मत्स्यपालन नीति चाँडै आउने – मन्त्री चौधरी
काठमाडौँ, १३ मङ्सिर । चितवन, झुवानीका थारु महिलाको नृत्यसंगै भृकुटीमण्डपमा आयोजित माछा महोत्सव समापन गरिएको छ ।
महोत्सवमा सिपी, शङ्खे किरा (घुङ्गी) लगायत विभिन्नथरिका माछाको जिउँदो तथा तयारी परिकार बिक्रीमा राखिएको थियो ।
नेपाल मत्स्य व्यवसायी सङ्घ केन्द्रीय कार्यसमितिको आयोजनामा ‘स्वदेशी माछा खाऔँ, स्वस्थ रहौँ ’ भन्ने अभियानकासाथ मङ्सिर ९ देखि सुरु भएको पाँचदिने महोत्सव कृषि विकास मन्त्री गौरीशङ्कर चौधरीले आज समापन गर्नुभएको हो ।
महोत्सव अवधिमा ४७ बिक्री कक्षबाट लगभग रु एक करोडभन्दा बढी कारोबार भएको सङ्घले जनाएको छ ।
नेपाल मत्स्य व्यवसायी सङ्घले आयोजना गरेको यो तेस्रो महोत्सव हो । यसअघि विसं २०६९ र २०७१ मा राष्ट्रिय सभागृह र बानेश्वरमा पहिलो र दोस्रो महोत्सव सम्पन्न भइसकेका छन् ।
महोत्सव समापनका मन्त्री चौधरीले थन्किएर बसेको मत्स्यपालन नीति चाँडै ल्याउन सरकार कटिबद्ध छ भन्नुभयो ।
उहाँले माछापालनलाई व्यावसायिक बनाउन सरकारले छिट्टै छुट्टै ऋण सिफारिस समिति बनाउन लागेको जानकारी पनि दिनुभयो ।
सरकारले आव २०७२/७३ को वार्षिक बजेटमा कृषकलाई वाणिज्य बैंकमार्फत छ प्रतिशत ब्याजमा ऋण लगानी गर्ने प्रबन्ध मिलाएको थियो । तर सो कार्य प्रभावकारी नभएको गुनासो आएपछि सरकारले ऋण सिफारिस समिति बनाउन लागेको मन्त्री चौधरीले बताउनुभयो ।
महोत्सवमा माछासँग सम्बन्धित औजार उपकरण तथा दाना, विभिन्न कम्पनीका औषधि, सरकारी तथा गैरसरकारी संस्थाका कृषि उपजका कक्षसमेत राखिएको थियो ।
महोत्सवमा परिकारतर्फ उत्कृष्ट हुने व्यवसायीलाई जनही रु ५० हजार, ४०हजार, ३०हजार र २० हजार र प्रशंसापत्र प्रदान गरिएको थियो ।
राष्ट्रको कुल गार्हस्थ्य उत्पादनमा माछाको योगदान ४ दशमलव २२ प्रतिशत छ । आव २०७२/७३ को असार मसान्तसम्म ४० हजार ३३६ वटा पोखरीमा व्यावसायिक माछा उत्पादन कार्य भइरहेको छ ।
सङ्घका महासचिव जोगेन्द्र महतोले आव २०७२/७३ को असार मसान्तसम्म पोखरीबाट ५५ हजार ५०० मेट्रिक टन र प्राकृतिक जलाशय, खोला, तथा तालबाट २२ हजार ५०० गरी वार्षिक ७८ हजार मेट्रिक टन माछा उत्पादन भएको जानकारी दिनुभयो ।
भारतबाट वर्षैपिच्छे ५४ हजारदेखि ६० हजारसम्म माछाको आयात हुने गरेको छ । गतवर्षको तुलनामा यसवर्ष २९ प्रतिशतले माछा आयातमा कमी आएको र गतवर्ष ११ हजार १८६ मेट्रिक टन माछा आयात भएकामा आव २०७२/७३ को असार मसान्तसम्ममा सात हजार ८८२ मेट्रिक टन माछा उत्पादन भएको सङ्घले जनाएको छ ।
आव २०७२/७३ असार मसान्तसम्म नौ हजार ९३४ हेक्टर जलाशयमा व्यावसायिक माछा उत्पादन भएको छ । माछा उत्पादनका लागि ३५ हजार व्यवसायी आबद्ध भएको बताइन्छ । रासस