बलिउड अभिनेत्री उर्वशी रौटेलाले आर्मी क्लबमा क्याटवाक गर्दैछिन्

काठमाडौं, ८ असोज । बलिउड अभिनेत्री उर्वशी रौटेला युहान इन्टरनेशनल इभेन्ट्सको निम्तामा असोज १४ गते काठमाडौं आउन भएकी छिन् । उनी दुई दिनका लागि काठमाडौं आउन लागेकी हुन् ।
सोही दिन बेलुकी आयोजना हुने ‘मोडल क्वेष्ट इन्टरनेशनल नेपाल सिजन–२’ मा तयार गरिएको भव्य रयाम्पमा अभिनेत्री उर्वशी रौटेलाले क्याटवाक गर्ने कार्यक्रम रहेको छ ।
काठमाडौं, भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा तयार पारिएको कार्यक्रममा शो स्टपरको रूपमा अभिनेत्री रौटेला प्रस्तुत हुनेछिन् । युहान इन्टरनेशनल इभेन्ट्सले आयोजना गर्न लागेको ‘मोडल क्वेष्ट इन्टरनेशनल नेपाल, सिजन–२’ मा युवायुवती गरी ४० जना प्रतियोगी छन् ।
अभिनेत्री उर्वशीले बलिउड चलचित्र सनम रे, सिंह साब द ग्रेट, ग्रेट ग्राण्ड मस्ती, भाग जोनी, पुरोबन्शीनी तथा दक्षिण भारतीय चलचित्र मिष्टर इराबाटामा अभिनय गरेकी छिन् । बलिउड रयापर हनि सिंहको लाभ डोज र गल बनगई जस्ता गीतको भिडियोमा मोडलिङ गरेकी थिइन् ।
गत वर्ष मोडल क्वेष्ट इन्टरनेशनल नेपाल सिजन–१ मा युहान इन्टरनेशनल इभेन्ट्सले बलिउड अभिनेत्री हेजेल केचलाई ल्याएको थियो ।