देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति
(आर्थिक वर्ष २०७२/७३ को नौ महिनाको तथ्याङ्कमा आधारित)
आर्थिक परिदृश्य
केन्द्रीय तथ्याङ्क विभागले हालै सार्वजनिक गरेको राष्ट्रिय लेखाको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७२/७३ मा देशको कुल गार्हस्थ्य उत्पादन आधारभूत मूल्यमा ०.७७ प्रतिशतको सीमान्त वृद्धि हुने प्रारम्भिक अनुमान रहेको छ । खासगरी भूकम्प पश्चात पूनर्निर्माणको कार्यले अपेक्षित गति लिन नसकेको र बन्द हड्ताल तथा सीमानाकामा भएको अवरोधले आर्थिक वृद्धिदर लक्षित ६ प्रतिशतको तुलनामा सीमान्त रहने देखिएको हो ।
प्रतिकूल मौसमको कारण चालू आर्थिक वर्षमा कृषि क्षेत्रको वृद्धिदर १.३ प्रतिशत रहने प्रारम्भिक अनुमान रहेको छ । गत वर्ष पनि यो क्षेत्रको वृद्धिदर ०.८ प्रतिशत रहेको संशोधित अनुमान छ ।
चालू आर्थिक वर्षमा औद्योगिक क्षेत्रको उत्पादनमा ६.३ प्रतिशतले संकुचन आएको प्रारम्भिक अनुमाने छ । चालू आर्थिक वर्षमा खासगरी अत्यावश्यक ईन्धन तथा कच्चा पदार्थको आपूर्तिमा आएको गम्भीर असहजताका कारण औद्योगिक क्षेत्रको उत्पादन नराम्ररी प्रभावित भएकोे छ । गत वर्ष यो क्षेत्रको वृद्धिदर १.५ प्रतिशत रहेको संशोधित अनुमान छ ।
विगतमा सन्तोषजनक वृद्धि हुँदै आएको सेवा क्षेत्रमा समेत चालू आर्थिक वर्षमा शिथिलता आई २.७ प्रतिशतले मात्र वृद्धि भएको प्रारम्भिक अनुमान रहेको छ । गत वर्ष सेवा क्षेत्रको वृद्धिदर ३.६ प्रतिशत रहेको संशोधित अनुमान छ ।
चालू आर्थिक वर्षमा गार्हस्थ्य बचतमा शिथिलता र उपभोगमा बढोत्तरी आएको अनुमान छ । कुल गार्हस्थ्य उत्पादनमा उपभोगको अनुपात गत आर्थिक वर्षमा ९१.२ प्रतिशत रहेको तुलनामा चालू आर्थिक वर्षमा यो अनुपात बढी ९४.७ प्रतिशत पुगेको अनुमान छ । तथापि, चालू खाता उच्च बचत रहेको कारण कुल गार्हस्थ्य उत्पादनमा कुल राष्ट्रिय बचतको अनुपात भने ४३.१ प्रतिशत कायम रहने अनुमान छ ।
मुद्रास्फीति र तलब तथा ज्यालादर
उपभोक्ता मुद्रास्फीति
क्रमिक रुपमा सुधारोन्मुख रहेको उपभोक्ता मुद्रास्फीति २०७२ पुस महिनाको उच्च विन्दु १२.१ प्रतिशतबाट २०७२ चैतमा ९.७ प्रतिशतमा झरेको छ । दक्षिणी सीमाका भन्सार नाकाहरुको अवरोध सहज हुँदै गएबाट इन्धन लगायत उपभोग्य वस्तुहरुको आपूर्ति सामान्यीकरण हँुदै गएकोले २०७२ पुसदेखि उपभोक्ता मुद्रास्फीति ओरालो लाग्ने क्रममा रहेको छ । वार्षिक विन्दुगत आधारमा २०७२ चैतमा खाद्य तथा पेय पदार्थ समूहको मूल्य सूचकाङ्क वृद्धिदर ९.३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्य सूचकाङ्क वृद्धिदर १० प्रतिशत रहेको छ ।
समीक्षा अवधिमा दलहन तथा गेडागुडीको मूल्य २६.८ प्रतिशत र मसलाको मूल्य १५.९ प्रतिशतले बढेको छ । त्यसैगरी, घ्यू तथा तेल र लत्ता कपडा तथा जुत्ताको मूल्यमा क्रमशः १५.५ प्रतिशत र १५.३ प्रतिशतले वृद्धि भएको छ ।
क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा अवधिमा काठमाडौं उपत्यकामा उपभोक्ता मुद्रास्फीति ११.७ प्रतिशत, पहाडमा १० प्रतिशत, तराईमा ८.३ प्रतिशत र हिमालमा ८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा मूल्य वृद्धिदर काठमाडौं उपत्यकामा ६.५ प्रतिशत, पहाडमा ७.४ प्रतिशत र तराईमा ६.८ प्रतिशत रहेको थियो ।
नेपाल र भारत बीचको उपभोक्ता मुद्रास्फीति अन्तर
२०७२ को चैत महिनामा भारतको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.४ प्रतिशत रहेको तुलनामा नेपालको मुद्रास्फीति निरन्तर उच्च रहँदै ९.७ प्रतिशत पुगेको छ । समीक्षा अवधिमा यी दुई मुलुक बीचको उपभोक्ता मुद्रास्फीति अन्तर ४.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाल तथा भारतमा यस्तो मुद्रास्फीति क्रमशः ६.९ प्रतिशत र ४.९ प्रतिशत रहेकोले दुई मुलुक बीचको उपभोक्ता मुद्रास्फीति अन्तर २ प्रतिशत रहेको थियो । २०७२ वैशाखमा गएको विनाशकारी भूकम्पको अन्तराल प्रभाव, तराईको आन्दोलन र दक्षिणका व्यापार नाकाहरुमा भएको अवरोधका कारण नेपाल र भारत बीच मुद्रास्फीति दरको अन्तरमा केही वृद्धि हुन गएको देखिएतापनि क्रमिक रुपमा सुधारोन्मुख अवस्थामा रहेको छ ।
