पर्यटकलाई सम्मान
काँकडभिट्टा (झापा), ११ असोज । सैतीसौँ विश्व पर्यटन दिवसका अवसरमा पूर्वी नाका काँकडभिट्टाबाट आज नेपाल प्रवेश गर्ने नर्वेका दुई पर्यटकलाई स्वागतसहित सम्मान गरिएको छ ।
काँकडभिट्टा हुँदै नेपालका विभिन्न पर्यटकीयस्थलको भ्रमणका लागि आएका नर्वेका मार्टिनपोल र जेनपोललाई ढाकाटोपी, फूलमाला र अबिरले स्वागत गरिएको हो । विश्व पर्यटन दिवसका अवसरमा ट्राभल्स एसोसिएसन अफ झापा, नेपाल पर्यटन बोर्ड, पर्यटन कार्यालय काँकडभिट्टा र विराट क्षेत्र पर्यटन प्रवद्र्धन तथा विकास समितिको संयुक्त आयोजनामा स्वागत कार्यक्रम गरिएको बताइएको छ ।
पर्यटकको सङ्ख्यामा वृद्धि
कञ्चनपुर, ११ असोज । पश्चिमी सीमा नाका गड्डाचौकी भएर नेपाल आउने पर्यटको सङ्ख्यामा वृद्धि भएको छ ।
अद्यागमन कार्यालय गड्डाचौकीका अनुसार तीन वर्षयता सो नाकाभएर नेपाल भित्रिने पर्यटकको सङ्ख्या बढ्दै गएको हो । कार्यालय प्रमुख पदमराज भट्टका अनुसार गड्डाचौकी भएर सन् २०१५ मा दुई हजार ६० पर्यटक भित्रिएका थिए भने सन् २०१६ को सेप्टेम्बर महिनासम्ममा एक हजार ६७३ पर्यटक भित्रिएका छन् ।
यस्तै सन् २०१५ मा यस नाका भएर एक हजार ५३६ पर्यटक बाहिरिएका थिए भने सन् २०१६ को सेप्टेम्बरसम्ममा एक हजार १८१ पर्यटक बाहिरिएका थिए । सन् २०१४ मा सो नाका भएर एक हजार ८०८ पर्यटक भित्रिएकामा एक हजार ५९० पर्यटक बाहिरिएका थिए । सन् २०१३ मा एक हजार ६३९ पर्यटक भित्रिएका थिए भने सोही अवधिमा एक हजार ६१० पर्यटक बाहिरिएका थिए ।
गड्डाचौकी नाका भएर आउने पर्यटकमा अमेरिका, फ्रान्स, बेलायत, रुस, जापान, इजरायललगायत मुलुकका रहेका छन् । गड्डाचौकी नाकाबाट पर्यटक बर्दिया, चितवन, काठमाडौँ, पोखरा, कर्णाली घुम्नका लागि भित्रिने गरेका छन् । पछिल्लो समय शुक्लाफाँटा र खप्तड घुम्न आउने पर्यटकको सङ्ख्या बढेको बताइएको छ । रासस