नेपाल तयारी पोसाक उद्योग सङ्घको २४औँ वार्षिक साधारणसभा

काठमाडौँ, २१ जेठ । उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले संविधान निर्माणपछिको मुलुकको अहिलेको पहिलो प्राथमिकता र कार्यसूची औद्योगिक विकास एवम् आर्थिक समृद्धि भएको बताउनुभएको छ ।
नेपाल तयारी पोसाक उद्योग सङ्घको २४औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले सकारात्मक सोचका साथ उद्योग व्यवसायलाई प्रगतिको बाटामा अग्रसर गराउन निजी क्षेत्रलगायत सम्बद्ध सबै पक्षको सहयोग र सहकार्य भएको बताउनुभयो । “व्यापारले मात्रै आर्थिक समृद्धि हासिल हँुदैन, उत्पादन र उत्पादकत्व वृद्धि गर्नेतर्फ लाग्नैपर्छ”– उहाँले भन्नुभयो ।
औद्योगिकीकरण र निर्यात प्रवद्र्धन वर्तमान सरकारको मुख्य लक्ष्य भएको बताउँदै उहाँले औद्योगिक क्षेत्रका चुनौती पन्छाउँदै सरकार र निजी क्षेत्र अघि बढ्नुपर्नेमा जोड दिनुभयो । नेपालको परिचय दिने विशेष उत्पादन र त्यसको बजारीकरण उत्तिकै महत्वपूर्ण छ भन्दै मन्त्री पाण्डेयले उत्पादन लागत घटाउँदै प्रतिस्पर्धात्मक क्षमता पनि बढाउनुपर्ने बताउनुभयो ।
सबै प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्न बजेट वक्तव्यमा भएको व्यवस्था उद्योग क्षेत्रकै विकासमा केन्द्रित रहेर गरिएको स्पष्ट गर्दै उहाँले त्यहाँ सामान, मझौला र ठूला उद्योग स्थापना गर्ने लक्ष्यका साथ सरकारले योजना बनाएको जानकारी दिनुभयो ।
वाणिज्यमन्त्री जयन्त चन्दले दश वर्ष अघिसम्म तयारी पोसाक उद्योग वैदेशिक मुद्रा आर्जनको प्रमुख स्रोतका रुपमा रहेको तथा रोजगारीका अवसर सिर्जना गर्ने उद्योग भएको र अब त्यसलाई पुनर्जीवन प्रदान गर्न सरकार क्रियाशील रहेको बताउनुभयो ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा युवराज खतिवडाले तयारी पोसाक उद्योगका मात्र नभई उद्यमी व्यवसायीलाई केही हदसम्म भए पनि सहयोग गर्न कारोबार लागत घटाउने विषय आव २०७३/७४ को बजेट वक्तव्यमा समेटिएको बताउनुभयो । उहाँले निर्यातमूलक उद्योगलाई सरल एवम् सहज ढङ्गले कर्जा प्रवाह गर्न बंैकहरु सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका कावा अध्यक्ष भवानी राणाले युवा पलायन रोक्नका लागि तयारी पोसाक उद्योगको प्रवद्र्धनमा सरकारले सघाउनुपर्नेमा जोड दिनुभयो ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले बङ्गलादेश र इन्डोनेसियाले तयारी पोसाक निर्यात गरेर उच्च आर्थिक वृद्धिदरसँगै ठूलो आर्थिक समृद्धि हासिल गरेको दृष्टान्त प्रस्तुत गर्दै तयारी पोसाक उद्योगलाई सन् ५० को दशकमा जस्तै क्षमतावान् तुल्याउन कूटनीतिक प्रयास हुनुपर्ने आँैल्याउनुभयो ।
नेपाल तयारी पोसाक उद्योग सङ्घका पूर्वअध्यक्ष चण्डीराज ढकालले उद्योगको संरचनात्मक विकास एवम् प्रतिस्पर्धा क्षमता बढाउन राज्यले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
सङ्घका कावा अध्यक्ष चण्डीप्रसाद अर्यालले अघिल्लो आवमा रु पाँच अर्ब २८ करोड बराबरको तयारी पोसाक निर्यात भएको जानकारी दिँदै चालु आवमा त्यसमा वृद्धि हुने लक्षण नदेखिएको गुनासो गर्नुभयो । उहाँले भूकम्पबाट आठ हजार ३९४ औद्योगिक संरचनामा क्षति पुगेको र देशको आर्थिक वृद्धि ०.७७ प्रतिशतमा खुम्चिएको वास्तविकता प्रस्तुत गर्नुभयो ।
कावा अध्यक्ष अर्यालले सरल तथा सुविधायुक्त पुँजीको उपलब्धता, नगद अनुदान, आयकर छुटको व्यवस्था, लचिलो श्रमनीति तर्जुमा, अविच्छिन्न विद्युत् आपूर्ति तथा सौर्य ऊर्जाको प्रबन्ध राज्यबाट भएमा तयारी पोसाक उद्योग सङ्घ प्रतिस्पर्धी हुनाका साथै उत्पादकत्व बढाउन सक्षम हुने विश्वास व्यक्त गर्नुभयो ।
सो अवसरमा गत वर्ष भारत र तेस्रो मुलुकमा सर्वाधिक तयारी पोसाक निर्यात गर्ने पल्स फेसन सोलुसन (प्रालि) र हेरिटेज फेसन (प्रालि)लाई कदरपत्र प्रदान तथा सङ्घको कार्यसमितिमा एक दशकभन्दा बढी समय संलग्न रहेर गरेको योगदानस्वरुप अशोककुमार अग्रवाल र सञ्जयकुमार अग्रवाललाई सम्मान गरिएको थियो ।
सङ्घमा दीर्घ सेवा गरेका सङ्घका प्रशासन सहायक वासुदेव ढुङ्गेललाई नगद पुरस्कार एवम् प्रमाणपत्र पनि प्रदान गरियो । रासस