नेपालकै पहिलो बैंकको वित्तीय उपलब्धी

काठमाडौं, १३ भदौ । १९९४ सालमा स्थापित यस बैंकले नेपालमा संस्थागत बैंकिङ्ग सेवाको पहिलो शुरुवात गरेको थियो । यस बैंकले आर्थिक वर्ष २०७२/७३ मा रु ३ अर्ब १ करोड खुद मुनाफा आर्जन गरेको छ, जुन नेपालका बैंकहरुले गत आर्थिक बर्षमा कमाएको नाफामा संभवतः सबैभन्दा बढी हो । यस अघि आर्थिक बर्ष ०७१।७२ मा यस बैंकले रु ४८ करोड मात्र खुद नाफा गरेको थियो ।
बैंकको अघिल्लो बर्षमा रु ७८ अर्बमा रहेको निक्षेप गत असार मसान्तमा रु ८९ अर्ब पुगेको थियो भने कर्जा रु ५३ अर्बबाट रु ६३ अर्बमा उक्लेको थियो । बैंकको खुद व्याज आम्दानी रु ३ अर्ब ३१ करोडबाट बढेर रु ४ अर्ब ६९ करोड पुगेको छ जुन ४२ प्रतिशतको वृद्धि हो । कर्मचारी खर्च आर्थिक वर्ष ०७१/७२ मा रु २ अर्ब ४१ करोड भएकोमा गत बर्ष यो खर्च रु २ अर्ब १८ करोडमा झरेको छ । कोषको लागत समेत २ दशमलव ३३ प्रतिशतबाट १ दशमलव ९८ प्रतिशतमा घटाउन बैंक सक्षम भएको छ ।
यो बैंकको पूँजी पर्याप्तताको अनुपात (Capital adequacy Ratio i. e. CAR) ११ दशमलव ४१ प्रतिशत पुगेको छ, यस अघिको बर्षमा यो अनुपात ७ दशमलव ५ प्रतिसत मात्र थियो । CAR १० प्रतिसत भन्दा कम भएका बैंकहरुलाई राष्ट्र बैंकले ‘सिघ्र सुधारात्मक कार्यवाही अर्थात Prompt Corrective action’ नामको सजाय दिन सक्छ । नेपाल बैंकलाई यस्तो कार्यबाही गर्ने निर्णयमा पुग्न लागेको चेतावनी बेला बेलामा राष्ट्र बैंकले दिदै आएको थियो । नियमनकारी निकायबाट बारम्बार सचेत गराउँदै आएकोले CAR बढाउन गत बर्ष यस बैंकले कडा मेहेनत गर्न पर्यो, सम्पत्ति बिक्री गर्न परेको प्रमुख कारण पनि यही हो । गत आर्थिक बर्षको अन्त्यमा पहिलो पटक नेपाल बैंकको पूजी पर्याप्तताको अनुपात राष्ट्र बैंकले तोकेको न्युनतम बिन्दु भन्दा माथि पुगेको हो । वित्तिय परिसुचकहरुमा आएका यी सुखद परिस्थिति यस बैंकको लागि ऐतिहासिक छ ।
बैंकको निष्कृय कर्जा अनुपात २ दशमलव ७२ प्रतिशतमा झरेको छ, अघिल्लो बर्ष यो अनुपात ३ दशमलव ९८ प्रतिसत थियो । आर्थिक बर्ष ०७१/७२ मा करिब रु ६७ करोड पुरानो ऋण असुलि भएकोमा आर्थिक बर्ष ०७२/७३ मा रु १ अर्ब ३५ करोड असुल भएको छ । वि. सं. २०५० को दशकमा सुशासनको अभावका कारण बैंकको निष्कृय कर्जा बढेर ६० प्रतिशतको हाराहारीमा पुगेको भयावह अवस्थाको यतिखेर स्मरण हुन्छ । निष्कृय कर्जा बढ्दै गएमा बैंकको अस्तित्व नै समाप्त हुने खतरा बढ्छ । यो बैंक करिब करिब त्यो बिन्दुमा पुगेर फर्केको हो । यही कारणले यो बैंकलाई त्यति बेला समस्याग्रष्त घोषणा गरी राष्ट्र बैंकले आफ्नो नियन्त्रणमा लिएको थियो । त्यही समयमा वित्तिय क्षेत्र सुधार कार्यक्रम अन्तर्गत नेपाल बैंकको व्यवस्थापनको जिम्मेवारी राष्ट्र बैंकले विदेशी फर्मलाई समेत सुम्पियो । केही बर्ष त राष्ट्र बैंक आफैले पनि यसको ब्यबस्थापन गर्यो, तैपनि नेपाल बैंक पूर्ण सुधार हुन बाँकी नै रह्यो । विगत बर्षदेखि राष्ट्र बैंकले ब्यबस्थापन फिर्ता गरेकोले संचालक समितिबाट प्रमुख कार्यकारी अधिकृत नियुक्त भई बैंकको कारोबार संचालन हुँदै आएको छ ।
