नेपालको शानदार जित
काठमाडौँ, ६ वैशाख । नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नामिवियालाई आज तीन विकेटले पराजित गरेको छ ।
जितसँगै नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसीपको शीर्ष चारमा पर्ने आशा जीवितै राखेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २३९ रनको स्कोर बनाएको थियो ।
दुई सय ४० रनको विजय लक्ष्यसाथ मैदानमा उत्रिएको नेपालले कप्तान पारस खड्काको शतकीय पारीको मद्दतबाट नामिवियालाई तीन विकेटले पराजित गरेको हो । नेपालले अन्तिम एक बल बाँकी छँदा लक्ष्य भेट्टाएको हो । नेपालले सात विकेट गुमाएर २४३ रन बनाएको थियो ।
नेपालको जितमा शरद भेषवाकरले अविजित ७४, विनोद भण्डारीले १२, ज्ञानेन्द्र मल्लले २२, नरेश बुढाऐरले ६, राजेश पुलामी मगरले एक र सागर पुनले दुई रनको योगदान दिए ।
नामिवियाका लागि कप्तान स्टेफन वार्डले अर्धशतकीय पारी खेल्दै ५१ तथा जेन ग्रिनले ४७ रन बनाए । त्यस्तै, सरेल बर्गरले अविजित ४३ तथा जेपी कोट्जेले ३२ रन जोडेपछि आज बलिङतर्फ नेपालले खराब सुरुवात ग¥यो ।
नेपालले पहिलो विकेटका लागि २०.४ ओभरसम्म कुर्नुपरयो । नेपालका लागि सन्दीप लामिछानेले दुई, वसन्त रेग्मी र शक्ति गौचनले पनि समान दुई/दुई विकेट लिए ।
त्यसैगरी, विकेटकिपर विनोद भण्डारीले एक क्याच र एक स्टम्पिङ गराए भने शरद भेषवाकर, कप्तान पारस खड्का, सुशन भारी र नरेश बुढाऐरले एक/एकजना नामिबियाका खेलाडीलाई रन आउट गराए ।
प्रतियोगिताअन्तर्गत तेस्रो चरणको नामिबियाविरुद्धको पहिलो खेलमा नेपालले शनिबार उत्कृष्ट प्रदर्शन गर्दै पाँच विकेटले पराजित गरेको थियो । रासस