डिजाइन रिभ्यूले अड्कियो मेची पुल

बनियानी (झापा), १० माघ । झापाको भद्रपुरस्थित मेची पुलको पिलरको डिजाइन–रिभ्यू सडक विभागले नपठाउँदा निर्माण कार्य अघि बढ्न सकेको छैन ।
पुलका १७ पिलरमध्ये दुईवटा माटोमुनि धसाउने क्रममा केही बाङ्गिएपछि सडक विभाग र हुलाकी राजमार्ग आयोजनाका इन्जिनियर लगायतका टोलीले एक वर्षअघि पुलको स्थलगत अनुगमन गरी डिजाइनिङ रिभ्यू गर्नुपर्ने निष्कर्ष निकालेर फर्किएको थियो ।
सडक विभागले सो डिजाइन हालसम्म पनि उपलब्ध नगराउँदा पुल निर्माण कार्य अघि बढ्न नसकेको हो ।
पुलको ९२ प्रतिशत काम पूरा भए पनि डिजाइन रिभ्यूले गर्दा निर्माण अघि बढ्न नसकेको निर्माण कम्पनी अनक एन्ड सूर्य कन्स्ट्रक्सन (जेभी)का इन्जिनियर सुरेन्द्र खतिवडाले बताउनुभयो । विभागले पुलको दुईवटा पिलरको डिजाइन रिभ्यू तत्काल पठाइदिए वैशाख अन्तिमसम्ममा पुल निर्माण सम्पन्न हुन्थ्यो उहाँले भन्नुभयो ।
“दुईवटा पिलर र फिनिसिङको काम मात्र बाँकी छ”, इन्जिनियर खतिवडाले भन्नुभयो, “विभागले डिजाइन दिएर काम गर्ने अनुमति दिए तीन महिनाभित्र पुल निर्माण हुन्छ ।” रु ३९ करोड ३६ लाखको लागतमा पाँच सय ६० मिटर लम्बाइ र ११ मिटर चौडाइको यो पुलको बीचको एक सय पाँच मिटर खण्डमा पर्ने १० र ११ नम्बरको पिलर केही बाङ्गिएको छ । हाल ४८ वटा स्ल्याबको काम सकिएको र १६ वटा स्ल्याबको काम बाँकी छ ।
पूर्वतर्फ तीन सय ५० मिटरमा काम भइसकेको छ भने पश्चिमतर्फ ७० मिटरमा काम चालु छ । पुलको उत्तर–दक्षिण दुवैतर्फ तटबन्धको काम पनि सकिएकोे छ । पश्चिम किनारको उत्तरतर्फ तीन सय ५० मिटर र दक्षिणतर्फ दुई सय मिटरमा तटबन्धसँगै पुलको पङ्खा निर्माणको काम धमाधम भइरहेको इन्जिनियर खतिवडाले बताउनुभयो ।
डिजाइन रिभ्यूका बारेमा इटहरीस्थित हुलाकी राजमार्ग आयोजनाका प्रमुख शैलेन्द्रमणि त्रिपाठीसंग बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।
तत्कालीन उपप्रधान एवम् भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदारले २०६६ माघ २१ गते सो पुल शिलान्यास गर्नुभएकामासात वर्ष बित्न लाग्दा पनि पुलको निर्माण कार्य सम्पन्न हुन सकेको छैन । रासस