दक्षिण भारतमा तातो हावाबाट सत्तरीको ज्यान गयो
Post Date : April 7, 2016 | 9:45 am

नयाँ दिल्ली, २५ चैत । गत केही दिनयता दक्षिणी भारतीय राज्य तेलाङ्गानामा तातो हावाबाट कम्तीमा ७० व्यक्तिको मृत्यु भएको छ । एक वरिष्ठ सरकारी अधिकारीले बिहीबार सो जानकारी दिनु भएको छ ।
यस प्रकोपबाट सो राज्यको मेहबुबनगर जिल्लामा सबभन्दा बढी व्यक्तिले ज्यान गुमाएका बताइएको छ ।
यसप्रकार तातो हावाबाट ज्यान गुमाउनेहरुमा खुल्ला आकाशमुनि काम गर्ने श्रमिक र कृषिजन्य कामको लागि भूमिमा काम गर्ने व्यक्ति रहेका अधिकारीले थप जानकारी दिनु भएको छ ।
आगामी दिनका मौसममा तातोपन अझै बढ्ने मौसम विज्ञहरुको अनुमान रहेको हुनाले बिनाकाम तातो घाम बाहिर नजानसमेत सरकारद्वारा सर्वसाधारणलाई आग्रह गरिएको छ ।
सन् २०१५ मा पनि भारतको तेलाङ्गाना र छिमेकी पर्ने राज्य आन्ध्र प्रदेशमा तातो हावाबाट पाँच सयभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । रासस/सिन्ह्वा