राजनीतिक अस्थिरताले उद्योग व्यवसाय धरासायी

भक्तपुर, ८ साउन । उद्योगी व्यवसायीले मुलुकको राजनीतिक अस्थिरताले उद्योग व्यवसाय धरासायी बन्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
उनीहरुले मुलुकका उद्योग तथा कलकारखाना बन्द हुने र नेपाल नेता उत्पादन गर्ने मुलुकमा परिणत भएको भन्दै ब्यङ्गसमेत गरेका छन् । नेपाल घरेलु तथा साना उद्योग महासङ्घको २३ औँं तथा केन्द्रीय महिला उद्यमी समितिको २० औँं राष्ट्रिय अधिवेशन २०७३ बाट निर्वाचित पदाधिकारीहरुलाई बधाइ तथा शुभकामनाका लागि भक्तपुर घरेलु तथा साना उद्योग सङ्घले आज आयोजना गरेको कार्यक्रममा सहभागी भएका उद्योगीले उद्योगको विकास तथा उद्यमीले भोगिरहेका समस्या समाधान गर्नका लागि सरकारले पहल नगरेको बताएका हुन ।
“देश विकासको लागि उद्योगको आवश्यकता अपरिहार्य छ तर राजनीतिक खिचातानीले उद्योग क्रमशः धरासायी बन्दै गइरहेको छ,” नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष श्यामप्रसाद गिरीले भन्नुभयो, “उद्योगका समस्या समाधान गर्नका लागि सरकारले यथासक्य छिटो पहल गर्नुपर्छ, सरकारको स्थायित्व हुनु जरुरी छ ।”
कार्यक्रममा महासङ्घका उपाध्यक्ष चन्दनकृष्ण श्रेष्ठले सरकारस्थिर नहुँदा उद्योग सञ्चालनमा समेत असर पर्न थालेको बताउनुभयो । उहाँले सरकार फेरिएपिच्छे सरकारले लिने औद्योगिक नीतिका कारण पनि उद्योग कलकारखाना प्रभावित हुने गरेकालेस्थिर सरकारको खाँचो रहेको औंँल्याउनुभयो ।
दलहरुले आर्थिक क्रान्ति र औद्योगिक क्रान्तिका कुरा गरे तापनि व्यवहारमा उतार्न नसकेको उहाँको कथन थियो । महिला उद्यमी समितिका अध्यक्ष शिवा उपाध्यायले ९÷९ महिनामा फेरिने अस्थिर सरकारको कारण उद्योगको वातावरण बिथोलिएको र थुप्रै युवा रोजगारीको लागि खाडीमुलुक जान बाध्य भएको बताउनुभयो ।
कार्यक्रममा सहभागी उद्यमीहरुले सरकारले उद्योगमैत्री वातावरण सिर्जना नगर्दा संविधान जारी भइसकेर पनि उद्योग फस्टाउन नसकेकोप्रति गुनासो मात्र गरेनन्, उद्योगमैत्री वातावरण बनाउन पनि माग गरेका थिए ।
“उद्योग नीति आएको लामो समय भइसक्दा पनि उद्योग ऐन नआउँदा उद्योगी अन्योलमा छन्, अझ अस्थिर राजनीतिले उद्योग व्यवसाय मात्र होइन देशकै विकासपछि परिरहेको छ ।” महासङ्घका निवर्तमान अध्यक्ष सुरेश प्रधानले भन्नुभयो ।
भक्तपुर घरेलु तथा साना उद्योग सङ्घका अध्यक्ष रामसुन्दर खाताखोको सभापतित्वमा सम्पन्न कार्यक्रममा महासङ्घका उपाध्यक्ष तथा उद्यमीहरु उमेश सिंह, शोभा गुरुङ, प्रकाश कायष्थ, मोहन कटुवाल, हरिहर थापालगायतले उद्यम गर्नका लागि सीपको विकास गर्नुपर्ने, बजारको प्रत्याभूति दिन सक्नुपर्ने, नयाँ प्रविधिको विकास गर्नुपर्ने तथा स्वदेशी वस्तुलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको थियो । रासस