बैंकको चुक्ता पूँजी रु ६ अर्ब ४६ करोड रहेकोमा यसै आर्थिक बर्षमा २३ दशमलव ७३ प्रतिशतले हकप्रद शेयर निश्काशन गरी राष्ट्र बैंकले तोके सरह रु ८ अर्ब पु्रयाइने लक्ष छ । बैंकको सेयर पूँजी संरचनामा नेपाल सरकारको ६२ दशमलव २१ प्रतिशत र सर्वसाधारणको ३७ दशमलव ७९ प्रतिशत हिस्सा रहेको छ ।
हाल यस बैंकको १ सय २६ शाखाहरु र ३९ एटिएम काउन्टरहरु छन् । बैंकको ११ लाख भन्दा बढी निक्षेपकर्ता र ९५ हजार भन्दा बढी कर्जाका ग्राहकहरु छन् । दुईवटा सफ्टवेरबाट आफ्नो अपरेसन संचालन गर्दै आएको यस बैंकले हालै सेन्ट्रलाइज्ड पुमरी ४ इन्स्टल गरी ग्राहकहरुलाई अत्याधुनिक सेवा दिने प्रयास गरेको छ । स्मार्ट बैंकिङ्ग योजना लागु गर्न पूर्वाधार तयार गरी स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाइसकिएको बैंकले जनाएको छ। यसबाट ग्राहकहरुले आफ्नो खाताको ब्यालेन्स, चेकको भुक्तानी, खातामा पैसा जम्मा आदि मोबाइल फोनबाटै थाहा पाउनुका साथै रकम ट्रान्सफर समेत गर्न सक्ने सुबिधा उपलब्ध हुनेछ । यसै गरी यस बैंकले आगामी नोभेम्बर महिना भित्र ग्राहकहरुलाई भिसा कार्ड समेत उपलब्ध गराउन थाल्ने कुरा समेत उल्लेख छ । प्रबिधिको फाइदा लिदै यस बैंकले हालै आफ्नो ट्रेड फाइनान्स कारोबार तथा स्टाफ पे-रोललाई सेन्ट्रलाइज्ड गरिसकेको छ, यसबाट कर्मचारी खर्चमा कटौतीका साथै बैंकलाई अन्य फाइदा समेत हुने अपेक्षा गरिएको छ । साथै साझा यातायातसँगको कोल्याबरेसनमा बस यात्रुहरुलाई इ-टिकटको ब्यबस्था समेत नेपाल बैंकले गर्ने सम्झौता भए अनुरुप छिटै यो काम थाल्नी हुने कुरा जनाएको छ । यस ब्यबस्था अन्तर्गत नेपालमा पहिलो पटक इलेक्ट्रोनिक कार्डबाट बस शुल्क तिर्न सम्भव हुनेछ ।
राष्ट्र बैंकले तोके अनुसार यस बैंकको CAR अब पुगेकोले नियमनकारी निकायको शहर र गाउँमा शाखा स्थापना गर्न सकिने नियमको पालना गर्दै नयाँ शाखा खोल्ने, सहायक कम्पनीहरु खडा गर्ने र सेकेण्डरी मार्केटमा लगानी गर्ने आदिको लागि बाटो खुलेको छ । आफ्नो कारोबारमा बिबिधता ल्याउँदै नाफा बढाउने समेत उद्देष्य लिएर अब उपयुक्त समयमा मर्चेन्ट बैंकिङ्ग, लघुवित्त कारोबार, म्युचल फण्ड आदी कारोबार गर्न सहायक कम्पनीको स्थापना गर्ने तर्फ नेपाल बैंक लाग्न सक्ने छ ।
२०७३/५/१२ मा प्रकाशित प्रेस विज्ञप्तिमा अाधारित