थोक मुद्रास्फीति
२०७२ को चैत महिनामा वार्षिक विन्दुगत थोक मुद्रास्फीति दर ५.५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ५.३ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा थोक मूल्य अन्तर्गत कृषिजन्य वस्तुहरुको मूल्य सूचकाङ्क ९.२ प्रतिशतले र स्वदेशमा उत्पादित वस्तुहरुको मूल्य सूचकाङ्क ६.२ प्रतिशतले वृद्धि भएको छ भने आयातीत वस्तुहरुको मूल्य सूचकाङ्क २.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा कृषिजन्य वस्तुहरुको मूल्य सूचकाङ्क ९ प्रतिशतले र स्वदेशमा उत्पादित वस्तुहरुको मूल्य सूचकाङ्क ४.७ प्रतिशतले वृद्धि भएको थियो भने आयातीत वस्तुहरुको मूल्य सूचकाङ्क १.६ प्रतिशतले घटेको थियो ।
राष्ट्रिय तलब तथा ज्यालादर सूचकाङ्क
समीक्षा अवधिमा वार्षिक विन्दुगत राष्ट्रिय तलब तथा ज्यालादर सूचकाङ्कमा ५.१ प्रतिशतको न्यून दरले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सूचकाङ्क ७.१ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा तलब सूचकाङ्कमा ०.८ प्रतिशत र ज्यालादर सूचकाङ्कमा ६.२ प्रतिशतले वृद्धि भएको छ । तलब अन्तर्गत बैंक तथा वित्तीय संस्था, शिक्षा र सार्वजनिक संस्थान उप–समूहहरुको तलब सूचकाङ्क क्रमशः २.३ प्रतिशत, १.५ प्रतिशत र ०.७ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, ज्यालादर अन्तर्गत निर्माण मजदुर, कृषि मजदुर र औद्योगिक मजदुरको ज्यालादर सूचकाङ्क क्रमशः ११.७ प्रतिशत, ६.४ प्रतिशत र ३.९ प्रतिशतले वृद्धि भएको छ ।
बाह्य क्षेत्र
वैदेशिक व्यापार
आर्थिक बर्ष २०७२/७३ को नौ महिनामा कुल वस्तु निर्यात २३.४ प्रतिशतले ह्रास आई रु. ४९ अर्ब २४ करोडमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ५.६ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा भारततर्फ ३३.४ प्रतिशत, चीनतर्फ ४१.३ प्रतिशत र अन्य मुलुकतर्फ १.५ प्रतिशतले निर्यात घटेको छ । वस्तुगत आधारमा भारततर्फ जिङ्क शीट, जि.आई. पाइप, जुस, लत्ताकपडा लगायतका वस्तुहरु, चीनतर्फ प्रशोधित छाला, चाउचाउ, तयारी पोसाक लगायतका वस्तुहरु र अन्य मुलुकतर्पm दाल, प्रशोधित छाला, छालाका तयारी सामान, चिया लगायतका वस्तुहरुको निर्यात घटेकोे छ ।
समीक्षा अवधिमा कुल वस्तु आयात ९.९ प्रतिशतले घटेर रु. ५१९ अर्ब ९७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १०.५ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा चीनबाट भएको आयात २.८ प्रतिशतले बढेको छ भने भारत र अन्य मुलुकबाट भएको आयात क्रमशः १४.३ प्रतिशत र ५.५ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा रासायनिक मल, दुरसञ्चारका उपकरण तथा पाटर््स, तयारी पोसाक लगायतका वस्तुको चीनतर्फबाट हुने आयात बढेको छ भने भारततर्फबाट पेट्रोलियम पदार्थ, एम.एस.विलेट, रासायनिक मल, मेसिनरी तथा पाटपूर्जा लगायतका वस्तुहरु र अन्य मुलुकबाट चाँदी, खाने तेल, कच्चा पाम तेल, सुपारी लगायतका वस्तुहरुको आयात घटेको छ ।
भन्सार नाकाका आधारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र वीरगञ्ज सुख्खा वन्दरगाहबाट भएको निर्यातमा वृद्धि भए तापनि अन्य भन्सार नाकाहरुबाट भएको निर्यातमा कमी आएको छ । त्यसैगरी, आयाततर्फ समीक्षा अवधिमा मुलुकको प्रमुख व्यापारिक नाका वीरगञ्ज भन्सार नाकाबाट हुने आयातमा कमी आएको छ भने अन्य नाकाबाट भएको आयातमा वृद्धि भएको छ । तातोपानी भन्सार नाकाबाट हुने व्यापार अझै सुचारु हुन सकेको छैन ।
समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा ८.२ प्रतिशतले घटी रु. ४७० अर्ब ७३ करोडमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यापार घाटा १२.९ प्रतिशतले बढेकोे थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ११.१ प्रतिशत रहेको थियो ।
