बैंक पुनः सञ्चालनमा
Post Date : June 13, 2016 | 5:06 pm

रामपुर (पाल्पा), ३१ जेठ । द्वन्द्वकालमा विस्थापित भएको चापाकोटको कृषि विकास बैंक करिब १५ वर्षपछि सञ्चालनमा आएको छ ।
विसं २०५७ मा विस्थापित उक्त बैंक पुनःस्थापना भई आइतबारदेखि सञ्चालनमा आएको छ । कर्मचारीको सदरमुकाम बस्ने मोहका कारण तथा पुनःस्थापनाका लागि चापाकोटवासीको पहल नहुँदा शान्ति स्थापनापछि पनि बैंक पुनःस्थापना हुन सकेको थिएन ।
ढिलै भए पनि बैंक पुनःस्थापना भएपछि यहाँका सेवाग्राही खुसी भएका स्थानीयवासी रामचन्द्र भट्टराई बताउनुहुन्छ । चापाकोटमा बैंक पुनःस्थापना भएपछि यहाँका नागरिकले खाता खोल्न, निक्षेप स्वीकार गर्न, ऋण प्रवाह, विप्रेषण सञ्चालन सेवालगायत उपयोग गर्न सुरु गरेको उक्त शाखाका प्रमुख विश्वराज मरासिनीले जानकारी दिनुभयो । रासस