बैंक खाताः अर्थ र आवश्यकता
सर्वसाधारण व्यक्ति वा संस्थाको रकम जम्मा गर्न बैंक तथा वित्तीय संस्थाले सम्बन्धित व्यक्ती वा संस्थाको नाममा खाता खोलिदिने र उनीहरुको नाममा रकम राख्न र झिक्न पाइने गरी दर्ता गरिदिने विवरण नै बैंक खाता हो । यो एक प्रकारको कारोवार विवरण हो । बैंकले सर्वसाधारणसँग निक्षेप (पैसा) लिंदा सम्बन्धित व्यक्तिको नाममा खाता खोल्दछ र सो खातामा रकम जम्मा गर्न र झिक्नको लागि सुविधा प्रदान गर्दछ । बंैक खाता खोलेपछि बचतकर्ता वा ग्राहकले रुपैया जम्मा गर्ने भाउचर, पास बुक र चेक बुक पाउँदछ । खातामा पैसा जम्मा गर्दा भौचर भरेर गरिन्छ । पास बुकमा ग्राहकले कारोवार गरेको विवरण बैंकले भरिदिन्छ भने पछिल्ला दिनहरुमा कम्प्युटरबाट कारोवार गर्ने यस्ता बैंक वित्तीय संस्थाहरुले पासबुकको सट्टा आवश्यकता अनुसार बैंक स्टेटमेण्ट उपलब्ध गराउँदै आएका छन् । यसबाट आफ्नो कारोवार, खातामा रहेको पैसा, सो वापत आर्जित ब्याज र ब्याज आर्जन वापत तिरेको कर रकमका बारेमा जानकारी मिल्दछ । चेक बुकबाट चेक खिचेर ग्राहकले आफ्नो खातामा जम्मा भएको मध्येबाट आफूलाई आवश्यक परे जति रकम झिक्न सक्दछ ।
बैंक खाताका प्रकारः खाता विभिन्न प्रकारका हुन्छन् । यी मध्ये चलन चल्तीमा रहेका खाताहरु चल्ती खाता, बचत खाता र मुद्दती खाता प्रमुख हुन् । बंैक तथा वित्तीय संस्थामा मूलतः देहाय बमोजिमको खाताहरु सञ्चालन गरिएका हुन्छन् ः
चल्ती खाताः आफुले चाहेको समयमा चाहेको जति रकम एकै दिनमा जतिसुकै पटक पनि राख्न तथा झिक्न सकिने खातालाई चल्ती खाता भनिन्छ । यस खातामा राखेको पैसामा सामान्यतः ब्याज प्राप्त हुँदैन । उद्योग, व्यापारी र कार्यालयहरुका लागि यो खाता बढी उपयोगी हुन्छ ।
बचत खाताः बचत खातामा रकम जति पटक पनि जम्मा गर्न सकिन्छ तर एउटा निश्चित सीमाभित्र रहेर मात्र रकम झिक्न सकिन्छ । यसका लागि बैंकले सीमा तोकेको हुन सक्छ । यस खाताको रकममा बैंकले निश्चित ब्याज प्रदान गर्दछ । सामान्य तथा साना रकम जम्मा गर्दै जाने र आवश्यक परेको समयमा रकम निकालिरहनु पर्ने व्यक्तिका लागि यो खाता उपयोगी हुन्छ । सर्वसाधारण व्यक्तिहरुमाझ यस्तो खाता सर्वाधिक प्रचलनमा छ र लोकप्रियसमेत रहेको छ । पछिल्ला दिनहरुमा बचत खाताबाट झिक्न सकिने रकमको उच्चतम सीमा पनि बैंकहरुले क्रमिक रुपमा बढाउँदै लगेको पाइन्छ । विद्यार्थी, युवा, गृहस्थी, बुढाबुढीहरु सबैका लागि यो खाता उपयोगी हुन्छ ।
मुद्दती खाताः मुद्दती खाता ३ महिना, ६ महिना, १ वर्ष, २ वर्ष र ५ वर्षसम्मको एउटा निश्चित समय अवधि तोकेर रकम जम्मा गरिन्छ । तर, सामान्यतया तोकेको समयभन्दा पहिले नै रकम निकाल्न नमिल्ने हुँदा बीचमा रकम आवश्यक पर्ने सम्भावना नभएको अवस्थामा मात्र यस्तो खातामा रकम जम्मा गर्नु उपयुक्त हुन्छ । यस खातामा राखेको पैसाको ब्याजदर पनि बचत खाताको भन्दा केही बढी नै हुन्छ । बीचमा रकम आवश्यक परेमा यस्तो खातामा जम्मा गरेको रकमको प्रमाणपत्र धितो राखी बैंकहरुबाट कर्जा निकाल्न त मिल्छ तर अन्य खातामा जस्तो तुरुन्तै रकम झिक्न नमिल्ने हुँदा रकम झिक्न केही समय लाग्ने हुन्छ । यस प्रकार ऋण लिंदा आफूले मुद्दती निक्षेपमा पाउने ब्याज दरभन्दा केही प्रतिशत वढी ब्याज बैंकलाई तिर्नु पर्ने हुन्छ ।
बैंक खाता खोल्नको लागि सामान्यतया नागरिकताको प्रमाणपत्र, फोटो, पूर्णरुपले भरेको आवेदन फार।म, आवश्यक न्यूनतम रकम, दस्तखत नमूना जस्ता विवरण आवश्यक छ । नाबालकको हकमा संरक्षकको हैसियतले अभिभावकको नागरिकता, फोटो, आवेदन फाराममा दस्तखत आवश्यक पर्छ । यसका साथै खाता खोल्दा ग्राहकको पहिचान पूर्ण रुपमा झल्किने गरी पारिवारिक विवरण, बाबु बाजेको नाम जस्ता विवरण दिनु पर्ने व्यवस्था गरिएको छ । यसको उद्देश्य सो ग्राहकका बारेमा बैंकलाई पूर्ण रुपमा जानकारी हुन सकोस् भन्ने हो ।
साभारः विद्यार्थीसँग नेपाल राष्ट्र बैंक