निर्यात आयात मूल्य सूचकाङ्क
आर्थिक वर्ष २०७२/७३ को नौ महिनामा भन्सार तथ्याङ्कमा आधारित निर्यातको एकाई मूल्य सूचकाङ्क (Unit Value Index) वार्षिक विन्दुगत आधारमा १९.२ प्रतिशतले वृद्धि भएको तर आयात मूल्य सूचकाङ्कमा ४.३ प्रतिशतले कमी आएकोले व्यापारको शर्त (Terms of Trade) मा २४.५ प्रतिशतले सुधार भएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो अनुपात १८.२ प्रतिशतले बढेको थियो । अलैंची, यार्सागुम्बा निर्यात मूल्यमा वृद्धि भएको कारण निर्यात मूल्य सूचकाङ्कमा वृद्धि भएको हो भने पेट्रोलियम पदार्थहरुको मूल्यमा कमी आएको कारण समीक्षा अवधिमा आयात मूल्य सूचकाङ्कमा कमी आएको हो ।
सेवा
समीक्षा अवधिमा कुल सेवा आयमा ८.४ प्रतिशतले कमी आएको र कुल सेवा खर्च ०.२ प्रतिशतले वृद्धि भएको कारण खुद सेवा आय बचत ६१.१ प्रतिशतले घटेर रु. ५ अर्ब ९५ करोडमा खुम्चिएको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु. १५ अर्ब ३१ करोडले बचतमा रहेको थियो ।
विप्रेषण आप्रवाह
समीक्षा अवधिमा विप्रेषण आप्रवाह १३ प्रतिशतले वृद्धि भई रु. ४८१ अर्ब ६९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७.१ प्रतिशतले वृद्धि भएको थियो । विप्रेषण आप्रवाहमा भएको वृद्धिका कारण खुद ट्रान्सफर आय १६.५ प्रतिशतले वृद्धि भई रु. ५६२ अर्ब ९१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ४.१ प्रतिशतले बढेको थियो ।
विपे्रषण आप्रवाहलाई प्रत्यक्ष प्रभाव पार्ने वैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्यामा भने कमी आएको छ । अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या आर्थिक वर्ष २०७२/७३ को नौ महिनामा गत वर्षको सोही अवधिको तुलनामा २५.२ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १६.७ प्रतिशतले बढेको थियो ।
चालू खाता एवं शोधनान्तर स्थिति
अघिल्लो वर्षको पहिलो नौ महिनामा रु. २१ अर्ब ६८ करोडले बचतमा रहेको चालू खाता समीक्षा अवधिमा रु. १३३ अर्ब १९ करोडले बचतमा रहेको छ । त्यसैगरी, अघिल्लो वर्षको पहिलो नौ महिनामा रु. ४९ अर्ब ४० करोडले बचतमा रहेको समग्र शोधनान्तर समीक्षा अवधिमा रु. १६३ अर्ब ८१ करोडले बचतमा रहेको छ । समीक्षा अवधिमा पूँजीगत ट्रान्सफर रु. १० अर्ब ८२ करोड र प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह रु. ४ अर्ब १९ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पूँजीगत ट्रान्सफर रु. ८ अर्ब ७७ करोड र प्रत्यक्ष वैदेशिक लगानी रु. २ अर्ब ८९ करोड रहेको थियो ।
नेपाल राष्ट्र बैंकबाट लिइएको स्वीकृतिका आधारमा समीक्षा अवधिमा प्रत्यक्ष वैदेशिक लगानीमा रु. ६ अर्ब १२ करोड लाभांश भुक्तानी भएको छ । गत आर्थिक वर्षमा प्रत्यक्ष वैदशिक लगानीको लाभांश स्वरुप रु. ७ अर्ब २१ करोड भुक्तानी भएको थियो ।
विदेशी विनिमय सञ्चिति
कुल विदेशी विनिमय सञ्चिति २०७२ असार मसान्तको रु. ८२४ अर्ब ६ करोडबाट २२.३ प्रतिशतले वृद्धि भई २०७२ चैत मसान्तमा रु. १००७ अर्ब ६१ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७२ असार मसान्तको तुलनामा २०७२ चैत मसान्तमा २२.६ प्रतिशतले वृद्धि भई रु. ८६१ अर्ब ९० करोड पुगेको छ । त्यसैगरी बैंक तथा वित्तीय संस्थाहरु (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०.४ प्रतिशतले वृद्धि भई रु. १४५ अर्ब ७१ करोड पुगेको छ । कुल सञ्चितिमा भारतीय मुद्रा सञ्चितिको अंश २२.५ प्रतिशत रहेको छ ।
सञ्चिति पर्याप्तता सूचकहरु
आर्थिक वर्ष २०७२/७३ को नौ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १७.८ महिनाको वस्तु आयात र १५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन (आर्थिक वर्ष २०७१/७२ को संशोधित अनुमान र २०७२/७३ को प्रारम्भिक अनुमानमा आधारित), कुल आयात र विस्तृत मुद्राप्रदायसँगको अनुपातहरु क्रमशः ४४.८ प्रतिशत, १२५.३ प्रतिशत र ४७.५ प्रतिशत रहेका छन् । २०७२ असार मसान्तमा यस्ता अनुपातहरु क्रमशः ३८.९ प्रतिशत, ९३.३ प्रतिशत र ४३.९ प्रतिशत रहेका थिए ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम एवम् सुनको मूल्य स्थिति तथा विनिमय दर प्रवृत्ति
अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम (Crude Oil Brent) को मूल्य २०७१ चैत मसान्तमा प्रति ब्यारल अमेरिकी डलर ५७.१४ रहेकोमा २०७२ चैत मसान्तमा २४.७ प्रतिशतले ह्रास आई प्रति ब्यारल अमेरिकी डलर ४३.०२ कायम भएको छ । त्यसैगरी, सुनको मूल्य २०७१ चैत मसान्तमा प्रति आउन्स अमेरिकी डलर ११९८.९० रहेकोमा २०७२ चैत मसान्तमा ४.६ प्रतिशतले वृद्धि भई प्रति आउन्स अमेरिकी डलर १२५४.६० पुगेको छ ।
२०७२ असार मसान्तको तुलनामा २०७२ चैत मसान्तमा नेपाली रुपैयाँ अमेरिकी डलरसँग ४.५ प्रतिशतले अवमूल्यन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ अमेरिकी डलरसँग ३.५ प्रतिशतले अवमूल्यन भएको थियो । २०७२ चैत मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर रु. १०५.९२ पुगेको छ । २०७२ असार मसान्तमा उक्त विनिमय दर रु. १०१.१४ रहेको थियो ।
सरकारी वित्त स्थिति*
बजेट घाटा/बचत
आर्थिक वर्ष २०७२/७३ को नौ महिनामा नगद प्रवाहमा आधारित सरकारी बजेट रु. ४७ अर्ब ६९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा सरकारी बजेट रु. ६१ अर्ब ५३ करोडले बचतमा रहेको थियो ।
सरकारी खर्च
समीक्षा अवधिमा नगद प्रवाहमा आधारित कुल सरकारी खर्च ८ प्रतिशतले बढी रु. २८६ अर्ब ५४ करोड पुगेको छ । यो रकम बजेट अनुमान रु. ८१९ अर्ब ४७ करोडको ३४.९ प्रतिशत हुन आउँछ । अघिल्लो वर्षको सोही अवधिमा सरकारी खर्च १६.४ प्रतिशतले वृद्धि भई रु. २६५ अर्ब २६ करोड पुगेको थियो ।
समीक्षा अवधिमा चालू खर्च ८.७ प्रतिशतले वृद्धि भई रु. २११ अर्ब ४४ करोड पुगेकोे छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च ४.५ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा पूँजीगत खर्चमा ११.६ प्रतिशतले वृद्धि भई रु. ३२ अर्ब ४४ करोड पुगेको छ । इन्धन एवम् निर्माण सामग्रीको अभावका कारण कतिपय महत्वपूर्ण आयोजनाहरु अवरुद्ध भएका तथा भूकम्प पछिको पुनर्निर्माणको कार्य समेत प्रभावित भएका कारण पूँजीगत खर्च अपेक्षित रुपमा हुन नसकेको हो । अघिल्लो वर्षको सोही अवधिमा पूँजीगत खर्च २६.७ प्रतिशतले वृद्धि भएकोे थियो । समीक्षा अवधिमा भएको पूँजीगत खर्च बजेट अनुमान रु. २०८ अर्ब ८८ करोडको १५.५ प्रतिशत मात्र हुन आउँछ ।
सरकारी राजस्व
समीक्षा अवधिमा नेपाल सरकारको राजस्व परिचालन ०.४ प्रतिशतले घटी रु. २९० अर्ब १९ करोडमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो राजस्व १५.५ प्रतिशतले वृद्धि भएको थियो । भन्सार नाकामा भएको अवरोधका कारण आयातमा संकुचन आउनाले तथा इन्धन लगायत आवश्यक सामग्रीको अभावमा आर्थिक गतिविधिमा शिथिलता आएकोले मूल्य अभिवृद्धि कर एवम् भन्सार राजस्व घटेकाले कुल राजस्व संकलनमा कमी आएको हो । समीक्षा अवधिमा कुल राजस्व बजेट लक्ष्य रु. ४७५ अर्बको ६१.१ प्रतिशत मात्र परिचालन भएकोले चालू आर्थिक वर्षमा राजस्व संकलन लक्ष्य भन्दा केही कम रहने देखिन्छ ।
(* नेपाल राष्ट्र बैंकका ८ वटा कार्यालयहरु, सरकारी कारोबार गर्ने राष्ट्रिय वाणिज्य बैंकका ६९ वटा शाखाहरु, नेपाल बैंक लिमिटेडका ४९ वटा मध्ये ४६ वटा शाखाहरु, कृषि विकास बैंक लिमिटेडका २२ वटा शाखाहरु मध्ये १९ वटा शाखाहरु, एभरेष्ट बैंक लिमिटेडका ९ वटा शाखाहरु, ग्लोबल आईएमई बैंक लिमिटेडका ४ वटा शाखाहरु र नेपाल वंगलादेश बैंक लिमिटेड, एनएमबी बैंक लिमिटेड र बैक अफ काठमाडौको १/१ शाखा र जिल्लास्थित ७९ वटै कोष तथा लेखा नियन्त्रण कार्यालयहरु र भुक्तानी केन्द्रहरुबाट प्राप्त विवरणको आधारमा तयार गरिएको ।)
सार्वजनिक ऋण तथा सरकारको नगद मौज्दात
