिकै खेर जाने सिस्नाको धुलोको यस्तो मूल्य हुन्छ भन्ने हामीलाई थाहै थिएन,” उद्योगका अध्यक्ष घर्तीमगरले भन्नुभयो– “अहिले बजारको मागसमेत धान्न सकिएको छैन ।”
उद्योगको क्षमता र लगानी बढाउन सके माग पुरयाउन सकिने उहाँको भनाइ छ । सिस्नो टिपेर सुकाएपछि यन्त्रमा राखी पिँध्ने गरिएको छ । धुलोको ‘ग्रडिङ’ भएपछि ‘प्याकेजिङ’ गरेर बेच्ने गरिएको छ । उद्योगको नाममा ‘प्याकेजिङ’को समेत व्यवस्था गरिएको छ । पहिले त्यत्तिकै कागजमा राखेर बेच्ने गरिएको सिस्नोको धुलो अहिले आकर्षक ‘प्याकेट’ मा बजारमा पुग्ने गरेको छ ।
दुई सय ग्रामका ‘प्याकेट’ बागलुङमा रु १२० मा बिक्री भइरहेका छन् । पोखरा, काठमाडौँमा त्यो मूल्य केही बढ्ने उद्यमी बताउँछन् । अध्यक्ष घर्तीमगरका अनुसार काठमाडौँमा प्रति २०० ग्राम रु १५० मा बिक्री हुने गरेको छ । रासस