भूकम्पले भत्किएका आठ हजार एक सय निजी आवास पुनःनिर्माणको सम्झौता

काठमाडौँ, २४ जेठ । भूकम्पपीडितका लागि विभिन्न सङ्घसंस्थाले आठ हजार १०० निजी घर निर्माण गरिदिने सम्झौता भएको छ ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले यहाँ आज आयोजना गरेको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, हेल्भेटास नेपाल, ह्याविट्याट ह्युमानिटेरियन, इडब्लुडिइ डिकेएच र फिनल्यान्ड चर्च एन्ड फाउन्डेसनसँग यस्तो सम्झौता गरिएको हो ।
प्राधिकरणका उपसचिव डा भीष्मकुमार भुसाल, सहरी विकास मन्त्रालय (केन्द्रीय आयोजना कार्यान्वयन इकाइका उपप्रमुख परिक्षित कडरिया र उल्लेखित पाँच वटा गैरसरकारी संस्थाका प्रतिनिधिबीच आज त्रिपक्षीय सम्झौता भएको हो ।
रेडक्रस सोसाइटीले छ हजार, हेल्भेटास नेपालले एक हजार, समारिटन्स पर्सले ५००, ह्याविट्याट फर हुम्यानिटीले ३५० र इडब्लुडिइ डिकेएचले २५० निजी आवास पुनःनिर्माण गर्ने सम्झौता गरिएको हो । आवास निर्माणका लागि घरधनीको नामावालीसहितको सूची र क्षेत्र तोकी प्राधिकरणले उपलब्ध गराउने जनाइएको छ ।
सम्झौताअनुसार प्रत्येक निजी आवास निर्माणका लागि सङ्घसंस्थाले स्वयम् घरधनीले घर बनाउने गरी बैंक खातामार्फत प्राधिकरणले जारी गरेको अनुदान वितरण कार्यविधि, २०७२ बमोजिम निर्माण कार्य अघि बढाउनेछन् ।
यसैबीच विभिन्न गैससले विद्यालय पुनःनिर्माणका लागि त्रिपक्षीय सम्झौता गर्ने क्रम जारी रहेको प्राधिकरणले जनाएको छ । विद्यालय छनोट शिक्षा मन्त्रालयमा रहेको केन्द्रीय आयोजना कार्यान्वयन इकाइमार्फत हुन्छ । राष्ट्रिय पुनःनिर्माणका क्रममा निजी आवास र विद्यालय पुनःनिर्माणमा स्रोत साधन जुटाई सहयोग गर्ने संस्थालाई सम्बन्धित सबैलाई प्राधिकरणले अनुरोध गरेको छ ।
सम्झौतापछि बोल्दै प्राधिकरण प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पपछिको पुनःनिर्माण सरकार एक्लैले गर्न नसक्ने भएकाले स्पष्ट मार्गचित्रका साथ विभिन्न सङ्घसंस्थासँग सहकार्य गर्ने नीति लिइएको बताउनुभयो । “भूकम्प प्रभावित क्षेत्रमा खानेपानी, सरसफाइ र जीविकोपार्जनका कार्यक्रमलगायतलाई एकीकृत रुपमा लैजानुपर्छ”– उहाँले भन्नुभयो । रेडक्रसका अध्यक्ष सञ्जीव थापाले सम्झौता अनुसार तोकिएको मितिमा छ हजार घर निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभयो ।
“स्वास्थ्य, आवास र जीविकोपार्जनका कार्यक्रम पूर्णरुपमा तयारीका साथ लैजान जिल्ला शाखालाई परिचालन गरिन्छ”– उहाँले भन्नुभयो । कार्यक्रममा प्राधिकरणका तर्फबाट उपसचिव भुसाल, रेडक्रसका तर्फबाट अध्यक्ष थापा, समारिटन्स पर्सका तर्फबाट ड्यारोन टोस, हेल्भेटास नेपालका तर्फबाट मोना शेर्पा, ह्याविट्याट ह्युमानिटेरियनका तर्फबाट सुजीव महर्जन, फिनल्यान्ड चर्च एन्ड फाउन्डेसनका राजकुमार ढुङ्गानाले हस्ताक्षर गर्नुभएको थियो । रासस