समीक्षा अवधिमा नेपाल सरकारले रु. ४२ अर्ब ५८ करोड बराबर आन्तरिक ऋण परिचालन गरेको छ भने यस अवधीमा २६ अर्ब ३० करोड बराबरको आन्तरिक ऋणको भुक्तानी गरेको छ । फलस्वरुप, नेपाल सरकारको तिर्न बाँकी आन्तरिक ऋण २०७२ असार मसान्तमा रु. १९६ अर्ब ७९ करोड रहेकोमा २०७२ चैत मसान्तमा रु. २१३ अर्ब ७ करोड पुगेकोे छ ।
स्रोत परिचालनको तुलनामा सरकारी खर्च न्यून भएकोले २०७२ चैत मसान्तमा नेपाल सरकारको नेपाल राष्ट्र बैंकमा रु. १५० अर्ब ७७ करोड नगद मौज्दात कायम रहेको छ ।
मौद्रिक तथा वित्तीय स्थिति
मुद्राप्रदाय
समीक्षा अवधिमा विस्तृत मुद्राप्रदाय १३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय ९.६ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७२ चैत मसान्तमा विस्तृत मुद्राप्रदाय २३.६ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा खुद वैदेशिक सम्पत्ति (विदेशी विनिमय मूल्याङ्कन नाफा/नोक्सान समायोजित) रु. १६३ अर्ब ८१ करोडले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सम्पत्ति रु. ४९ अर्ब ४० करोडले बढेको थियो ।
समीक्षा अवधिमा सञ्चित मुद्रा २.१ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रा ३.५ प्रतिशतले घटेको थियो । वार्षिक विन्दुगत आधारमा २०७२ चैत मसान्तमा उक्त मुद्रा २१.४ प्रतिशतले बढेको छ ।
कुल आन्तरिक कर्जा
समीक्षा अवधिमा कुल आन्तरिक कर्जा ५.९ प्रतिशतले बढेको छ । अघिल्लो वर्र्षको सोही अवधिमा उक्त कर्जा ७.१ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा यस बैंकमा रहेको नेपाल सरकारको निक्षेप बढेकोले कुल आन्तरिक कर्जाको वृद्धिदरमा केही कमी आएको हो । वार्षिक विन्दुगत आधारमा २०७२ चैत मसान्तमा यस्तो कर्जा १४.८ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी १४.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दावी १४.४ प्रतिशतले बढेको थियो । र्वािर्षक विन्दुगत आधारमा निजी क्षेत्रमाथिको दावी २०७२ चैत मसान्तमा
१९.३ प्रतिशतले बढेको छ ।
निक्षेप संकलन
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप १२.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ९.६ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुको निक्षेप क्रमशः ११.८ प्रतिशत, ७.६ प्रतिशत र २.८ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा २०७२ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप २२.८ प्रतिशतले बढेको छ ।
कर्जा प्रवाह
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १४.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १४.६ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुको कर्जा प्रवाह क्रमशः १५.७ प्रतिशत, ९.६ प्रतिशत र ६.९ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा २०७२ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १९.७ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा औद्योगिक उत्पादन, निर्माण तथा कृषि जस्ता प्रमुख क्षेत्रहरुमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा कर्जा प्रवाह केही न्यून भएको छ । समीक्षा अवधिमा औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ११.५ प्रतिशत, थोक तथा खुद्रा व्यापारतर्फको कर्जा १६.२ प्रतिशत, निर्माण क्षेत्रतर्फको कर्जा ९.९ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा २४.१ प्रतिशत र कृषि क्षेत्रतर्फको कर्जा ११.४ प्रतिशतले बढेको छ ।
२०७२ चैतसम्ममा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६१.३ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १३.१ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ५९.६ प्रतिशत र १३ प्रतिशत रहेको थियो ।
