नेस्याङमा जडीबुटीबाट रु १६ लाख राजस्व
मनाङ, १९ साउन । हिमालपारिको जिल्ला मनाङ नेपालकै महत्वपूर्ण जडीबुटी पाइने क्षेत्र हो ।
यस क्षेत्रमा पाइने जडीबुटी यार्सागुम्बा, जिम्बु, वन लसुन र सतुवा कानूनी रुपमा संकलन गर्न मान्यता दिइएको छ ।
यिनै जडीबुटीबाट वर्षौं लाखौँलाख राजस्व संकलन हुँदै आएको छ । गत आव २०७३/२०७४ मा नेस्याङ गाउँपालिकामा मात्रै रु १५ हजार ९८ हजार ३२५ राजस्व संकलन भएको छ ।
सबैभन्दा महँगो र महत्वपूर्ण मानिने यार्सागुम्बा ६२.५५ केजी संकलन भएको थियो जसको प्रतिकेजी रु २५ हजार ००१ का दरले जम्मा रु १५ लाख ६३ हजार ८७५ राजस्व संकलन भएको छ ।
यस्तै, जिम्बु २५०० केजीबाट रु २५००, वनलसुन ४६० केजीबाट रु छ हजार ९०० र सतुवा १७० केजीको रु दुई हजार ५५० गरी जम्मा रु १५ लाख ९८ हजार ३२५ राजस्व संकलन भएको अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका प्र्रमुख बाबुलाल तिरुवाले बताउनुभयो ।
मनाङमा पाइने अन्य जडीबुटी – कुट्की, पाँचऔँले, निरमसीजस्ता जडीबुटीलाई संकलनका लागि कानूनीरुपमा मान्यता दिइएको छैन । रासस