बाग्लुङ र डोल्पका अति दुर्गम क्षेत्रमा नेपाल टेलिकमको जीएसएम मोबाइल सेवा
काठमाडौँ, १० वैशाख । नेपाल टेलिकमले बाग्लुङ जिल्लाको उत्तर पश्चिम भेगमा रहेको ढोरपाटनमा 3G विटिएस स्थापना गरी २०७५ वैशाख ९ गतेदेखि जीएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको जानकारी टेलिमकले प्रेस विज्ञप्तीमार्फत दिएको छ । माइक्रोवेभ प्रविधिमार्फत जिएसएम मोबाइल सेवा सञ्चालन गरिएको हो ।
ढोरपाटन नगरपालिका वडा नम्बर ९ मा स्थापित विटिएसबाट ढोरपाटन उपत्यकाका सबै भू–भाग र बोबाङको केही भागमा 3G सेवा सञ्चालनमा आएको छ । यो बाग्लुङ सदरमुकाम देखि १ सय २४ किलोमिटरको सडक दूरीमा र करिब ३ हजार २ सय मिटर उचाईमा अवस्थित छ । अब यो सेवाबाट त्यस स्थानका करिव ५ सय जति घरधुरीका बासिन्दाहरु तथा यस क्षेत्रमा आउने पर्यटकहरु लाभान्वित हुनेछन् । बागलुङ जिल्लामा रहेको नेपालकै एक मात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षको सुरक्षाको लागि समेत यो सेवाले सहयोग गर्ने छ ।
त्यसैगरी डोल्पा जिल्लाको दुर्गम ग्रामीण क्षेत्र धो मा भि स्याट प्रविधि मार्फत जीएसएम मोवाइल सेवा उपलब्ध गराउन आरम्भ भएको छ । डोल्पा बुद्ध गाँउपालिका धो मा स्थापित विटिएसबाट त्यस स्थानका करिव २ हजार बासिन्दाहरु तथा यस क्षेत्रमा आउने पर्यटकहरु लाभान्वित हुनेछन् । यो दुनै सदरमुकाम देखि करिब ३ दिनको पैदल दूरीमा अवस्थित छ ।
सेवा सुचारु भएपछि यस क्षेत्रका जनता निकै उत्साहित भएको पाइएको छ । स्थानीय वासिन्दाहरुले अव त्यस क्षेत्रमा पनि सहज सञ्चार सुविधाबाट पर्यटन विकासमा सहयोग पुग्ने बताएका छन् ।
दुर्गम तथा अति विकट क्षेत्रका ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने नेपाल सरकारको नीति अनुसार कम्पनीले सो क्षेत्रमा सेवा विस्तार गरेको हो । प्रतिफल कम आउने र तुलनात्मकरुपमा लगानी बढी हुने स्थानहरुमा समेत समान रुपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै सो स्थानमा हालै उपकरण जडान गरी नेपाल टेलिकमले सेवा सञ्चालनमा ल्याएको हो ।