२०७२ चैतसम्ममा बैंक तथा वित्तीय संस्थाहरुको कुल लगानीमा रहेको कर्जा मध्ये घरजग्गा ९च्भब िभ्कतबतभ० क्षेत्रमा रु. २३१ अर्ब ९७ करोड (प्रति ग्राहक रु. १ करोड भन्दा कमको रु. १३१ अर्ब ४२ करोडको आवासीय घरकर्जा समेत) रहेको छ । उक्त कर्जा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कुल कर्जाको १४.८ प्रतिशत हुन आउँछ । २०७२ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुले शेयरको धितोमा प्रवाह गरेको मार्जिन प्रकृतिको कर्जा कुल कर्जाको २.२ प्रतिशत (रु. ३४ अर्ब ७७ करोड) रहेको छ भने वाणिज्य बैंकहरुबाट साना तथा मझौला व्यवसायमा प्रवाहित कर्जा (SMEs Loan) कुल कर्जाको २.७ प्रतिशत (रु. ३४ अर्ब ६ करोड) छ ।
समीक्षा अवधिमा वाणिज्य बैंकहरुबाट प्रवाहित ट्रष्ट रिसिट कर्जा (आयात कर्जा) १२.२ प्रतिशत (रु. ६ अर्ब ७१ करोड) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १७.६ प्रतिशतले बढेको थियो ।
तरलता व्यवस्थापन
आर्थिक वर्ष २०७२/७३ को नौ महिनासम्ममा यस बैंकले रु. ४७१ अर्ब ६४ करोड तरलता प्रशोचन गरेको छ । यसमध्ये, पटक–पटक गरी निक्षेप बोलकबोलमार्फत् रु. २९७ अर्ब ५० करोड, रिभर्स रिपोमार्फत् (टर्नओभरको आधारमा) रु. १६५ अर्ब ४ करोड तथा सोभैm बिक्री बोल–कबोलमार्फत् रु. ९ अर्ब १० करोड तरलता प्रशोचन भएको छ । २०७२ चैत मसान्तमा निक्षेप संकलन बोल–कबोल बक्यौता रकम रु. ९९ अर्ब १० करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा निक्षेप बोल–कबोलमार्फत् रु. ९५ अर्ब तथा रिभर्स रिपोमार्फत् रु. २७३ अर्ब ८० करोड तरलता प्रशोचन भएको थियो ।
आर्थिक वर्ष २०७२/७३ को नौ महिनासम्ममा नेपाल राष्ट्र बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर ३ अर्ब ३० करोड खुद खरिद गरी रु. ३४९ अर्ब ६६ करोड बराबरको खुद तरलता प्रवाह गरेकोे छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर २ अर्ब ५४ करोड खुद खरिद गरी रु. २४४ अर्ब ५२ करोड खुद तरलता प्रवाह भएकोे थियो ।
समीक्षा अवधिमा अमेरिकी डलर २ अर्ब ४८ करोड र यूरो ६ करोड बिक्री गरी रु. २६८ अर्ब ३९ करोड बराबरको भा.रु. खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर २ अर्ब ६६ करोड बिक्री गरी रु. २६२ अर्ब ५५ करोड बराबरको भा.रु. खरिद भएको थियो ।
पुनरकर्जा तथा उत्पादनशील कर्जा
उत्पादनशील क्षेत्रतर्फ लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पु¥याउने उद्देश्यले यस बैंकबाट सहुलियत दरमा प्रदान गरिने पुनरकर्जाको उपयोग समीक्षा अवधिमा घटेको छ । समीक्षा अवधिमा साधारण पुनरकर्जा रु. २ अर्ब ९० करोड र निर्यात पुनरकर्जा रु. १ अर्ब १२ करोड गरी जम्मा रु. ४ अर्ब २ करोड पुनरकर्जाको उपयोग भएको छ । अघिल्लो वर्षको सोही अवधिमा साधारणतर्फ रु. ३ अर्ब ५७ करोड र निर्याततर्फ रु. १ अर्ब ९० करोड गरी कुल रु. ५ अर्ब ४७ करोड पुनरकर्जा उपयोग भएको थियो । त्यसैगरी, भूकम्प पीडितहरुलाई राहत प्रदान गर्न यस बैंकबाट शून्य ब्याजदरमा पुनरकर्जा सुविधा उपलब्ध गराउने व्यवस्था अन्तर्गत २०७२ चैत मसान्तसम्म रु. १ करोड ४० लाख कर्जा प्रवाह भएको छ ।
वाणिज्य बैंकहरुले उत्पादनशील क्षेत्रमा कुल कर्जाको २० प्रतिशत कर्जा प्रदान गर्नुपर्ने नीतिगत व्यवस्था रहेकोमा २०७२ चैत मसान्तसम्ममा वाणिज्य बैंकहरुको यस्तो कर्जा अनुपात १६.३२ प्रतिशत पुगेको छ । २०७२ फागुन मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले कुल कर्जाको ५.३८ प्रतिशत कर्जा विपन्न वर्गमा प्रवाह गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जाको अनुपात ४.९७ प्रतिशत थियो ।
तोकिएका कृषि व्यवसायको लागि बैंक तथा वित्तीय संस्थाहरुबाट ६ प्रतिशतको सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउने व्यवस्था अन्र्तगत २०७२ चैत मसान्तसम्ममा २१५१ जना किसानहरुलाई रु. १ अर्ब ५९ करोड कर्जा प्रवाह भएको छ । यस व्यवस्था अन्तर्गत बैंक तथा वित्तीय संस्थाहरुले रु. १ करोड ८० लाख ब्याज अनुदान प्राप्त गरेका छन् भने रु. १ करोड ३१ लाख ब्याज अनुदान सोधभर्नाको प्रक्रियामा रहेको छ ।
अन्तर–बैंक कारोबार र स्थायी तरलता सुविधाको उपयोग
