भारतमा मुद्रा अमौद्रिकीकरणको सकस
कालोधन जफ्त गर्न, भ्रष्टाचार कम गर्न, करको दायरा बढाउन, आतंककारी गतिविधिमा भएको वित्तीय लगानी निरुत्साही गर्न र नक्कली नोटको विगविगी कम गर्न भारतले नोभेम्बर ८ मा चलनचल्तीमा रहेको ५०० र १००० दरका नोटलाई गैरकानुनी बनायो । चलनचल्तीमा रहेको मुद्राको करीब ८६ प्रतिशत हिस्सा ओगट्ने ठूला दरका नोटहरू चलनचल्तीबाट हटाइएको छ । उक्त नोटका बदलामा नयाँ ५०० र २००० दरका नोटहरु ल्याइएको छ । पुराना नोटहरु निश्चित सीमासम्म बैंक खातामा जम्मा गर्न वा बैंकमा साट्न सकिने व्यवस्था गरिएको छ । बैंकका जम्मा गर्न डिसेम्बर ३० सम्मको समयावधि दिएको छ ।
नयाँ नोटहरु पर्याप्त नभएको, एटिएममा नयाँ नोट फीट हुन नसकेको र निश्चित सीमासम्म मात्र पुराना नोटको सटही दिएकोले मानिसहरु बैंक तथा एटिएमबाट नोट निकाल्न लामो लाइनमा लागिरहेको छन् । नोट अमौद्रिकीकरण गरेको एक महिना नाघिसक्दा पनि नगदको पहुँज सहज हुन सकेको छैन । यसले गर्दा आर्थिक गतिविधिहरु नराम्रोसँग प्रभावित भएको अवस्था छ । दैनिक रोजीरोटी गरेर जीविका चलाउनेहरु अझ बढी समस्यामा परेका छन् । कतिपयका विवाह जस्ता कार्यक्रमहरु समेत गर्न सकेका छैनन् । नोट सटहीको लागि लाइनमा लाग्दा, नोटको अभावमा दैनिक जीविका चलाउन नसक्दा र तयारीमा रहेको सामाजिक संस्कार गर्न नसक्दा झण्डै ८१ जनाको मृत्यु भइसकेको छ ।
दैनिक रोजीरोटी गरेर जीविका चलाउनेहरु अझ बढी समस्यामा परेका छन् । कतिपयका विवाह जस्ता कार्यक्रमहरु समेत गर्न सकेका छैनन् । नोट सटहीको लागि लाइनमा लाग्दा, नोटको अभावमा दैनिक जीविका चलाउन नसक्दा र तयारीमा रहेको सामाजिक संस्कार गर्न नसक्दा झण्डै ८१ जनाको मृत्यु भइसकेको छ ।
लक्षित उद्देश्यहरु राम्रा भए पनि अहिले चालिएको कदमले त्यो कतिसम्म हासिल गर्न सक्छ त्यो भविष्यले बताउने छ । भ्रष्टाचारले व्याप्त संस्कृति पुराना नोट नचल्ने बनाउँदैमा नरोकिन सक्छ । कर छल्ने पनि एउटा प्रवृत्ति र संस्कार हुन्छ । कर तिर्ने प्रवृत्ति बढाउन उत्प्रेरणाको खाँचो हुन्छ । कर तिर्नु आफ्नै लागि होे भन्ने मनोवृत्ति नजागेसम्म र त्यो अनुभव नगरेसम्म कर तिर्ने उत्साह बढ्दैन । अर्थतन्त्रमा औपचारिकरण बढ्दै जाँदा पनि करको दायरा बढ्दै जान्छ । अमौद्रिकीकरणले बरु यसबाट भएको नोक्सान उठाउन कर छल्ने प्रवृत्ति बढ्न सक्छ ।
जहाँसम्म कालो धन जफ्त गर्ने सवाल छ त्यो त्यतिखेर सफल हुन्छ यदि कालो धन नगदमा हुन्छ । गैरकानुनी कार्य गर्ने, लागुपदार्थको व्यापार गर्ने, मानव तस्करी गर्ने कार्यमा नगदको प्रयोग बढी हुने मान्यता राखिन्छ । तर, त्यस्तो कार्यबाट धन जम्मा गर्ने व्यक्तिले केही अंश नगदमा राखे पनि धेरै भाग अन्य भौतिक सम्पतिमा राख्दछ, जस्तै सुन चाँदी, अन्य बहुमूल्य बस्तुहरु, घरजग्गा आदि । ठूलो अनौपचारिक अर्थतन्त्र भएको अवस्थामा कालो धन र अनौपचारिक अर्थतन्त्र बीच फरक छुट्याउन कठिन हुन्छ, जसले गर्दा सबै नगद कालो धन हुँदैन र सबै कालो धन नगदमा हुँदैन ।
ठूलो अनौपचारिक अर्थतन्त्र भएको अवस्थामा कालो धन र अनौपचारिक अर्थतन्त्र बीच फरक छुट्याउन कठिन हुन्छ, जसले गर्दा सबै नगद कालो धन हुँदैन र सबै कालो धन नगदमा हुँदैन ।
