‘नेपाल– बैँकक फेस्टिवल’ काठमाडौँमा हुने
काठमाडौँ, १० असार । नेपाल तथा थाइलैन्डको राजधानी बैँककको व्यापारिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले आगामी असोज १४ देखि १८ गतेसम्म ‘नेपाल बैँकक फेस्टिवल’ काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरिने भएको छ ।
बैँककको प्रतिष्ठित उद्योग ‘सियाम लचग’ले आयोजना गर्ने उक्त फेस्टिवलमा नेपालका लागि थाईलैन्डको दूतावास, ललितपुर उद्योग वाणिज्य महासङ्घलगायतले सहयोग गर्ने छन् । फेस्टिवलमा १५० भन्दा बढी व्यावसायिक प्रतिष्ठानका उत्पादन प्रदर्शन तथा खरिदबिक्री गरिने छ ।
आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेपालका लागि थाइल्यान्डका राजदूत भुटी भुटीसान्टले उक्त फेस्टिवलले दुई देशबीचको मैत्री तथा सांस्कृतिक सम्बन्धलाई बलियो बनाएर व्यापारलाई अध्ययन गर्ने अवसर समेत उपलब्ध हुने विश्वास व्यक्त गर्नुभयो ।
सियाम लचगका प्रबन्ध निर्देशक चित्रा पाङदासाङले दुई मुलुकको उत्पादनलाई आदानप्रदान गर्न फेस्टिवलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । रासस