बङ्गुरपालक कृषक पलायन हुँदै
चितवन, ३० भदौ । फस्टाउँदै गएको यहाँको बङ्गुरपालन व्यवसाय भूकम्प र नाकाबन्दीका कारण थला परेको छ ।
बङ्गुरपालक कृषक पलायन हुँदै गएका छन् । सरकारले अनुदान दिँदासमेत तुलनात्मक रुपमा व्यावसायिक कृषकको सङ्ख्या बढ्न सकेको छैन । सुरुमा अनुदान लिएर फार्म दर्ता गर्नेको सङ्ख्या निकै बढी भए पनि अहिले सो सङ्ख्या घटेको छ ।
भूकम्पअघिसम्म जिल्लामा १५७ कृषकले व्यावसायिक रुपमा बङ्गुरपालन गर्दै आएका बङ्गुर व्यवसायी सङ्घका सल्लाहकार नरेन्द्र कन्दङ्वाले बताउनुभयो । अहिले सो सङ्ख्या घटेर ३० को हाराहारीमा पुगेको छ । स्वाइनफ्लुका कारण विस्थापित भएका कृषक पुनः पेसामा फर्किएका भए पनि त्यसपछिको भूकम्प र नाकाबन्दीले व्यवसाय गर्न नसक्ने गरी कृषक थला परेको कन्दङ्वाले बताउनुहुन्छ । पाथीभरा पशुपालन तथा दाना उत्पादन केन्द्र गीतानगरका सञ्चालकसमेत रहनुभएका कन्दङ्वा देशकै ठूला बङ्गुरपालक कृषक हुनुहुन्छ । फार्ममा ३०० को हाराहारीमा बङ्गुर रहेका छन् भने उहाँले वार्षिक एक हजार पाठापाठी बिक्री गर्दै आउनुभएको छ ।
दानाको मूल्य बढ्नु, पाठा र मासु बिक्री नहुनुकै कारण कृषक प्रभावित भएका हुन् । नेपाली बजारमा ठूलो मात्रामा भारतीय बङ्गुरको मासु आयात गरिन्छ । नेपाली उत्पादनलाई विदेश निर्यात गर्न गुणस्तर परीक्षणको अभावका कारण सम्भव छैन । निर्यात गर्नुपर्ने मासु खोरेत, स्वाइनफ्लु, जुका मुक्त भएको राज्यले प्रमाणित गर्नुपर्ने हुन्छ ।
जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा रामकुमार कार्की भूकम्प र नाकाबन्दीका कारण सबैभन्दा ठूलो प्रभाव बङ्गुरपालनमा परेको बताउनुहुन्छ । त्यसपछि कुखुरा र गाईपालन प्रभावित भएको छ । “बङ्गुरपालक कृषकको सङ्ख्यामा वृद्धि हुन सकेको छैन,” उहाँले भन्नुभयो ।
गत आवमा छ हजार ६९२ वटा पाठापाठी उत्पादन भएको थियो । जिल्लामा १० हजारको हाराहारीमा माउ बङ्गुर पालिँदै आएको छ । यहाँका पाठापाठीको बजार पश्चिम नेपालको कञ्चनपुर, दैलेखलगायतका जिल्ला हुन् । मासु स्थानीय बजार र काठमाडौँ निर्यात हुन्छ ।
यहाँको बजारमा रु चार हजारमा पाठापाठी बिक्री गरिँदै आएको छ भने जिउँदो बङ्गुरको मासु प्रतिकिलो रु १८५ मा बिक्री गरिँदै आएको छ । जिल्ला पशुसेवा कार्यालयले चालु आवमा छवटा फार्मलाई रु १४ लाख अनुदान वितरण गर्ने जनाएको छ । रासस