बेलायत बहिर्गमनपछि पनि युरोपियन युनियन चल्छः जङ्कर
स्ट्रासबर्ग (फ्रान्स), २९ भदौ । युरोपियन आयोगका प्रमुख जिन क्लाउड जङ्करले एक आह्वान विज्ञप्ति प्रकाशित गरी बेलायतको बहिर्गमनपश्चात् युरोपेली सङ्घको भविष्य कदापि जोखिममा नपरेको जनाउँदै बाँकी सबै राष्ट्रहरु थप एकवद्ध भइ सँगसँगै काम गर्ने आवश्यकता रहेको बताउनुभएको छ ।
आर्थिक र सुरक्षाको राजनीतिलाई सबैको साझा हितका लागि अगाडि बढाउन र केही महिनायता झाङ्गिएको नीजी राष्ट्रवादका विरुद्ध साझा राष्ट्रवादको अवधारणाको हतियार लिइ सङ्घर्ष गर्नु अत्यावश्यक भएको पनि उहाँले बुधवार बताउनुभयो ।
“युरोपियन युनियन अझैसम्म पनि पर्याप्त सङ्गठीत छैन,” जङकरले भन्नुभयो, “हामी अझ बलिष्ठरुपमा सङ्गठित हुन आवश्यक छ ।”
स्लोभाकियाको राजधानी ब्रटिस्लाभामा हुनलागेको बेलायत बाहेकका इयुका २७ नेताको वैठकको दुइदिन अगाडि उहाँको यस्तो भनाइ सार्वजनिक भएको हो ।
बेलायत बाहिरिएपछिको इयुको मार्गचित्र बनाउने उद्देश्यले सम्मेलनको आयोजना गरिएको बताइएको छ ।
“बेलायतको निर्णयप्रति हाम्रो सम्मान र पश्चाताप दुवै छ,” लक्जम्बर्गका पुर्वप्रधानमन्त्री समेत रहनुभएका जङकरले भन्नुभयो ।
उहाँले सन् २०२२ सम्ममा आर्थिक विकासका लागि ६३० अर्ब युरो लगानी गर्ने प्रस्ताव पनि गर्नुभएको छ । रासस/एएफपी