दोस्रो रामपुर महोत्सव स्थगित

रामपुर, पाल्पा, १९ माघ (रासस) ः आगामी फागुन १६ देखि २५ गतेसम्म यहाँ हुने भनिएको दोस्रो रामपुर महोत्सव तथा व्यापार मेला–२०७४ स्थगित गरिएको छ ।
रामपुर उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन हुन लागेको मेला स्थगनबारे पत्रकार सम्मेलनमार्फत बिहीबार जानकारी गराइएको हो । संघका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले पत्रकार सम्मेलनमा रामपुर क्षेत्रमा रहेका व्यापारी तथा विद्यालयको विशेष आग्रहमा मेला स्थगन गर्नुपरेको जानकारी गराउनुभयो ।
यस क्षेत्रका व्यापार व्यवसायीले आफ्नो व्यवसाय धरापमा पर्ने बताउँदै व्यापारीले उद्योग वाणिज्य संघमा ज्ञापनपत्र आएपछि सो कुरालाई मध्यनजर गर्दै र विद्यालयको पनि वार्षिक परीक्षा नजिकै मेला आयोजना गर्दा बालबालिकाको पढाइमा असर पार्ने हुँदा रामपुरस्थित विभिन्न सरकारी तथा निजी विद्यालयको अनुरोधमा संघले आयोजना गर्न लागेको मेला स्थगित गर्नुपरेको अध्यक्ष ढकालले जानकारी गराउनुभयो ।
साथै संघसँग आबद्ध व्यक्ति, सल्लाहकार, सरोकारवालाको विशेष छलफलले फागुन १६ देखि २५ को समय मेला सञ्चालनका लागि पहाडी भेगको मौसम उपयुक्त नहुने राय सल्लाह र सुझावलाई समेटेर मेला यस वर्षलाई स्थगित गर्नुपरेको पत्रकार सम्मेलनमा जानकारी गाराइएको छ ।
सोही अवसरमा संघको ३५ औँ कार्यसमितिको बैठकको निर्णयअनुसार रामपुरमा उद्योग वाणिज्य संघ, इलाका प्रशासन कार्यालय र नगर कार्यपालिकाको समझदारी तथा सहमति बिना अन्य कसैले व्यापार मेला आयोजना गर्न कुनै पनि संघसंस्था वा व्यक्तिले नपाउने समेत निर्णय गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । बैठक संघको कार्यालय रामपुरमा बसेको थियो ।