आर्थिक वर्ष २०७२/७३ को नौ महिनामा वाणिज्य बैंकहरुले रु. ६४० अर्ब २४ करोड र अन्य वित्तीय संस्थाहरू (वाणिज्य बैंकहरुबीच बाहेक) ले रु. ६१ अर्ब ४७ करोडको अन्तर–बैंक कारोबार गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरु र अन्य वित्तीय संस्थाहरूले क्रमशः रु. ३२९ अर्ब ५० करोड र रु. १६३ अर्ब १४ करोडको यस्तो कारोबार गरेका थिए । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले रु. २ अर्ब ६५ करोडको स्थायी तरलता सुविधाको उपयोग गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा रु. ६ अर्ब ६२ करोडको स्थायी तरलता सुविधाको उपयोग भएको थियो ।
ब्याजदर
२०७१ चैतको तुलनामा २०७२ चैतमा ९१–दिने ट्रेजरी विल र वाणिज्य बैंकहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर बढेको छ । २०७१ चैतमा ९१–दिने ट्रेजरी विलको भारित औसत ब्याजदर ०.६९ प्रतिशत रहेकोमा २०७२ चैतमा १.१ प्रतिशत रहेको छ । त्यसैगरी, वाणिज्य बैंकहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७१ चैतको ०.६४ प्रतिशतको तुलनामा २०७२ चैतमा १.५९ प्रतिशत रहेको छ । अन्य वित्तीय संस्थाहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७१ चैतको ३.८७ प्रतिशतको तुलनामा २०७२ चैतमा १.५२ प्रतिशत रहेको छ ।
२०७२ चैतमा वाणिज्य बैंकहरुको कर्जा तथा निक्षेपबीचको भारित औसत ब्याजदर अन्तर ४.७९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको चैतमा यस्तो ब्याजदर अन्तर ४.३९ प्रतिशत रहेको थियो । त्यसैगरी, वाणिज्य बैंकहरुको औसत आधार ब्याजदर २०७१ चैतको ७.६८ प्रतिशतको तुलनामा २०७२ चैतमा ६.३२ प्रतिशत कायम हुन आएको छ ।
मर्जर/प्राप्ति तथा रिजोलुसन
वित्तीय स्थायित्व अभिवृद्धि गर्न अवलम्बन गरिएको मर्जर नीति कार्यान्वयनमा आएसँगै मर्ज हुने बैंक तथा वित्तीय संस्थाहरुको संख्या बढ्दै गएको छ । “बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी विनियमावली, २०६८” कार्यान्वयनमा आएपछि २०७२ चैत मसान्तसम्ममा ८८ वटा बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा मर्ज भई ३३ वटा संस्था बनेका छन् । त्यसैगरी, एउटा वाणिज्य बैंकले दुईवटा वित्त कम्पनीहरु र एक विकास बैंकले अर्को एक विकास बैंक प्राप्ति (Aquisition) गरेका छन् ।
२०७२ चैत मसान्तमा ११ वटा संस्थाहरु (२ विकास बैंक र ९ वित्त कम्पनीहरु) रिजोलुसनको प्रक्रियामा रहेका छन् । उक्त संस्थाहरुमा निक्षेप रु. ३ अर्ब ४३ करोड रहेको छ भने कर्जा लगानी रु.६ अर्ब ७७ करोड रहेको छ । यी संस्थाहरुको खराव कर्जा करीब ९५ प्रतिशत रहेको छ भने समग्र पुँजीकोष करीब ३८ प्रतिशतले ऋणात्मक छ ।
नियमन व्यवस्था
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाले यस बैंकबाट समस्याग्रस्त घोषणा गरिएका बैंक तथा वित्तीय संस्थाको शाखा खरिद गर्न सक्ने, उच्च गरिबी रहेका तोकिएका १० जिल्लाहरु र गरिबीको गहनता बढी भएका दक्षिणी सीमावर्ती क्षेत्रका तोकिएका गाउँ विकास समिति तथा नगरपालिका क्षेत्रमा कृषि तथा साना व्यवसायमा प्रवाहित रु. ५ लाखसम्मको कर्जामा विशेष पुनरकर्जा सुविधा प्रदान गर्ने तथा उक्त क्षेत्रमा शाखा खोल्न यस बैंकको पूर्व स्वीकृति लिनु नपर्ने, प्रमुख शहरहरुमा संचालन हुने सार्वजनिक यातायात संचालन गर्ने संगठित संस्थालाई प्रदान गरिने कर्जालाई उत्पादनमूलक कर्जामा गणना गर्ने र Magnetic Strip Card लाई Chip Based Card मा प्रतिस्थापन गर्ने लगायतका निर्देशनहरु जारी गरिएका छन् ।
