झण्डै साढे चार लाख अनुदान सम्झौता
काठमाडौँ, ४ असोज । भूकम्पबाट अतिप्रभापति १२ जिल्लाका चार लाख ४७ हजार ३५९ घरधुरीसँग आवास पुनःनिर्माणका लागि अनुदान सम्झौता भएको छ ।
भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनःनिर्माणको क्रममा रहेका लाभग्राहीलाई बैंकमार्फत अनुदान हस्तान्तरण गर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाह?सँग सम्झौता भइसकेको र तीमार्फत लाभग्राहीलाई अनुदान रकम हस्तान्तरण गरिने सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
मन्त्रालयका प्रवक्ता सीता परियारका अनुसार अनुदान सम्झौता हुने भूकम्पपीडित गोरखा, सिन्धुपाल्चोक, रामेछाप, धादिङ, नुवाकोट, ओखलढुङ्गा, काभ्रेपलाञ्चोक, सिन्धुली, रसुवा, मकवानपुर, दोलखा र ललितपुरका रहेका छन् ।
त्यसैगरी हालसम्म प्रथम किस्ता भुक्तानी भएको घरधुरीको सङ्ख्या तीन लाख ७५ हजार ७१५ रहेको र गुनासो दर्ता १६ लाख ४६ हजार ८५ वटा रहेको मन्त्रालयका सहायक प्रवक्ता परियारले जानकारी दिनुभयो । रासस