म्याग्दीको ग्रामीण अर्थतन्त्रमा सुधार
बेनी (म्याग्दी), १७ साउन । केही वर्ष अघिसम्म भारतीय तथा बेलायती सेना, वैदेशिक रोजगारी र मौसमी मुग्लान जानेलाई ‘लाहुरे’ सम्बोधन गरिन्थ्यो । तिनैले विदेशमा दुःखसुख गरी कमाएर पठाएको विप्रेषणको बलमा धानिएको म्याग्दीको ग्रामीण अर्थतन्त्रले आफ्नो परिभाषा बदल्दै गएको छ । अब यहाँको अर्थतन्त्र विप्रेषणमा होइन, उद्यमशीलता, सीप र व्यवसायमा आधारित हुन थालेको छ । गाउँलेमा एकता, विकासे काममा बढ्दो सहभागिता र सचेत नागरिकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ ।
समुदायको आफ्नै प्रयत्नमा गाउँलेको जीवनस्तर र गाउँको स्वरूपमा भने रहरलाग्दो परिवर्तन देख्न थालिएको छ । व्यावसायिक तरकारी खेती र पशुपालन, दूधजन्य व्यवसाय, सीपमूलक तालिम, साना तथा कुटिर घरेलु उद्योग, पर्यटक लक्षित घरबास सेवा (होमस्टे) ग्रामीण सडकको पहुँच, जडीबुटी तथा वन पैदावारले ग्रामीण अर्थतन्त्रमा सहयोग पु¥याइरहेका छन् ।
त्यस्तै, सहकारी संस्था, बैंक तथा वित्तीय संस्था, लघुऊर्जा, पर्यटन र व्यापार व्यवसायको जगमा म्याग्दीको ग्रामीण जीवनस्तर सकारात्मक दिशातिर अग्रसर हुँदै गएको छ । यसले ‘लाहुरे’ र विप्रेषणजस्ता परम्परागत आर्थिक स्रोतमा परिवर्तन ल्याएको छ ।
एघार वर्षसम्म वैदेशिक रोजगारीमा बिताएका सिङ्गा बास्कुनाका तिलक गुरुङले गाउँ फर्केर व्यावसायिक पशुपालन तथा तरकारी खेती सुरु गरेको केही वर्षमा नै विदेशमा भन्दा पाँच गुणा बढी आम्दानी गर्न सफल भएका छन् । वैदेशिक रोजगारी र विप्रेषणबाट गाउँ होइन, सहरको विकास हुने उनको धारणा छ । आफ्नो गाउँको विकास रैथाने माटो, आयातित सीप, व्यावसायिक चेतना र जाँगरिला पाखुराको माध्यमबाट सम्भव रहेको उनले बताए । उद्यमशील युवाले नै गाउँलाई समृद्ध बनाउने उनको विश्वास छ ।
गुरुङ एक प्रतिनिधि पात्र मात्र हुन । उनको भनाइले जिल्लाका सयौँ पौरखी उद्यमीको प्रतिनिधित्व गर्छ । गुरुङजस्तै बेनपा–३ भकुण्डेकी कमला थापामगरले मौरीपालन र फर्निचर उद्योग सञ्चालन गरिरहेकी छन् । त्यस्तै, बेनपा–३ कै हीराबहादुर थापा तरकारी खेती र मौरीपालन गरिरहेका छन । उनीहरूको वार्षिक कमाइ रु १० लाखको हाराहारीमा छ । बाख्रापालन गरेका बरङ्जाका टेकबहादुर विक, बेनीको मङ्गलाघाटमा दूधजन्य व्यवसाय गरेका अर्मनका प्रेम कँडेल, सिलाइकटाइ व्यवसाय सञ्चालन गरिरहेकी घारकी विष्णु बरुवाल, गलैँचा उद्योग सञ्चालन गरिरहेकी राखु पिप्लेकी सरस्वती बरुवाल उनीहरू सबैको मासिक कमाइ खाडीमुलुकमा रातदिन मेहनत गरेर कमाउने नेपाली कामदारको भन्दा कम छैन ।
अझ रहर लाग्दो कुरा त उनीहरूको जीवनशैली र आत्मविश्वास हो । उनीहरूमध्ये प्रायले आफ्ना छोराछोरीलाई गुणस्तरीय आवासीय विद्यालय वा सहरका कलेजमा शिक्षा दिइरहेका छन् । धेरैले बेनी, पोखरा, भरतपुर वा काठमाडौँमा घरघडेरी पनि जोडिसकेका छन् ।
गाउँले व्यावसायिक भएपछि गाउँ समृद्ध बन्ने नै भयो । पर्यटकीय गाउँ शिख, घार, दाना, भुरुङतातोपानी, घोडेपानी कृषि गाउँ बाबियाचौर, अर्मन, बरङ्जा, रत्नेचौर, ज्यामरुककोट, वनपैदावार र जडीबुटीका लागि चर्चती गाउँ गुर्जा, लुलाङ, मुदी, ताकम, घतान, पाखापानी, ऊर्जा उत्पादनमा चिनिएका पिप्ले, भगवती, दग्नामलगायतका गाउँको पछिल्लो पाँच वर्षमा कायापलट नै भएको स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेलले बताउनुभयो । जिल्ला विकास समिति म्याग्दीको आवधिक जिल्ला विकास योजनाको तथ्याङ्कले पनि यसलाई पुष्टि गर्छ उहाँले भन्नुभयो ।
गाउँको अर्थशास्त्र र समाजशास्त्र ग्रामीण अर्थतन्त्रको सिद्धान्तको परिभाषालाई बल्ल ग्रामीण क्षेत्रका सचेत व्यक्तिले बुझ्न थालेको म्याग्दी बहुमुखी क्याम्पस अर्थशास्त्र विभागका प्रमुख प्राध्यापक ईश्वरी आचार्यको भनाइ छ । ग्रामीण अर्थतन्त्र भनेकै कृषि, पशुपालन र साना उद्योग हुन् ,२०५८ सालदेखि उक्त क्याम्पसमा अर्थशास्त्र विषय पढाइरहेका आचार्यले भन्नुभयो “म्याग्दीको ग्रामीण समाजले आयआर्जन गर्न थालेको छ ।”
त्यसैगरी, युवा उद्यमी एवम् राजनीतिकर्मी राजकुमार थापा भन्नुहुन्छ “म्याग्दीका ग्रामीण जनताको बाँच्ने शैलीमा परिवर्तन आएको छ । केही व्यक्तिले विदेशमा गएर सीप सिकेपछि गाउँ फर्केर कृषि, पशुपालन र अन्य काम गरी सफल बन्दै गएका छन् । यसले ग्रामीण अर्थतन्त्र पनि बलियो बन्दै गएको छ ।” (धु्रवसागर शर्मा) रासस