अहिलेको भारत सरकारको कदमले अर्थतन्त्रमा रहेका नक्कली नोटहरु र आतंककारी गतिविधिमा प्रयोग भएको त्यस्ता नोटहरु हटाउन त केही हदसम्म सहयोग पुग्ला । खासमा ठूला दरका नोटहरु गैरकानुनी काममा बढी प्रयोग गर्ने गरिन्छ । तर, भारतले अहिले पुराना ठूला दरका नोट हटाएर त्यो भन्दा ठूलो दर २००० को नोट चलनचल्तीमा ल्याएको छ । समयक्रममा यो नोट पनि गैर कानुनी काममा प्रयोग हुने र यसको पनि नक्कली निस्कन सक्छ । अर्को तर्फ कारोवारमा १००० को भन्दा २००० को नोट अव्यवहारिक पनि देखिन्छ ।
भारतमा ९० प्रतिशत भन्दा बढी वित्तीय कारोवार नगदमा हुने गरेको अवस्थामा छोटो समयमा नगद विहीन अर्थतन्त्रमा जान पनि सहज छैन । अहिले सूचना प्रविधिको विकासले इलेक्ट्रोनिक भुक्तानी गर्न सकिने हुन्छ । तर, मानिसहरु त्यो प्रविधि प्रति अभ्यस्त हुनुपर्ने हुन्छ । साथै, मानिसहरुले आधुनिक प्रविधिमा विश्वास पनि गर्नुपर्ने हुन्छ । विश्वास र कानुनी आधार भएमा विनिमयको माध्यमको रुपमा कुनै पनि चीजले मुद्राको काम गर्ने तथ्य मुद्रा विकासको इतिहासले देखाउँछ । नगदमा भएको कारोवार जस्तो सहज, सजिलो र विश्वासिलो अन्य कारोवार नहुन सक्छ । अर्कोतर्फ इलेक्ट्रोनिक कारोवारमा पनि जालसाजी र ठगी हुने गरेका थुप्रै घटनाहरु सार्वजनिक भएका छन् ।
नगदमा भएको कारोवार जस्तो सहज, सजिलो र विश्वासिलो अन्य कारोवार नहुन सक्छ । अर्कोतर्फ इलेक्ट्रोनिक कारोवारमा पनि जालसाजी र ठगी हुने गरेका थुप्रै घटनाहरु सार्वजनिक भएका छन् ।
भारतमा अहिले आर्थिक गतिविधिमा मात्र शिथिल होइन, पुराना नोटको प्रतिस्थापनको लागि थुप्रै खर्च लाग्ने देखिन्छ । १४ खर्ब बराबरको रुपैयाँ सटही गर्नुपरेको छ जसको लागि नयाँ नोट छाप्नु पर्ने भएको छ । त्यस्तै कैयौँ हजार एटिएमहरुलाई नयाँ नोटसँग तालमेल मिल्ने गरी मिलाउनु पर्ने भएको छ । अर्कोतर्फ बैंकमा जम्मा भएको अर्बौँ रुपैया बराबरको नोटको व्यवस्थापन गर्नु परेको छ । यसरी हेर्दा नोट अमौद्रिकीकरणको लागत यसबाट हुने फाइदा भन्दा बढी हुने त होइन ।
भारतले ठूला दरका नोटलाई अमौद्रिकीकरण गरे पछि भारतमा मात्रै होइन छिमेकी देशको रुपमा रहेको नेपालमा पनि प्रभाव परेको छ । भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहेको, खुला सीमाना रहेकोले गर्दा नेपालमा भारतीय मुद्रा कानुनतः गैरकानुनी भए पनि व्यवहारमा सहज प्रयोग भएको पाइन्छ । पच्चीस हजार रुपैयाँसम्म मात्र अहिले हटाइएका नोटहरु नेपालमा लिएर हिँड्न पाइने प्रावधान थियो । त्यो भन्दा बढी परिमाण साथमा हुनु आफैले जोखिम उठाउनु हो । तर व्यवहारमा कतिपयसँग त्यो परिमाण भन्दा बढी भारतीय नोट हुनसक्छ । यसले गर्दा अमौद्रिकीकरण पश्चात सीमाको व्यापारिक क्रियाकलाप घट्न पुगेको छ । नेपालबाट भारततर्फ निकासी हुने वस्तुहरुको निर्यातमा कमी आएको छ । साथै, भारतीय पर्यटकहरुको आगमन पनि घट्ने देखिएको छ ।