तराई आन्दोलन तथा सीमा क्षेत्रमा भएको व्यापार एवम् पारवहन अवरोधले सृजना गरेको असहज परिस्थितिका कारण समयमै कर्जाको सावाँ–ब्याज वा किस्ता रकम तिर्न नसकी त्यस्तो रकम २०७२ चैत मसान्तभित्र प्राप्त भएमा असल कर्जामै गणना गर्ने र कुनै प्रकारको हर्जाना वा शुल्क नलगाउने, उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, पर्यटन र ऊर्जा लगायतका सेवा क्षेत्रका ऋणीले लिखित कार्ययोजना सहित माग गरेमा २०७२ चैत मसान्तभित्र एक पटकका लागि बढीमा १ वर्षसम्म कर्जा पुनर्तालिकीकरण वा पुनरसंरचना गर्न सकिने, २०७२ पुस मसान्तसम्म पाकेको ब्याज २०७२ माघ मसान्तसम्ममा प्राप्त भएमा चालू आर्थिक वर्षको दोस्रो त्रयमासको नाफा नोक्सान हिसाबमा राख्न सकिने, प्रतितपत्रको आधारमा प्रवाह गरिने ट्रष्ट रिसिट कर्जाको अवधि विद्यमान १२० दिनबाट बढाई बढीमा १८० दिन कायम गर्ने लगायतका निर्देशनहरु समेत जारी गरिएका छन् ।
बैकिङ्ग कारोबारको जोखिम कम गरी बैकिङ्ग प्रणालीप्रति सर्वसाधारणको विश्वासलाई सुदृढ गर्न यस बैंकले बासेल–३ मा आधारित New Capital Adequacy Framework-2015 जारी गरेको छ । यसलाई वाणिज्य बैंकहरुले २०७२ पुसदेखि समानान्तर रुपमा (Parallel Run) र २०७३ साउनदेखि पूर्णरुपमा कार्यान्वयनमा ल्याउनु पर्नेछ ।
यस बैंक अन्तर्गत संचालन हुने गरी स्थापना भएको पुनरुद्धार कोष रु. १०० अर्बको रहेको र यसबाट सीमा नाकामा भएको अवरोध तथा आपूर्ति प्रणालीको असहज परिस्थितिका कारण संकुचन भएको आर्थिक गतिविधिलाई पुनरुत्थान गर्न तोकिएका क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गर्ने रु. १० करोडसम्मको कर्जामा ४ प्रतिशत र सो भन्दा माथिको थप कर्जामा २ प्रतिशत ब्याज अनुदानको व्यवस्था गरिएको छ । साथै, कोषबाट भूकम्प पीडितहरुलाई तोकिएको व्यवसाय गर्न बैंक तथा वित्तीय संस्थाहरुले ५ प्रतिशतसम्मको ब्याजदरमा कर्जा प्रदान गर्न सक्ने र यसका लागि १.५ प्रतिशतमा पुनरकर्जा उपलब्ध गराउने प्रावधान रहेको छ ।
पूँजी बजार
नेप्से सूचकाङ्क वार्षिक विन्दुगत आधारमा ४६.४ प्रतिशतले वृद्धि भई २०७२ चैत मसान्तमा १,३८८.६ विन्दुमा पुगेको छ । २०७१ चैत मसान्तमा उक्त सूचकाङ्क अघिल्लो वर्षको सोही अवधिको तुलनामा १५.९ प्रतिशतले वृद्धि भई ९४८.४ विन्दु कायम भएको थियो । २०७२ माघदेखि कागजरहित शेयर (डिम्याट) प्रणालीबाट मात्र कारोबार भएको, वित्तीय प्रणालीमा अधिक तरलता रहिरहेको, बैंक तथा वित्तीय संस्थाहरुको पूँजी वृद्धि गरिने नीति अगाडि सारिएको तथा लगानीकर्ताहरुमा राजनीतिक संक्रमण अन्त्य हुने अपेक्षा बढ्दै गएको कारण शेयर बजार परिसूचक उच्चदरमा बढेको हो ।
धितोपत्र बजार पूँंजीकरण वार्षिक विन्दुगत आधारमा ५३.८ प्रतिशतले वृद्धि भई २०७२ चैत मसान्तमा रु. १,४९६ अर्ब ५६ करोड पुगेको छ । बजार पूँजीकरण अनुपात अघिल्लो वर्षको सोही अवधिमा १६.८ प्रतिशतले वृद्धि भएको थियो । आर्थिक वर्ष २०७२/७३ को कुल गार्हस्थ्य उत्पादनसँग समीक्षा अवधिको बजार पुँजीकरणको अनुपात ६६.६ प्रतिशत रहेको छ । २०७१ चैत मसान्तमा यस्तो अनुपात ४५.९ प्रतिशत रहेको थियो । बजार पूँजीकरणमा बैंक तथा वित्तीय संस्थाहरू (बीमा कम्पनीहरु सहित) को अंश ८३.६ प्रतिशत रहेको छ भने जलविद्युत् क्षेत्रको ५ प्रतिशत, उत्पादन तथा प्रशोधन क्षेत्रको २.६ प्रतिशत, होटलहरूको १.६ प्रतिशत, व्यापारिक संस्थाहरूको ०.१ प्रतिशत र अन्यको ७.२ प्रतिशत
रहेको छ ।
समीक्षा अवधिमा कुल शेयर कारोबार रकम २७३.१ प्रतिशतले वृद्धि भई रु. १४ अर्ब १३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा कारोबार रकममा ३३.२ प्रतिशतले ह्रास आई रु. ३ अर्ब ७९ करोड पुगेको थियो ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २०७२ चैत मसान्तसम्ममा २३१ रहेको छ । २०७१ चैत मसान्तमा यस्तो संख्या २३२ रहेको थियो ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको चुक्ता पूँजी वार्षिक विन्दुगत आधारमा ३५.८ प्रतिशतले वृद्धि भई २०७२ चैत मसान्तमा रु. २५७ अर्ब ५८ करोड पुगेको छ । आर्थिक वर्ष २०७२/७३ को नौ महिनासम्ममा रु. १ अर्ब ८९ करोड बराबरको साधारण शेयर, रु. ३ अर्ब ८ करोड बराबरको हकप्रद शेयर, रु. ११ अर्ब ३५ करोड बराबरको बोनस शेयर र रु. १ अर्ब ७० करोड बराबरको डिबेन्चर गरी कुल रु. १८ अर्ब ३ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।
नेपाल राष्ट्र बैंक
अनुसन्धान विभाग