नबिल बैंकको १००औँ ए.टि.एम. सञ्चालन

काठमाडौँ, २८ असार । नबिल बैंकले ४ वटा नयाँ एटिएमहरु रुद्रेश्वर चोक, बुढानिलकण्ठ; पुतलीसडक; होटेल भिशुवा, बिरगञ्ज तथा पर्सा चोक, लुम्बिनी (लुम्बिनी सम्पदा क्षेत्रको प्रवेशद्वार नजिक) मा स्थानीय वासिन्दाहरुको सेवा सुविधाका लागि थप गरेको छ । यससँगै बैंकको एटिएम सञ्जाल काठमाडौँ उपत्यका भित्र ५४ वटा र उपत्यका बाहिर ४६ वटा गरी कूल १०० वटा एटिएम संख्या पुगेको छ । भिषा कार्ड, माष्टर कार्ड, युनियन पे अन्तर्राष्ट्रिय कार्ड (स्थानीय तथा अन्तर्राष्ट्रिय) र एससिटि कुनै पनि कार्ड बाहकहरूले उक्त एटिएमहरुबाट नगद झिक्ने तथा एटिएमका अन्य सुविधाहरु उपभोग गर्न सक्ने बैंकद्वारा जारी प्रेस विज्ञप्तीमा जनाइएको छ ।
बैंकका अध्यक्ष शम्भुप्रसाद पौड्यालले आज १००औँ एटिएमको उद्घाटन गर्दै भन्नुभयो ‘ग्राहक सुविधा उपलब्धताको लागि धेरै सेवा केन्द्र विस्तार गर्ने प्रतिवद्धता अनुरुप चार एटिएम थप गर्दा हामीलाई खुशी लागेको छ । व्यवसायिक र प्रभावकारी बैंकिङ सुविधाहरु प्रदान गर्न र समाजका वृहत एवं छरिएर बसेका समुदायको बैंकिङ्ग आवश्यकता घरदैलोमै परिपुर्ति गर्ने तथा सधैं उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता रहनेछ ।’
मुलुकको निजी क्षेत्रबाट पहिलो संयुक्त लगानीको बैंकको रुपमा स्थापित नबिल बैंकले उपभोक्ताको आवश्यकतामा आधारित विविधतायुक्त सेवा/सुविधा प्रदान गर्ने कार्यमा सदैव अग्रणी भूमिका खेल्दै आएको प्रमाणित भएको छ । नवीन प्रविधिको ग्रहण, वासलातको आकार र गुणस्तर, शाखाहरु र एटिएमहरुको व्यापक सञ्जाल र ग्राहकहरुकोे सन्तुष्टिप्रति समर्पित पारङ्गत दक्ष पेशाकर्मीहरु नै नबिल बैंक सँधै अग्रणी बैंक बन्नुको आधार हो । नयाँ र नवीनतम सेवाहरु एवं योजनाहरु ग्राहकहरु समक्ष प्रस्तुत गर्न नबिल बैंक सदा अग्रणी रहेको समेत उक्त प्रेस विज्ञप्तीमा उल्लेख छ ।
नबिल बैंकले ५२ वटा शाखाहरु र १ विस्तारित काउन्टरको बृहत सञ्जाल, १०० वटा एटिएमहरुको विशाल संरचना र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत् सेवा प्रदान गरेर आफ्ना सबै स्टेकहोल्डरहरुसँगै अघि बढ्ने विश्वास राखेको समेत जनाएको छ ।