नेपाल टेलिकम र म्युजिक नेपालको सहकार्यमा मोबाइल एपमार्फत म्युजिक स्ट्रिमिङ सेवा सञ्चालन
काठमाडौँ, १ साउन । नेपाल टेलिकम र म्युजिक नेपाल प्रा.लि.को सहकार्यमा मोबाइल एप् मार्फत म्युजिक स्ट्रिमिङ सेवाको औपचारिक रुपमा आज २०७४ साउन १ गते शुभारम्भ गरिएको छ । नेपाली संगीत क्षेत्रका गायक, संगीतकार, रचनाकार तथा उत्पादकहरुको उपस्थितिमा नेपाल टेलिकमका प्रमुख व्यावसायिक अधिकृत प्रदिपराज उपाध्यायले सो सेवाको शुभारम्भ गर्नुभएको प्रेस विज्ञप्तीमार्फत जनाइएको छ ।
मोबाइल एप्पमार्फत स्ट्रिमिङ सेवाको शुभारम्भ गर्दै राष्ट्रको सञ्चारको रुपमा रहेको नेपाल टेलिकम र देशकै अग्रणी संगीत उत्पादक कम्पनी म्युजिक नेपाल मिलेर नेपाली संगीतलाई केन्द्रित गरी मोबाइल एप् उपलब्ध गराउन सफल भएकोमा उपाध्यायले खुशी ब्यक्त गर्नु भयो । उहाँले मोबाइल प्रयोगकर्ताका बीचमा यो एप् लोकप्रिय हुने विश्वास ब्यक्त गर्दै आगामी दिनमा यसलाई थप सुविधासहित परिमार्जित गरिने बताउनु भयो ।
म्युजिक नेपालका प्रबन्ध निर्देशक सन्तोष शर्माले नेपाल टेलिकमका करिब १ करोड ५० लाख उपभोक्तामार्फत देशभर नेपाली संगीत उपलब्ध गराउन पाएकोमा खुशी ब्यक्त गर्नुभयो । उहाँले यो सहकार्यबाट संगीत क्षेत्रको आधिकारिक एपको रुपमा म्युजिक नेपाल एपले विश्वास जित्ने आशा व्यक्त गर्नुभयो ।
नेपाल टेलिकमका प्रवक्ता प्रतिभा बैद्यले म्युजिक नेपाल एपमार्फत संगीत प्रेमी र कलाकारलाई नेपाली संगीत प्रवद्र्धनका लागि थप प्रोत्साहित गर्न भूमिका खेल्नुका साथै नेपाल टेलिकमको व्यवसाय विस्तारमा समेत सघाउ पुग्ने विचार ब्यक्त गर्नुभयो ।
म्युजिक स्ट्रिमिङ सेवाबाट ग्राहकले एउटै प्लेटफर्ममार्फत असीमित संगीतको आनन्द लिन सक्नेछन् । ‘म्युजिक नेपाल मोबाइल एप्’ डाउनलोड गरी सो मार्फत कुनै पनि विधामा अहिलेका लोकप्रिय गीतहरु मात्र नभई पुराना सदावहार नेपाली गीतहरु पनि चौबिसै घण्टा सुन्न सकिने छ । त्यति मात्र नभई आफ्नो रुची अनुसारका गीतहरु छान्न, सूची बनाउन र संग्रहित गर्न पनि सकिने छ । आफूले रुचाएका गीतहरु फेसबुकमार्फत साथीभाईहरुसँग सेयर गर्न पनि सकिने छ ।
यो सेवा नेपाल टेलिकमका ग्राहकलाई मात्र उपलब्ध हुनेछ भने हाललाई पहिलो एक महिनाको लागि उपभोक्ता शुल्क नलिई उपलब्ध गराइने छ । एक महिनापछि भने ग्राहकले शुल्क तिरेर साप्ताहिक वा मासिक रुपमा सेवा प्राप्त गर्न सक्नेछन् । डाउनलोड गरेको एप् खोलेर आफ्नो मोबाइल नम्बर हाल्ना साथ प्राप्त हुने पिन नम्बरलाई भेरिफाई गरी यसको प्रयोग गर्न सकिने छ ।
मोबाइल डाटा प्रयोग गरी गीत डाउनलोड गर्दा डाटा शुल्क भने लाग्नेछ । साथै वाइफाई प्रयोग गरेर पनि कम्पनीका ग्राहकले संगीतको आनन्द लिन सक्नेछन् ।
हाललाई यो सेवा एन्ड्रोइड मोबाइलमा उपलब्ध हुनेछ भने छिट्टै आइओएसमा समेत उपलब्ध गराइने छ । यो सेवा मार्फत हाललाई नेपाली आधुनिक तथा सदावहार गीत संगीतहरु मात्र उपलब्ध भए पनि निकट भविष्यमा विदेशी गीत संगीतहरु समेत उपलब्ध हुनेछन् । आगामी मंगलबार २०७४ साउन ३ गतेदेखि यो ‘म्युजिक नेपाल एप्’ आम उपभोक्ताले प्रयोग गर्न सक्नेसमेत उक्त प्रेस विज्ञप्तीमा जनाइएको छ ।