नेपाल भारत खुला सीमामा अनौपचारिक व्यापार गर्ने, भारतमा विविध कारणले गइरहने व्यक्तिहरु, न्यून विजकीकरण गरेर आयात गर्ने र बाँकी रकम भुक्तानी गर्न नेपाल भित्रै भारतीय रुपैयाँ संकलन गर्ने र भारतमा रोजगारी गरेर फर्कदा ठूला दर नोट लिएर आउने व्यक्तिहरु अहिले भारतीय मुद्राको अमौद्रिकीकरणबाट प्रभावित भएका छन् । भारतमा तोकिएका शर्तहरु पूरा गरेर बैंकिङ्ग च्यानल मार्फत चलनचल्तीमा रहेका मुद्रा सटहीको व्यवस्था दिएको छ । तर, नेपालमा रहेको त्यस्ता भारतीय मुद्राको बारेका भारत सरकारले अझै कुनै व्यवस्था गरेको छैन । नेपाल लगायत अन्य देशहरुमा पनि भएको भारतीय मुद्रा सटही सम्बन्धमा भारतले अहिलेसम्म केही कुरा खुलाएको छैन ।
नेपालमा रहेको त्यस्ता भारतीय मुद्राको बारेका भारत सरकारले अझै कुनै व्यवस्था गरेको छैन । नेपाल लगायत अन्य देशहरुमा पनि भएको भारतीय मुद्रा सटही सम्बन्धमा भारतले अहिलेसम्म केही कुरा खुलाएको छैन ।
भारतले ठूला नोट अमौद्रिकीकरण गरेझै नेपालले पनि अमौद्रिकीकरण गर्ने कि भन्ने विचार पनि केहीले व्यक्त गरेको पाइन्छ । नेपालमा पनि भ्रष्टाचार र कालोधन रहेको आधारमा उक्त विचार आएको पाइन्छ । तर, भ्रष्टाचार, कालोधन र आतंकवादी गतिविधि रोक्न मुद्रा अमौद्रिकीकरण भन्दा अन्य उपायहरु नै बढी प्रभावकारी हुनसक्छ । मुद्रा अमौद्रिकीकरणले सवभन्दा बढी न्यून आय र सम्पत्ति भएका मानिसहरु नै प्रभावित हुने देखिन्छ । भ्रष्टाचार, कालोधन र आतंकवादी गतिविधिमा संलग्न हुने मानिसहरु आफैमा चलाख हुने हुँदा कम प्रभावित हुने हुन्छ । उनीहरुको लागि सम्पत्तिको केही अंश काम नलाग्ने भए पनि ठूलो असर पर्दैन तर सर्वसाधारण मानिसहरु सानो रकमको जोहो गर्न नसक्दा ज्यान समेत फाल्ने गरेको देखियो । त्यसैले नोट अमौद्रिकीकरणको आर्थिक सामाजिक लागत उल्लेख्य हुने तर यसबाट हुने फाइदा अप्रत्क्षय र कम हुने देखिन्छ ।
भ्रष्टाचार, कालोधन र आतंकवादी गतिविधिमा संलग्न हुने मानिसहरु आफैमा चलाख हुने हुँदा कम प्रभावित हुने हुन्छ । उनीहरुको लागि सम्पत्तिको केही अंश काम नलाग्ने भए पनि ठूलो असर पर्दैन तर सर्वसाधारण मानिसहरु सानो रकमको जोहो गर्न नसक्दा ज्यान समेत फाल्ने गरेको देखियो । त्यसैले नोट अमौद्रिकीकरणको आर्थिक सामाजिक लागत उल्लेख्य हुने तर यसबाट हुने फाइदा अप्रत्क्षय र कम हुने देखिन्छ ।
भारतमा अमौद्रिकीकरणको सकसले गर्दा त्यहाँको आर्थिक वृद्धिदरमा कमी आउने जसले गर्दा नेपालमा पनि केही प्रभाव पर्ने देखिन्छ । भारतमा आर्थिक गतिविधिमा आउने शिथिलताले रोजगारीका लागि जाने नेपालीहरुले काम नपाउन सक्छन् । नगदको अभावमा सीमावर्ती क्षेत्रको व्यापार शिथिल भएको छ । अध्ययन, स्वास्थ्य उपचार, तीर्थव्रत, भ्रमण गर्न जाने नेपालीहरुलाई पनि भारतीय रुपैया सहज उपलब्धता भइरहेको छैन । भारतीय रिजर्भ बैंकले नेपाल राष्ट्र बैंकले मागे बमोजिम भारतीय नोट उपलब्ध गराउन असमर्थता जनाएको छ । यसरी दक्षिण एशियाको सबभन्दा ठूलो अर्थतन्त्रमा सिर्जना भएको नोटबन्दीको सकस छिमेकी देशहरुमा समेत प्रसारित भएको छ । तर, यसका फाइदा बेफाइदाका बारे अध्ययन गर्ने र सिक्ने राम्रो मौका भन्ने दिएको छ ।
– लेखक नेपाल राष्ट्र बैंकका निर्देशक हुनुहुन्छ ।